हरिप्रसाद चौलागाईं
छन्दः– वसन्ततिलका
उर्लिन्छ मेघ नभमा जन त्रासभर्दै ।
पानी नझार्छ वनका बिरुवा नमर्दै ।।
फुल्छन् गुराँस वनका ती पनि फिकाछन् ।
लालित्य छैन किनहो नसुबास छर्छन् ।।१
प्यासीछ चातक कठै नित मेघसाथ ।
रोएर माग्छ जल कण्ठ सुकेर आँत ।।
घुम्छन् अहो पवनका अति तिव्र वेग ।
छन् मञ्जरी नरम कोमल पत्र देह ।।२
हे मेघ हो गगनका प्रतिबोध राख ।
गर्जेरमात्र नहुने गर कर्म के छ ।।
लौ राजनीति पनि यै रित चल्न थाल्यो ।
देखाउँदै फगत ढाडस चल्न थाल्यो ।।३
खेल्दैन बाल घरमा जन वृद्ध रुन्छ ।
छन् यौवना विकल रात सिरान भिज्छ ।।
गाला सधैं बिरङ गाजल बग्नजाँदा ।
लालित्य छैन मुख जाँगर मर्न जाँदा ।।४
माग्दै छ स्वेद धरती परदेश सिच्छ ।
बिक्दैन खै श्रमयता परमात्र बिक्छ ।।
बस्छन् यता मुलुकमा विकलांक नेता ।
बन्छन् सबै अति बडा जगका प्रणेता ।।५
