हरिहर विरही

नारायणीदत्त ‘प्रकाश’ चटौत । यो धेरै चर्चामा आएको नाम होइन । कैयौं मानिसले यो नाम पहिलोपल्ट सुनेको हुनुपर्छ । आजका युवा र नयाँ पुस्ता त यो नामसँग पूरै अपरिचित होला । किनभने हाम्रो समाजमा कि सत्तामा पुगेका तथाकथित ‘ठूला’ मानिसको चर्चा हुन्छ, कि कुख्यात अपराधी र भ्रष्टाचारीहरूको । सुपठित व्यक्ति र समुदायले प्रचारमा आएका र सहरमा बस्ने केही विद्वान्, लेखक, साहित्यकार, पत्रकार, व्यवसायी र समाजसेवीहरूबारे धेरथोर ज्ञान अवश्य राख्छन्, तर दूरदराजमा बसेर राष्ट्र र समाजका लागि महत्त्वपूर्ण योगदान दिने, नागरिकलाई सही बाटो देखाउने, इमानदार, क्षमतावान् र प्रतिभाशाली अनगन्ती व्यक्तित्वहरू गुमनाम छन् । १९८७ सालमा जन्मिएर २७ वर्षको युवावस्थामै कठोर कालको शिकार भएका डोटी–डडेलधुराको विकट स्थानका यी चटौतका धेरै साथी–सँगी र सहकर्मीहरू यतिखेर पृथ्वीमा छैनन्, जेजति छन् तिनको पनि स्मृति धमिलो भइसकेको होला । उनले आफ्नो जीवन अर्पित गरेको राजनीतिक दलले उनलाई सम्झिँदैन । नेता र कार्यकर्ताहरू आफ्ना पितामाता तथा बकस–संरक्षण दाताको विरुदावली गायन, भजन, कीर्तन एवं पद, सत्ता र निजी स्वार्थका काममा व्यस्त छन् । उनका प्यारा केही भाइहरूले आफ्ना पूजनीय अभिभावकप्रति श्रद्धाञ्जलीका रूपमा आआफ्ना संस्मरण र उनका रचनाहरू — कविता, डायरी, चिट्ठीपत्र र अभिव्यक्तिहरू — खोजीखोजी सङ्कलन गरेर प्रकाशित गरेका कृतिहरूबाट नारायणीको व्यक्तित्व, विशेषता, विचार, सिद्धान्त, प्रतिभा, परिकल्पना र योगदानको झलक पाइन्छ । यसो गरेर उनीहरूले आफ्ना प्रेरणादायी अग्रजप्रतिको कर्तव्य मात्र पूरा गरेका छैनन्, राष्ट्रलाई एउटा महान् र उत्प्रेरक सपूतसँग परिचित गराएका छन् ।
स्वर्गीय नारायणीदत्त चटौत देश र समाजले अत्यन्त सम्मान र कदर गर्नुपर्ने उत्प्रेरक विभूति थिए । उनी विलक्षण प्रतिभा भएका युवा थिए । (दुर्भाग्य, युवावस्थाभन्दा माथि उक्लिने अवसर उनले पाएनन् ।) आधुनिक चेत र प्रगतिशील सोच भएका उनी राष्ट्र र समाजमा व्यापक परिवर्तनका पक्षधर थिए । परिवर्तनको शुरुआत उनले आफैंबाट गरे । पढ्दापढ्दै उनले आफ्ना अभिभावकहरूले राखिदिएको नाम छोट्याउन र परम्परागत रूपमा आएको थर ‘चटौत’ लाई गौण बनाउन चाहे । फलस्वरूप नारायणीदत्त चटौत ‘एन. डी. प्रकाश’ मा रूपान्तरित भए । (एन. डी. को भाइ भएकोमा गर्व गर्ने डा. भुवनेश्वरीदत्त, राजेश्वरीदत्त, वागेश्वरीदत्त, पूर्णेश्वरीदत्त, तारिणीदत्त आदिले पनि यही अनुसरण गर्दै आफूलाई बी. डी., आर. डी. प्रभास, बागीश, पी. डी. सुभाष आदि नामले चिनाउन खोजे ।
नेपालको सबैभन्दा पिछडिएको क्षेत्र सुदूरपश्चिम, त्यहाँको सबैभन्दा दुर्गम जिल्ला डोटी, डोटीको विकट गाउँ डुँगरी (दिव्यवती) को हो यो चटौत परिवार । गाउँठाउँ कहालीलाग्दो भए पनि राणाकालमै सरकारी जागिरे भएर विराटनगरमा बसेका देवीदत्त चटौतले शिक्षाको महत्त्व अवश्य बुझेका थिए । त्यसैले उनले छोरालाई राम्रो शिक्षा दिन चाहे । गाउँको विद्यालयमा प्रारम्भिक अध्ययनकालमै सँगैका साथीहरूभन्दा छोरा उत्कृष्ट र अरूभन्दा केही भिन्न देखिए । ठूलो ठाउँमा गएर राम्रो विद्यालयमा पढ्न पाए प्रतिभा अझ प्रस्फुटित हुने अपेक्षाले एन. डी. लाई भारतको अल्मोडा पठाउने तय भयो । तर कठोर परम्पराको साङ्लोमा बेरिएको, अनेकौं रुढी र कुरीतिले थिचिएको तथा सङ्कीर्ण ‘ब्राह्मणवादी’ संस्कारमा निथ्रुक्क भएको परिवार आफ्नो होनहार छोराले त्यहाँ गएर जात फाल्ने हो कि भनेर भयभीत भयो । अन्ततः उनको सेवासुश्रूषा, शुद्ध खानपिनको व्यवस्था तथा कुल–धर्म अनुसारको आचरण गराउन एकजना ब्राह्मणलाई पनि साथमा पठाइयो ।
त्यस बेला भारत झन्डै सय वर्षसम्म हिंसात्मक र अहिंसात्मक सङ्घर्ष गरेर ब्रिटिश उपनिवेशबाट स्वतन्त्र भएको थियो । जताततै स्वतन्त्रता, लोकतन्त्र, समाजवाद–पूँजीवाद, महात्मा गान्धी, राजनीतिको महत्त्व, नेता र दलहरूको दायित्व, देश र जनताको अवस्था, नागरिकको कर्तव्य जस्ता विषयमा व्यापक र गम्भीर छलफल, विमर्श र बहसहरू हुन्थे । पूरै वातावरण राजनीतिमय थियो । सबै वर्ग र समुदायमा आफूलाई समयानुकूल परिवर्तन गर्ने तथा व्यक्तिगत स्वार्थमा सीमित नरही राष्ट्र र समाजका लागि योगदान गर्ने लहर चलेको थियो ।
नवयुवक नारायणीदत्त दायाँ–बायाँ नहेरी झ्वाम्म यो लहरमा हाम्फाल्न पुगे । उनको गोठालो बनाएर पठाएको मानिस केही दिनमै निराश भएर घर फर्किएर आई भने — ‘उहाँ मैले भनेको मान्नुहुन्न । अब पाइन्ट लगाउन थाल्नुभएको छ । सुटबुट लगाएरै भात खानुहुन्छ र मैले पकाएको खानुभन्दा होटलमा गएर खान थाल्नुभएको छ । पढ्न पनि स्कूलभन्दा बढी अन्तअन्तै जानुहुन्छ, धेरैजसो पुस्तकालयमा जानुहुन्छ ।’
हो, एन. डी. ले त्यहाँ थोरै समयमा धेरै विद्या हासिल गरे । अरू जे गरे पनि उनले स्कूलको पढाइ छोडेनन् । अल्मोडाको काण्डाबाट हाइस्कूल र यू. पी. परीक्षा बोर्डबाट माध्यमिकको जाँचमा राम्रो अङ्क ल्याएर उत्तीर्ण भए । तर योभन्दा महत्त्वपूर्ण उपलब्धि थियो भारतमा उनले अनौपचारिक रूपमा प्राप्त गरेको शिक्षा, बौद्धिक क्षमता, राजनीति, साहित्य र दर्शनको ज्ञान, देशभक्ति, समाजप्रति जिम्मेदारीको बोध आदि–इत्यादि । माध्यमिक कक्षा पढिरहेकै अवस्थामा उनले भारतका केन्द्रीय नेताहरूसँग पनि सम्पर्क स्थापित गरे । राजनीतिशास्त्र तथा नेपाली, भारतीय र युरोपीय साहित्य तथा दर्शनको अध्ययन तथा बौद्धिक व्यक्तित्व र सन्तहरूसँग सत्सङ्ग र विमर्श गरे, जसले उनीभित्र रहेको आधुनिक जीवनदृष्टि र प्रगतिशील सोचलाई सुदृढ बनायो ।
अल्मोडाको अध्ययनपछि उच्च शिक्षा स्वदेशमै हासिल गर्ने निश्चय गरी काठमाडौँ आएर त्रिचन्द्र कलेजमा भर्ना भए । तर आई. ए. को प्रथम वर्ष उच्च अङ्कसाथ उत्तीर्ण भएका उनी दोस्रो वर्षको अध्ययन गर्दागर्दै मुलुकमा उत्पन्न सङ्कटबाट उद्वेलित भएर राजनीतिमा होमिए । नयाँ क्रान्तिको राँको बोकेर राजनीतिमा प्रवेश गरेका एन. डी. छोटो समयमै नागरिक चेतनालाई झलमल्ल पारेर स्वाट्ट बिदा भए ।
एन. डी. प्रकाशको बाल्यकाल निकै तनावपूर्ण र कष्टकर रह्यो । जन्मिनासाथ उनी आफ्नो कुनै दोष नहुँदा पनि कठोर सजाय भोग्न बाध्य भए । उनका पिता विराटनगरमा खरिदार थिए । उनी सपरिवार त्यहीं बस्थे । माहिला छोरा नारायणी त्यहीं जन्मेका हुन् । १९८७ साल मङ्सिर ७ गते शनिबार (शुक्लपक्ष, द्वितीया तिथि, मूल प्रभावी ज्येष्ठा नक्षत्रको चौथो चरणमा दिनगत १८ घडी ४५ पला) मा उनी जन्मेको सुन्दा चटौत परिवारमा प्रलय गएजस्तै कोलाहल मच्चियो । देवीदत्त ज्योतिषका ज्ञाता थिए, उनका दाजु विश्वेश्वर त झन् ज्योतिष, दर्शन र आयुर्वेदका प्रकाण्ड विद्वान् । अन्य ज्योतिषहरूसँग पनि परामर्श गर्दा ‘शास्त्र अनुसार’ छोरा मुल्याहा, अनिष्टकारी ठहरियो । पिताले यस्ता छोराको मुख ८ वर्षसम्म हेर्न नहुने, अन्यथा बाबु र छोरामध्ये एकजनाको चाँडै मृत्यु हुने अथवा परिवारमा ठूलो सङ्कट आउने निष्कर्ष निकालियो ।
छोरा जन्मिएकोमा हर्षको पोखरीमा पौडिरहेका देवीदत्त रुँदै कोठाको अँध्यारो कुनामा लुके । केही दिनपछि आमाछोरालाई डोटी पठाइयो । पिता यो शोकमा विक्षिप्तजस्तै भए । उनी जागिरको मोह त्यागेर तीर्थ र पूजा–आराधनामा लागे । केही वर्षपछि परिवारको चिन्ताले घर पुगे । छोराले बाबुलाई देख्ला भनेर नारायणीलाई लुकाइयो । लामो समयसम्म उनलाई अर्को कोठामा कैदीजसरी राखियो । दुवैले एक–अर्कालाई देख्न पाएनन् । छोरा स्कूल जाँदा–आउँदा वा खेल्दा झुक्किएर देखिएला र अनिष्ट होला भन्ने डरले देवीदत्त केही टाढा रहेका आफन्त नातेदारहरूकहाँ घर सरी–सरी बसे । बुबा र आफ्नो भेट नहुनुको कारण बुझेपछि छोरा पनि बुबालाई सङ्कट नपरोस् भनी होशियारीपूर्वक हिँड्थे ।
यसरी ८ वर्ष बिताए । दुवैजना आफूले नगरेको गल्तीको कठोर सजाय भोग्न अभिशप्त थिए । तर यतिले मात्र उनीहरूको सङ्कट टरेन । एन. डी. लाई असाध्य माया गर्ने साहिला बुबा विश्वेश्वरको असामयिक निधन भयो । गाउँमा पढिरहेकै अवस्थामा अभिभावकले एन. डी. को बिहा गराइदिएका थिए राम्रो कुलघरानाकी बालिका गुणकेशरीसँग । बिहाको बेला बेहुला १४ र बेहुली ९ वर्षका थिए । आफ्नो संरक्षक साहिला बुबाको मृत्युको पीडा निको नहुँदै अर्को वर्ष पत्नीलाई निर्दयी कालले टपक्क टिपेर लग्यो । बिहा गरेको ३ वर्ष पनि नपुगी उनले विधुर बन्नुप¥यो । पत्नीवियोगले छटपटिरहेको अवस्थामै उनीमाथि थप बज्रपात भयो । त्यसको ३ महिनापछि ४९ वर्षीय पिता देवीदत्तको असामयिक मृत्यु भयो । त्यतिखेर एन. डी. भारतमा अध्ययनरत थिए । उनका लागि ज्ञान आर्जनभन्दा ठूलो केही थिएन । उनी पढ्न, धेरै धेरै धेरै पढ्न चाहन्थे । घरपरिवार त्यसरी शोकमा चुर्लुम्म डुबेकाले यू. पी. बोर्डको परीक्षा दिनासाथ ‘प्रकाश’ मातृभूमि फर्किए ।
करिब १६ वर्षकै उमेरमा पत्नीवियोग झेल्नुपरेका उनलाई दोस्रो विवाह गर्न चारैतिरबाट दबाब प¥यो, तर एन. डी. ‘मेरो पढाइ पूरा भएकै छैन, अरू पढ्छु र देशको सेवा गर्छु’ भनेर राजधानी आए । यहाँ भित्रभित्रै क्रान्तिको तयारी भइरहेको थियो । २००५–०६ सालको कुरा हो यो । यहाँ आएको केही समयपछि नै देश सङ्कटमा परेको बेला पढाइमा सीमित हुनु राम्रो होइन भनेर नेपाली काङ्ग्रेसका नेताहरूसँग सम्पर्क गरी उनी २००७ सालको क्रान्तिको महायज्ञमा चरु होम्न पुगे ।
राजनीतिमा लागेको छोटो समयमै एन. डी. प्रकाश विलक्षण प्रतिभाशाली नेताका रूपमा स्थापित भए । भविष्यको आशाको केन्द्र बने । उनले नेतालाई भन्दा नेताले उनलाई खोज्नुपर्ने स्थिति बनाए । एन. डी. राजधानीमा नेताहरूको वरिपरि नबसेर जनताबीच गएर सङ्गठन निर्माणको काममा लागे । शुरुमा उनले पाल्ही–माझखण्ड (नवलपरासी, रूपन्देही, कपिलवस्तु) क्षेत्रमा काङ्ग्रेसको सङ्गठन विस्तार गर्दै क्रान्तिको पक्षमा जनमत निर्माण गर्न सक्रिय भए । उनले चामत्कारिक सङ्गठन कौशल प्रदर्शन गरे । पार्टीले उनलाई त्यस क्षेत्रको सभापति बनायो । त्यसपछि उनी सुदूरपश्चिममा केन्द्रित भए । त्यहाँ नेपाली काङ्ग्रेसको जग बलियो पार्ने श्रेय एन. डी. प्रकाशलाई दिइन्छ ।
त्यस समयमा काङ्ग्रेसलाई धनी र सामन्तहरूको पार्टी भनेर प्रचार गरिन्थ्यो । आम नागरिक धनी, जिम्दार र सामन्तहरूबाट पीडित थिए । जनता उनीहरूका विरुद्ध थिए । एन. डी. प्रकाश झन् विद्यार्थीकालदेखि नै शोसक–सामन्तहरूका कट्टर विरोधी र गरिबहरूका पक्षधर थिए । उनी आफ्नो परिचय ‘शोषकहरूको शत्रु र शोषितहरूको सखा’ भनी दिन्थे र सामन्तहरूको सातो जाने गरी भाषण गर्थे । उनले कतै बी. पी. र श्रीभद्र शर्मा, कतै मातृकाप्रसाद कोइरालासँगै भाषण गर्ने अवसर पाएका थिए । किसानहरूलाई उनी अत्यधिक स्नेह र सम्मान गर्दथे । किसानहरूमाथि भइरहेको शोषण र अन्याय, जातीय भेदभाव, छुवाछुत, असमानता, अन्धविश्वास र कुरीतिहरूविरुद्ध जनता जगाउन युद्धस्तरमा लागे ।
बाल्यकालमै विवाहबन्धनमा बाँधिएका एन. डी. ले निरक्षर धर्मपत्नीलाई घरमा साक्षर बनाए र गाउँको विद्यालयमा पढ्न पठाए । गाउँको तत्कालीन वातावरणमा बुहारीलाई स्कूल पठाउनु ठूलो साहसिक काम थियो । उनले हिम्मत गरेपछि धेरैले आफ्ना छोरी–बुहारीलाई पढाउन थाले । पिछडिएका ठाउँहरूमा स्कूल, स्वास्थ्यकेन्द्र र पानीको व्यवस्थाका निम्ति उनले अथक प्रयत्न गरे । समाजमा व्याप्त कुरीति, अन्धविश्वास, अन्याय, भेदभाव र शोषणविरुद्ध शङ्ख फुक्दै नागरिकलाई उनीहरूको शक्ति र अधिकार बोध गराउने अभियान चलाए । समतामूलक समाज र समाजवादप्रति उनको दृढ आस्था थियो । केही वर्षमै एन. डी. प्रकाश आफ्नो क्षेत्रमा लोकप्रियताको शिखरमा पुगे । सुदूरपश्चिममा अहिलेसम्म पनि उनको प्रभाव तथा उनीप्रति स्नेह र सम्मान प्रशस्त देखिन्छ । हरेक लोकतन्त्रवादीहरू गर्वसाथ आफूलाई एन. डी. प्रकाशको अनुयायी भन्छन् ।
एन. डी. प्रकाश नेपाली काङ्ग्रेसको २००९ सालदेखिका हरेक भेला, केन्द्रीय महाधिवेशन र महासमितिका बैठकहरूमा सक्रिय सहभागी भए । करिब २१ वर्षको कलिलो उमेरमा नै उनी महासमितिको सदस्य भए । त्यसको ४–५ वर्षपछि केन्द्रीय सदस्य बने । २००८ सालमा विशालनगरमा भएको महासमिति बैठकमा उनले औपचारिक रूपमा राखेको भूमिव्यवस्था सुधार समिति गठनको प्रस्ताव सर्वसम्मतिले पास भयो ।
हरेक अवसरमा उनी नेताहरूलाई गरिब, किसान र श्रमजीवीहरूको पक्षमा प्रभावकारी नीति बनाउन र आफ्नो प्रतिबद्धता पूरा गर्न दबाब दिने गर्दथे । २०१४ साल मङ्सिरमा भएको ने. का. को छैटौं महाधिवेशनमा समाजवादसम्बन्धी प्रस्ताव पास गराउन सक्रिय रहेको युवा जमातमा उनको अग्रणी भूमिका रहेको त्यहाँ सहभागी हुनेहरू बताउँछन् । उनी निर्वाचन समितिका सदस्य थिए, जसमा सभापतिमा सुवर्ण शमशेर र गणेशमान सिंहका बीच प्रतिस्पर्धा थियो । पार्टीभित्रको गुटबन्दीमा एन. डी. प्रकाश बी. पी. कोइरालाको पक्षमा थिए । सुवर्ण शमशेर र गणेशमान सिंहका बीचको प्रतिस्पर्धामा उनी गणेशमान सिंहलाई विजयी गराउन चाहन्थे । गणेशमान विजयी भएमा पार्टीले समाजवादी दिशामा दरो कदम चाल्ने उनको विश्वास थियो । तर चुनावको बेला उनलाई निर्वाचन समितिको सदस्य बनाइएकाले खुलेर एकतर्फ लाग्न सकेनन् । पार्टीको भावी नीतिका सन्दर्भमा आएका प्रस्ताव र सुझावहरूबारे छलफल र परिमार्जन गर्ने जिम्मेदारी पनि त्यही समितिलाई दिइएको थियो । त्यस समितिका अन्य सदस्य थिए महेन्द्रनारायण निधि र रामेश्वरप्रसाद सिंह ।
निर्वाचनपछि एन. डी. ले आफूलाई गरेको सहयोग तथा पार्टीको काममा देखेको सक्रियताबाट सुवर्ण निकै प्रभावित भएका थिए । २०१४ साल माघमा वीरगञ्जमा भएको महासमितिको बैठकमा पनि उनले उल्लेखनीय भूमिका निभाएका थिए । संविधानसभा वा संसद्को चुनाव गराउन राजालाई दबाब दिन भएको भएको ‘भद्र अवज्ञा आन्दोलन’ को वातावरण निर्माण गर्न उनी वीरगञ्जसहित तराई क्षेत्रमा सुवर्ण शमशेरको नेतृत्वमा खटिएका थिए । राजा महेन्द्रले चुनाव भएमा काङ्ग्रेसले धेरै सिट जित्ने सम्भावना भएकाले चुनाव गराउन आलटाल गरिरहेको अवस्थामा राजा जनभावना बुझ्न भनी डडेलधुरा गएको बेला एन. डी. ले मञ्चमै गएर ‘छिटै निर्वाचन गराउन’ माग गरेका थिए । उनको साहस देखेर राजासहित सबैजना चकित भएको त्यहाँ उपस्थित वरिष्ठ पत्रकार भैरव रिसालले आफ्नो संस्मरणमा उल्लेख गरेका छन ।
२०१५ सालको पहिलो आम निर्वाचन हुँदा एन. डी. यो धर्तीमा थिएनन् । त्यो स्थानमा काङ्ग्रेसले द्वारिकादेवी ठकुरानीलाई टिकट दियो, जसलाई एन. डी. प्रकाशले राजनीतिमा लाग्न प्रेरित गर्दै पार्टीको सदस्य बनाएका थिए । उनले ठकुरानीलाई काठमाडौँ ल्याएर बी. पी. र सुवर्ण सहितका नेताहरूसँग परिचय गराएका थिए । नेताहरूले एन. डी. को वारेसका रूपमा उनैलाई टिकट दिए र जितेर आएपछि मन्त्री नै बनाए, नेपालको पहिलो महिला मन्त्री । त्यो दुर्घटना टरेको भए एन. डी. ले केके जिम्मेदारी प्राप्त गर्ने थिए होलान्, हामी अहिले कल्पना मात्र गर्न सक्छौं ।
एन. डी. प्रकाश अहिलेका कार्यकर्ताहरूजस्तो नेताले जे कर्म–कुकर्म गरे पनि चुपचाप हेरेर सहेर बस्ने प्रकारका व्यक्ति थिएनन् । आफ्नो स्वार्थका निम्ति विवेक, नैतिकता र स्वाभिमान छोडेर नेताका सामु लम्पसार पर्ने चरित्रको विपरीत थिए उनी । उनी स्वाभिमानी, निर्भीक र प्रस्टवक्ता थिए । त्यस बेला देशमा भ्रष्टाचारको यस्तो बिगबिगी थिएन । राजनीति गर्ने मानिसले भ्रष्टाचार गर्ला भन्ने कोही सोच्दैनथे । देशलाई ठग्नु, कर छल्नु, घुस–कमिसन खानु आमाको रगत खाएसरह हो र कदाचित् अहिले जोगिए अर्को जन्ममा सजाय पाइन्छ भन्ने मानसिकता थियो, तथापि नेताहरूमा कतिपय मानवीय कमजोरी थिए । एन. डी. प्रकाश नेताहरूका सानासाना कमजोरी पनि सहन सक्दैनथे । यहाँसम्म कि एकपल्ट बी. पी. कोइराला सुवर्ण शमशेरको निवास ललितानिवासमा गएको बेला उनी उहाँलाई भेट्न त्यहीं गएछन्, तर बी. पी. खाना खाएर विश्राम गरिरहेको बेला परेछ । केही बेर बैठकमा कुर्दा पनि कुनै जवाफ नआएपछि उनले ‘समाजवादी नेता दिउँसै सुतेर कार्यकर्ता कुराउँदा रहेछन्’ भन्ने लेखेर माथि पठाइदिए र आफू फर्किए । यो थाहा पाउनासाथ बी. पी. ले तुरुन्तै बोलाउन कार्यकर्ता पठाउँदा पनि उनी फर्केर गएनन् । अर्को भेटमा बी. पी. ले देख्नासाथ त्यो दिनको चर्चा गर्दै तिमी आएको थाहा पाउनेबित्तिकै बोलाउन मानिस पठाएको बताउँदै ‘तल बैठकमा बस्नुसट्टा माथि नै आएको भए हुन्थ्यो नि’ भन्नुभएको कुरा एन. डी. स्वयंले लेखेका छन् ।
एन. डी. ले नेता र पार्टीका कतिपय अभिव्यक्तिप्रति असहमति जनाउँदै सच्याउन बाध्य पारेका थिए । उनले भीमदत्त पन्तको भारतीय सेनाले गरेको हत्याप्रति तीव्र विरोध प्रकट गरे भने डा. के. आई. सिंहको मामिलामा पनि मतान्तर जनाए । उनी आफू सहमत नभएको, चित्त नबुझेको र कमजोरी देखेको कुरा हाक्काहाक्की राख्दथे । एकपल्ट पार्टी सङ्गठनको सन्दर्भमा अरू कुनै स्थानीय नेताको दबाबमा आफूमाथि अन्याय हुन लागेको सङ्केत पाएपछि उनले यसो गरियो भने आफूले पार्टी परित्याग गर्ने, कि अवकाश लिने विचार गरेको सन्देश नेताहरूसामु पु¥याए । पछि बी. पी. ले समस्या मिलाउनुभयो । उनी पार्टीभित्र र बाहिर कृषिक्रान्ति, भूमिसुधार, मोहियानी हक, जनतालाई शिक्षा र स्वास्थ्यको व्यवस्थाको कुरा उठाइरहन्थे । एन. डी. राजनीतिकर्मीहरूको जीवनशैली सदा सरल र मितव्ययी हुनुपर्ने कुरामा जोड दिन्थे । मद्यपान र विलाशिताको उनी कट्टर विरोधी थिए । नेता र कार्यकर्ताको जीवन र व्यवहार पार्टीको सिद्धान्त अनुरूप हुनुपर्छ भन्ने उनको मान्यता थियो ।
नेपाली काङ्ग्रेस शुरुदेखि नै अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनसँग जोडिएको थियो । काङ्ग्रेसलाई समाजवादी बनाउन बी. पी. कोइरालाको ठूलो भूमिका थियो । उहाँ नेपालमा समाजवादको जग बलियो पार्न चाहनुहुन्थ्यो । त्यसैले उहाँले सन् १९५३ मा बर्मामा भएको एसियाका समाजवादीहरूको सम्मेलनमा भाग लिनुभयो भने ‘एसियन सोसलिस्ट कन्फरेन्स’ स्थापनामा महत्त्वपूर्ण भूमिका निभाउनुभयो । सन् १९५४ मा टोकियो र सन् १९५६ मा मुम्बैमा भएको उक्त संस्थाको पहिलो र दोस्रो ब्युरो बैठकमा नेपालको नेतृत्व गर्दै सहभागी हुनुभएका कोइरालाले राखेको प्रस्ताब अनुसार तेस्रो बैठक सन् १९५८ मा काठमाडौंमा हुने तय भएको थियो । त्यो बैठकले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान र प्रतिष्ठा बढाउनुका साथै नेपाली जनमानसमा समाजवादको महत्ता स्थापित गर्ने अपेक्षा बी. पी. को थियो । त्यसैले उहाँले त्यो बैठकमा उज्ज्वल भविष्य भएका, पार्टीको विचार र सिद्धान्त जनतालाई बुझाउन सक्ने तथा समाजवादमा आस्था राख्ने युवा नेताहरूलाई विशेष रूपमा सहभागी गराउन चाहनुभयो । यस क्रममा उहाँको छनोटमा परेका एक युवा नेता थिए एन. डी. प्रकाश ।
उनी त्यस बेला जिल्लातिर पार्टी सङ्गठनमा व्यस्त थिए । बी. पी. को निम्तो पाउनासाथ उनी यता हान्निए । समय धेरै बाँकी थिएन । राजमार्गहरू बनेका थिएनन् । भएमध्ये छोटो बाटोबाट सिमरा पुगेर उनी बैठक शुरु हुने दुई दिनअघि २०१४ साल चैत ११ गते विमानमा चढे । भारतीय वायुसेवाको त्यो विमान उडेको केही मिनेटमै ललितपुरको लेले डाँडामा दुर्घटनामा प¥यो । एन. डी. तथा काङ्ग्रेसका अर्का नेता राजदास बादे श्रेष्ठ (बनेपा) र चालकहरूसहित सबै २० जनाको जीवन स्वाहा भयो । सिङ्गै नेपाल शोकमा डुब्यो । पर्सिपल्ट १३ गते शीतल निवासमा समाजवादीहरूको अन्तर्राष्ट्रिय बैठक प्रारम्भ गर्दै बी. पी. ले भन्नुभयो — “यो दुर्घटनाबाट हाम्रा चिन्तनशील साथीहरूको निधनले हाम्रो पार्टीलाई मात्र होइन, हाम्रो देशको समाजवादी आन्दोलनमा नै ठूलो रिक्तता छाएको छ । हाम्रो पार्टीलाई अपूरणीय क्षति भएको छ ।”
एन. डी. प्रकाशले आसन्न निर्वाचनलाई दृष्टिगत गरी वैशाखमा बी. पी. लाई सुदूरपश्चिमको भ्रमण गराउने कार्यक्रम बनाएका थिए । बी. पी. पनि एन. डी. को इच्छा पूरा गर्नुपर्छ भनेर विदेशी पाहुनाहरू फर्किएलगत्तै चैत २८ गते त्यसतर्फ जानुभयो । उहाँले बैतडीमा एन. डी. का भाइहरू आर. डी. प्रभास र पी. डी. सुभाषलाई भेटेर सहानुभूति प्रकट गर्नुभयो । घर गएर आमालाई भेट्न सम्भव नभएकाले आमाको नाममा चिट्ठी लेखेर पठाउनुभयो । त्यो चिट्ठी यस्तो थियो — “पूज्या आमा, म यस पत्रद्वारा कुनै सान्त्वनाको शब्द लेख्न सक्तिनँ । एन. डी. मेरा लागि भाइजस्ता थिए । उनले पनि मलाई आफ्नो ठूलो दाजुजस्तो मानेका थिए । यसपालिको मेरो यो यात्रा उनैको आग्रहले गरेको हुँ । उनी अब रहेनन् । हामी सबै शोकसन्तप्त छौं । तपाईंको दुःखको अनुमान म लगाउन असमर्थ छु । तर तपाईले एन. डी. को माध्यमबाट धेरै पुत्र पाइसक्नुभएको छ । मलाई तपाईंले आफ्नै छोरा सम्झिए हुन्छ । एन. डी. ले गरेको कामलाई पूरा गर्न हामी अग्रसर छौँ । भाइहरूसँग बैतडीमा भेट भयो । उनीहरूलाई सम्झाएर पठाएको छु । आशीर्वाद दिनुहोला । — आज्ञाकारी विश्वेश्वरप्रसाद कोइराला ।”
यस्तो लाग्छ, एन. डी. प्रकाश कदाचित् राजनीतिक क्षेत्रमा प्रवेश नगर्नुभएको भए मूर्धन्य साहित्यकार वा लोकप्रिय सामाजिक अभियन्ता बन्ने सम्भावना थियो । उहाँको सामाजिक सुधारसम्बन्धी स्पष्ट दृष्टिकोण थियो । त्यो दृष्टिकोण आधुनिक थियो, अगगामी थियो, प्रगतिशील थियो । उनको सपनालाई पछ्याइरहेका उनका भाइ–भतिजाहरू एन. डी. का नीति, व्यवहार, योजना, कीर्ति र परिकल्पनाहरूलाई जनतामाझ पु¥याउन लामो समयदेखि क्रियाशील छन् । आर. डी. प्रभास चटौत र भुवनेश्वरीदत्त चटौतले प्रकाशित गरेको ‘रचना–प्रकाश’, आर. डी. प्रभासको ‘प्रकाशका कालजयी कविता’ तथा वागीश्वरीदत्त चटौत ‘वागीश’ द्वारा संयोजित सम्पादित ‘जागरणका सारथि’ ले उनको जीवनी, व्यक्तित्व, व्यवहार, नीति, योजना, कृति र सपनाहरूको परिचय दिएका छन् । धेरैका संस्मरण, विश्लेषण र टिप्पणीले सुनमा सुगन्ध थपेको छ ।
प्रकाशमा आएका विवरणहरूले के पुष्टि गर्दछन् भने एन. डी. को लेखनमा पनि गहिरो रुचि थियो । उनी लेखिरहन्थे, जे पनि लेख्थे । देखेको, पढेको, सोचेको कुरा टिपिहाल्थे । गीत, कविता, संस्मरण, डायरी, चिठीपत्र, जे पनि लेख्थे । डायरी हरेक दिन अटुट रूपमा लेख्थे । चिठी लेख्ने त नशा नै थियो । उनको सान्निध्य पाएका एक भाइ आर. डी. प्रभासले आफू र अन्य भाइहरूलाई केही समयको अन्तरालमा लेखेका ४७ थान चिठी सार्वजनिक गरिसकेका छन् । भनिन्छ, उनी एउटै आसनमा एक दर्जनजति चिठी लेख्थे । उनको लेखाइ प्रायः छोटो र अक्षर कलात्मक देखिन्छ । उनी नेपाली, हिन्दी र डोटेली भाषामा लेख्थे । उनका रचनाहरूमध्ये कैयौं कविता कालजयी छन् । साहित्यमा उनी हाम्रा लक्ष्मीप्रसाद देवकोटा र भारतका पन्त–प्रसाद–निरालाबाट बढी प्रभावित रहेको सङ्केत पाइन्छ । कवितामा यिनले आफ्नो भावना दिल खोलेर व्यक्त गरेका छन् । अल्प आयुमै स्वर्गीय भएका एन. डी. ले त्यही बेला लेखेका थिए ः
चाहन्न दीर्घतम जीवन होस् भनेर
चाहन्न भीम र चिरायु बनूँ भनेर
सानो बनूँ दुई दिनै बरु बाँच्न पाऊँ
संसारमा सकलका शुभ काम पाऊँ ।
प्रकाशका रचनाहरूको मन्दिरमा यसपल्ट नारायणीदत्तका सहोदर भाइ भुवनेश्वरीदत्त (डा. बी. डी.) चटौतले झन् अमूल्य अमूल्य गजुर थपिदिनुभएको छ — डायरी । यो डायरीले एन. डी. को अन्तरकुन्तर उद्घाटित गरेको छ । उनको व्यक्तित्वलाई झलमल्ल पारेको छ । डायरीका धेरै विशेषता हुन्छन् । त्यसमध्ये एउटा हो लेखकको सच्चा तस्बिर । मौलिक र भित्री अनुहार । डायरी लेख्ने मानिसले प्रायः त्यसमा आफूलाई उदाङ्ग पार्छ । जे देखेको हो, जे सोचेको हो र जस्तो लागेको हो, त्यही लेख्छ । त्यहाँ कृत्रिमता हुनु हुँदैन । डायरीको माध्यमबाट सम्बन्धित व्यक्तिको मानसिक उचाइ, लम्बाइ, चौडाइ र गहिराइ नाप्न सकिन्छ । डा. चटौतले अहिलेसम्म अप्राप्य रहेको एन. डी. प्रकाशको दुर्लभ डायरीलाई जनसमक्ष प्रस्तुत गरेर आफ्ना अग्रजको व्यक्तित्व उजिल्याउने काम मात्र गर्नुभएको छैन, सबैसामु एउटा नयाँ क्षितिज उघारिदिनुभएको छ । यो डायरीले एन. डी. प्रकाश हाम्रो अँध्यारो परिवेशको चम्किला ध्रुवतारा हुन् भन्ने तथ्यलाई झन् उजागर गरेको छ । यसले हामी सबैलाई आफ्नो गन्तव्य र दिशा पहिल्याउन र सच्याउन सहयोग गर्ने अपेक्षा गरेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *