- ज्ञानमणि नेपाल कालोटोपी
कुन्तावेसी । पुस्तक लेख्नु आफैंमा चुनौतीको विषय हो । पुस्तक लेख्नलाई साहित्यकार नै हुनुपर्छ भन्ने छैन । त्यसमा पनि धेरै तह हुन्छन् । पुस्तक लेखनीका विषय पनि फरकफरक हुन्छन् । यस्तैमध्ये हालै मात्र प्रकाशनमा आएको छ, एउटा स्मृतिग्रन्थ । जीवनका आधा उमेर, किसानका विषयमा बोलेर र लेखेर कटाएका सहकारी अभियान्ता एवं कुशल समाजसेवी काभ्रे मण्डनदेउपुर–८ धाइटारका दीपकप्रसाद पौडेलले आफ्ना स्वर्गिय बुबाआमाको सम्झनामा स्मृतिग्रन्थ प्रकाशन गर्नुभएको छ । ‘सम्झनामा बाआमा’ नाम दिइएको यस पुस्तकमा उहाँले आफूलाई जन्मदिने बुबाआमाप्रतिको गहिरो माया र सम्मान दर्शाउनुभएको छ ।
प्रस्तुत पुस्तकमा उहाँले आफ्ना बाल्यकालका घटनाहरुको पनि चित्रण गर्नुभएको छ । मानिस जन्मिएपछि मर्छ, यो यथार्थ हो । यहि यथार्थका बीच पनि हामीले बाँचुन्जेल केही न केही त गर्नै पर्छ । अझ जन्मदिने बुबाआमाप्रति त छोराछोरीले जति गरे पनि ऋण तिर्न सकिँदैन । उनै आमाबुबाले आफू भोकै रहेर पनि आफ्ना छोराछोरीलाई भोको नराख्न धेरै संघर्ष गर्नुपर्छ । त्यो कुरा मानिसले त्यतिबेला बुझ्छ जतिबेला ऊ आफू पनि बाआमा बन्छ । लेखक पौडेलले यस्तै विषयवस्तुमा आधारित रहेर प्रस्तुत पुस्तक लेख्नुभएको छ ।
पौडेल १० महिना ७ दिनको अन्तरमा बुबाआमाकै मायाबाट बञ्चित हुनु परेको थियो । त्यसैले पनि एउटै वर्ष उहाँ र परिवारलाई ठूलो शोक परेको थियो । यस्तो शोकको घडीमा पनि उहाँले आफ्नो बुबाको वार्षिक तिथी पारेर यो स्मृतिग्रन्थ तयार पार्नुभएको हो । यसर्थ पनि उहाँको लेखनशैली र लेखन कला सशक्त बनेको प्रष्ट हुन्छ ।
‘आमा र जन्मभूमी स्वर्गभन्दा महान (माथि) छन् । हामीलाई आफ्नो गर्भमा राखेर पीडा सहेर जन्म दिनुभयो, धर्तीमा टेकाउनु भयो, संसार देखाउनुभयो, हुर्काउनु भयो । संसारका सबैभन्दा प्यारा दुई शब्द आमा र बा नै हुन् र सबैभन्दा पवित्र नाता एवं पवित्र सम्बोधन पनि आमा बा नै हो । आफ्ना सन्तानका कुरा बुझ्न, कमजोरी सहन, गुण देख्न, मायाप्रेम दिन, सहनशील मायाको खानी दयाका प्रतिमूर्ति आमा बा शब्दका आफ्नै गरिमा र महिमा रहिआएको छ । जीवनमा सबैभन्दा बढी खुसी र आनन्द आमा बा को काख र साथमा मिल्छ ।’ लेखक पौडेलले आफ्नो पुस्तकको भूमिकामा लेख्नुभएको छ ।
मैना फरक दश पारी माता पिता दुबै गए
खेल कस्तो विधाताको स्मृतिमा मात्र रहे ।
ऋण तिर्न कहाँ सक्ने–गुन सक्दिनँ विर्सिन
सपना–विपनाभित्र झल्को झल्को छ छिन्छिन ।
आमा विष्णुकुमारी पौडेल र बुबा विष्णुप्रसाद पौडेलका कान्छा छोरा दीपकप्रसाद पौडेल सानैदेखि विभिन्न क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । बुबा समाजसेवी, शिक्षासेवी र राजनीतिज्ञसमेत हुनुभएका कारण त्यसैबाट प्रेरणा पाएर आफूले पनि यस्तै क्षेत्रमा सक्रियता देखाउनुभएका उहाँ विशेषगरि दूध उत्पादक सहकारी र किसानहरुसँग घुलमिल हुँदै आउनुभएको छ । उहाँले जुन क्षेत्रमा हात हाल्नुभएको छ, ती सबैमा सफलता पनि पाउनुभएको देखिन्छ । राजनीतितिर पनि उहाँको पाइला अघि बढेको छ । त्यतिबेला काभ्रेको मण्डनभेग आफैंमा पनि हरेक विषयको सम्भावना भएको तर अवसर कम भएको क्षेत्र थियो । त्यस्तो बेलामा पनि उहाँ सानै उमेरदेखि संघर्ष गर्दै अघि बढ्नुभयो । यी सबै सफलताका पछाडी उहाँले आफ्ना बुबाआमाले देखाउनु भएको असल मार्गलाई पछ्याउनुलाई मुख्य कारण मान्नुभएको छ ।
प्रस्तुत पुस्तकमा उहाँले आफ्नो पारिवारिक पृष्ठभूमिलाई त छर्लङ्ग बनाउनु भएको छ नै, यसका साथै पौडेल वंशका बारेमा, हिन्दू धर्मभित्र परम्परागतरुपमा रहेका मान्छे जन्मिएदेखि मृत्यु हुँदासम्मका सामाजिक संस्कारहरुको बारेमा पनि उल्लेख गर्नुभएको छ । उहाँले मान्छे मर्दा वाचन गरिने गरुण पुराणका भित्री कुराहरु पनि यस पुस्तकमा अटाउनु भएको छ भने बुबाआमाको स्वर्गारोहण हुँदा आफूलाई भेट्न आउने साथीभाई, आफन्तलगायत सबैलाई विशेष धन्यवाद दिनुभएको छ ।
उहाँले लेख्नुभएको पुस्तकबाट आगामी दिनमा अरुले पनि धेरै कुरा सिक्न जरुरी देखिन्छ । यसले स्वयं लेखकको लेखनशैली बढाउँछ भने आफ्नो पुस्ताको इतिहास आगामी पुस्ताले पनि थाहा पाउन सजिलो हुन्छ । यसर्थ लेखकको प्रस्तुत पुस्तक एउटा संग्रहणीय ग्रन्थ बनेकोमा दुईमत छैन ।
