नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन् । कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेसको धनुषासम्म चट्याङको जोखिम उच्च रहेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विसं २०७८ साउन १ देखि विसं २०८२ जेठ ५ गतेसम्ममा चट्याङका एक हजार ११८ वटा घटना भएका छन् भने एक हजार ६०७ परिवार प्रभावित बनेका छन् । विश्वमा चट्याङबाट हुने विपद् जोखिमका आधारमा नेपाल पाँचौँ स्थानमा पर्ने बताइएको छ ।
विगत चार वर्षमा कोशी प्रदेशमा चट्याङका दुई सय ९५ वटा घटना हुँदा तीन सय ६६ घर यसबाट प्रभावित बनेका, ५१ जनाको मृत्यु र ८४ जना घाइते भएका छन् । कोशीमा चट्याङका कारण एक करोड ६० लाख ४५ हजार ५०० बराबरको धनमालको क्षति भएको छ भने चार सय २० वटा चौपाया मरेका छन् ।
प्राधिकरणका अनुसार लुम्बिनी प्रदेशमा चार वर्षमा एक सय ८० वटा चट्याङका घटना हुँदा ५४ जनाको मृत्यु भएको छ भने तीन करोड ४९ हजार मूल्य बराबरको भौतिक क्षति भएको छ । लुम्बिनीमा दुई सय ७६ परिवार चट्याङबाट प्रभावित, एक सय ६५ जना घाइते र ९८ वटा पशुचौपाया मरेका छन् । सुदूरपश्चिममा ३५, मधेसमा २७, बागमतीमा २५, गण्डकीमा २४ र कर्णालीमा २१ जनाले ज्यान गुमाएका छन् । प्राधिकरणका अनुसार कर्णालीमा दुई सय सात, सुदूरपश्चिममा एक सय ५८, गण्डकीमा ८४, बागमतीमा ८२ र मधेसमा २८ जना मानिस घाइते भएका छन् ।
नेपालमा विपदबाट जनधनको बढी क्षति हुने दोस्रो ठूलो कारण चट्याङ रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागले जनाएको छ । चैतदेखि असारसम्मको प्रि–मनसुन र मनसुन अवधिमा चट्याङका घटना बढी हुने गरेको पाइन्छ । उक्त अवधिमा वायुमण्डल अस्थिर भएर चट्याङ बन्ने प्रक्रिया बढ्छ । हिमाल, पहाड र तराईको भौगोलिक अवस्थाका कारण नेपालमा बढी चट्याङ पर्ने गरेको हो । चट्याङलाई रोक्न नसकिने तर यसबाट हुनसक्ने क्षति ८० प्रतिशतसम्म न्यूनीकरण गर्न सकिने विज्ञहरुको भनाइ छ । सचेतना नै चट्याङबाट हुनसक्ने क्षति न्यूनीकरणको सबैभन्दा प्रभावकारी उपाय भएकोमा उनीहरुको जोड छ ।
मनसुनका समयमा मध्यान्हपछि बढी चट्याङ पर्ने गरेको अध्ययनले देखाएको छ । सोही समयमा खेतमा काम गर्ने, घाँस दाउरा गर्ने र गाईबस्तु चराउने कार्य हुने गरेकाले बढी मानवीय क्षति भएको हो । त्यस्ता कामहरू मध्यान्हअगावै गरिसक्ने र मेघगर्जन भएका बेला खुला स्थानमा नजाने हो भने मानवीय क्षति स्वतः न्यूनीकरण हुने देखिन्छ ।
जल तथा मौसम विज्ञान विभागले उदयपुर, पाल्पा र सुर्खेत जिल्लामा चट्याङ पर्दैछ भनेर एक घण्टाअघि जानकारी दिने राडार उपकरण जडान गरे पनि तीन वटै राडार हाल बिग्रिएर थन्किएका छन् । ती राडार मर्मतसम्भार गरेर सञ्चालनमा ल्याएमा आधा घण्टादेखि एक घण्टाअघि चट्याङ पर्ने क्षेत्रको बारेमा जानकारी पाउन सकिन्छ । घर तथा ठूला भौतिक संरचना निर्माण गर्दा चट्याङको प्रभाव पर्न नदिने वैज्ञानिक उपकरण जडान अनिवार्य गर्ने हो भने पनि यसबाट हुनसक्ने जोखिमबाट बच्न सकिने अध्ययनले देखाएको छ । स्रोतसाधनमा सक्षम रहेका स्थानीय तहले चट्याङबाट जोगिने उपायका बारेमा वडा र टोलसम्म पर्याप्त मात्रामा सचेतना पुर्याउनुपर्ने देखिन्छ । यसो भएमा मात्र आगामी दिनमा चट्याङको जोखिमबाट धनजनको क्षति हुन कम हुनेमा सरकारले ध्यान दिनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *