बनेपा । दार्जलिङको सुन्दर स्थान मङपुमा साहित्यकार सुभद्रा बम्जनको हस्ताक्षर संवाद नामक पुस्तक लोकार्पण भएको छ । उक्त पुस्तकमा नेपाल र भारतका गरी ३१ जना स्रष्टाहरूको अन्तर्वार्ता समावेस गरिएका छन् । सो पुस्तकको लोकार्पण प्रमुख अतिथि दिलकुमारी भण्डारी, सुभद्रा बम्जन, सूर्य लाकोजू, अजम प्रधान, बिमला प्रधान जोशी लगायतले एक समारोहबीच गरेका थिए ।

त्यस्तै साहित्यकार सूर्यप्रसाद लाकोजू र सिम्रन गुरुङ छिमेकी राष्ट्र भारतको दार्जलिङमा सम्मानित भएका छन् । दुबैलाई सावाली प्रकाशनले नगदसहित सम्मान गरेको हो । साहित्यकार लाकोजूलाई भारत नेपाल हस्ताक्षर सेतु सम्मानबाट र सिम्रन गुरुङलाई बिनोद स्याङ्देन स्मृति सम्मानबाट सम्मानित गरिएको थियो । दुबै स्रष्टालाई कार्यक्रमका प्रमुख अतिथि दिलकुमारी भण्डारी, सावली प्रकाशनका अध्यक्ष सुभद्रा बम्जनले संयुक्तरूपमा नगदसहित सम्मान अर्पण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि दिलकुमारी भण्डारीले नेपाली भाषा सुन्दर रहेको र भारतमा अन्य भाषाले जस्तै नेपाली भाषाले सम्मान पाएको बिचार व्यक्त गरिन् । लाकोजूले साहित्य सिर्जना चेतनाको कर्म हो । समाजलाई सकारात्मक चेत साहित्यले दिनु आवश्यक रहेको विचार राखे । सावली प्रकाशनका अध्यक्ष सुभद्रा बम्जनले साहित्यले सबैलाई जोड्ने काम गरेको बताइन् ।

लाकोजूले नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका छन् । कविता, निबन्ध, हाइकु, नियात्रा, मुक्तक , अनुवाद विधामा कलम चलाउँदै आएका लाकोजूका करिव तीन दर्जनभन्दा बढी साहित्यिक कृतिहरू प्रकाशित छन् । त्यतिकै सङ्ख्यामा उनले साहित्यिक कृतिको सम्पादनसमेत गरेका छन् । त्यसो त उनी साहित्यिक पत्रकार पनि हुन् । लाकोजूले नेपाली भाषा र साहित्यको उन्नयन, साहित्यिक संगठन र साहित्यिक पत्रकारिताको माध्यमबाट पुर्‍याएको योगदानका लागि नगदसहित सो सम्मान प्रदान गरिएको हो । कार्यक्रममा नेपालबाट साहित्यकार ध्रुबकृष्ण ताम्राकार र पूर्ण श्रेष्ठ हृदयङ्कृत पनि अतिथिको रूपमा सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *