यो वर्ष रेमिट्यान्स आप्रवाह बढेको छ । नेपाल राष्ट्र बैंकको विवरण अनुसार चालु आर्थिक वर्षको नौ महिनामा ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले बढेर ८ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष सोही प्रकृतिको आप्रवाह १५.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय १३ खर्ब १ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ११ खर्ब ७४ अर्ब ५४ करोड थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख ५८ हजार २२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ४९ हजार ६५२ रहेको छ । चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिती तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा रहेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार, अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिती तीन खर्ब ६५ अर्ब १६ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ७५ करोडले बचतमा रहेको शोधनान्तर स्थिती समीक्षा अवधिमा दुई अर्ब ५५ करोडले बचतमा रहेको छ । त्यसैगरी समीक्षा अवधिमा चालु खाता दुई खर्ब १० अर्ब २२ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ७९ अर्ब ८३ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ३५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५५ करोडले बचतमा छ ।
खुद पुँजीगत ट्रान्सफर सात अर्ब ७१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर चार अर्ब ७८ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा आठ अर्ब ९६ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी छ अर्ब ४९ करोड थियो । कुल विदेशी विनिमय सञ्चिती १८ दशमलव नौ प्रतिशतले वृद्धि भई चैत मसान्तमा २४ खर्ब २६ अर्ब ८४ करोड पुगेको छ । अमेरिकी डलर सञ्चिती गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकामा गत चैत मसान्तमा १५ दशमलव चार प्रतिशतले वृद्धि भई १७ अर्ब ६३ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितीमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिती गत असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकामा गत चैत मसान्तमा १५ दशमलव छ प्रतिशतले वृद्धि भई २१ खर्ब ३६ अर्ब ४६ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिती गत असार मसान्तमा एक खर्ब ९२ अर्ब ५५ करोड रहेकामा २०८१ चैत मसान्तमा ५० दशमलव आठ प्रतिशतले वद्धि भई दुई खर्ब ९० अर्ब ३८ करोड कायम भएको छ । गत चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितीमा भारतीय मुद्राको अंश २० दशमलव चार प्रतिशत छ ।
यसरी हेर्दा सरकारले देशको आर्थिक अवस्था सुधार हुँदै गएको बताइरहेपनि यथार्थमा रेमिट्यान्स नहुने हो भने कसरी चल्छ देश ? यो गम्भीर विषय हो । हामी सधैं अरुकै भर पर्ने, हाम्रो स्वाभिमान खै त ? के अब यतातिर सोच्नु पर्दैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *