बनेपा नगरपालिका वडानम्बर १० ले विगत डेढ वर्षदेखि आफ्नो वडाभित्रका सबै घरमा खानेपानी पुर्याउने आक्रामक र बृहत खानेपानी योजना संचालन गरिरहेको छ । वडाभित्रका करिब १ हजार ३०० भन्दा बढी घरधुरीमा एक घर एक घारा अन्तर्गत पानी वितरण गरिरहेको छ । तर बेलाबेलामा समस्या आएपछि अहिले त्यसलाई व्यवस्थित बनाउने कार्यक्रम शुरु पनि गरेको छ । के छ त वडाको योजना ? यसै विषयमा केन्द्रीत रहेर यसपटक मध्यमार्गका उपसम्पादक ज्ञानमणि नेपाल कालोटोपीले वडानम्बर १० का वडाध्यक्ष चन्द्रबहादुर खड्कासँग कुराकानी गरेका छन् । हेरौं उहाँसँग गरिएको कुराकानीको सम्पादित अंशः
वडाले खानेपानी व्यवस्थित गर्न के के योजना अघि सारेको छ ?
हामीले विगत पाँच वर्षदेखि खानेपानीका लागि काम गरिरहेका थियौं । यसका लागि ठाउँठाउँमा ट्यांकी निर्माण गर्दै डिपबोरिङबाट पानी तानेर अहिले वडाभित्रका करिब १ हजार ३०० घरमा पानी वितरण गरिरहेका छौं । यो योजनाका लागि संघीय सरकारले ४ करोड र प्रदेश सरकारले १ करोड बजेट छुट्याएको थियो । यसमा केही योगदान वडाले पनि गरेको छ । जसोतसो काम सम्पन्न गरेर हामीले पानी वितरण पनि गरिसकेका छौं तर त्यसलाई व्यवस्थित गर्न बाँकी छ । अब हामी त्यसमा पनि सक्रियताका साथ लागिरहेका छौं ।
व्यवस्थित गर्ने भनिएको धेरै भयो, किन ढिला भएको ?
सबै कुरा हामीले सोचेजस्तो नहुने रहेछ । डेढ वर्षसम्म वितरण गरे पनि हामीले उपभोक्तासँग कुनै शुल्क लिएका छैनौं । यसलाई दीगो बनाउने उद्देश्यले केही न्यूनतम शुल्क लिएर त्यसलाई अक्षयकोष जस्तो रकम जम्मा गर्ने र त्यसबाट आएको व्याजले कर्मचारीलाई तलबदेखि लिएर मर्मतसम्भार र विद्युत महसुलका लागि छुट्याउने सोच अनुरुप काम अघि बढाइएको छ ।
कति शुल्क लिने सोच हो त अब ?
हामीले पहिले जडान गरिसकेका घरमा प्रतिघर नगद २० हजार र अब नयाँ जडान गर्ने घरहरुका लागि २५ हजारका दरले उठाउने र यसपछि हरेक महिना केही न्यूनतम महसुल संकलन गर्ने भनेर निर्णय पनि गरिएको छ । मासिक कति लिँदा उपयुक्त हुन्छ भन्ने कुरा हामी सम्बन्धित टोल विकास संस्थाका प्रतिनिधिहरुसँग बसेर निर्णय गर्दैछौं ।
शुल्कका विषयमा अलि महंगो भयो भन्ने जनगुनासो छ नि ?
खासमा यो धेरै होइन । भन्नेले त जे पनि भन्छन्, आवश्यक पर्नेले यो भन्दा बढी शुल्क लिएर पनि धारा जडान गरिरहेका विभिन्न उदाहरण हामीले देखेका छौं । बनेपाको वडानम्बर १० मा हामीले सबैलाई एकरुपता कायम गर्न खोज्दैछौं । त्यसैले यो धेरै महंगो हो जस्तो लाग्दैन । केही शुल्क नलिई त नहुने नै रहेछ नि । योजना बिग्रँदा मर्मत गर्न सधैं वडाले बजेट दिन सक्ने अवस्था हुँदैन । अनि केही लगानी परेपछि उपभोक्ताले पनि लापर्बाही गर्दैनन् । यो कुनै व्यक्तिका लागि होइन, सबैको हितका लागि हो ।
तपाईंहरुको योजना भनेको सबै घरले अनिवार्यरुपमा धारा जडान गर्नै पर्छ भन्ने हो कि यो स्वेच्छिक हो ?
हामीले कसैलाई अनिवार्य गरेका छैनौं । आवश्यक हुनेले लिने हो । आवश्यक छैन भने लिनै पर्छ भन्ने छैन । अहिले जडान गरेका उपभोक्ताले पनि मलाई चाहिँदैन भन्न पाउनु हुन्छ । अहिले करिब १ हजार ३०० जति उपभोक्तामा मानौं एक हजारले मात्र जडान गर्ने अरुले नगर्ने भन्नु भयो भने पनि वडाले बाध्य बनाउँदैन ।
पहिले जडान गरेका धाराहरु केही पहिलेदेखि नै फुटेका छन्, केही पछि फुटेर पानी चुहावट भइरहेको छ भन्ने उपभोक्ताको गुनासो छ नि ?
चुहावट भएका छन् । कतिपय व्यक्तिले आवश्यकभन्दा धेरै धारा लिएको पनि हामीले भेटेका छौं । अब न्यूनतम शुल्क लिएर हामीले अनुगमन पनि गर्छौं । बिग्रिएका ठाउँमा मर्मत पनि छिट्टै हुन्छ ।
त्यसो भए अब उपभोक्ताले के गर्नुपर्छ त ?
पुरानो धारा जडान गरेर पानी खाइरहनु भएका उपभोक्ताले नवीकरणका लागि र नयाँ घर बनाएका उपभोक्ताले नयाँ धारा जडानका लागि वडामा आवश्यक कागजातसहित निवेदन दिनुपर्छ । यसका लागि हामीले मंसिर ८ गतेबाट १५ दिनभित्रको समय अवधी दिएका छौं ।
तपाईंले डिपबोरिङबाट पानी तानेर वितरण गरिरहेको कुरा गर्नुभयो । खासमा वडानम्बर १० मा प्राकृतिक स्रोत नभएर हो ?
होइन, स्रोत नभएको होइन । भएर पनि विविध कारणले सदूपयोग गर्न सकिएको छैन । त्यसमा पनि हरेक दिन हाम्रो वडामा घर निर्माण हुने क्रम बढीरहेको छ । त्यसैले दीर्घकालमा पनि सहज होस् भनेर यसरी पानी वितरण गरिरहेका हौं ।
समय र संवादका लागि यहाँलाई धेरै धेरै धन्यवाद ।
मेरा कुरा सबैसामु पुर्याउन सहयोग गर्नुभएकोमा तपाईं र तपाईंको संचार माध्यमलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु ।
