बनेपा । डा. दिलबहादुर तामाङको जन्म सेप्टेम्बर १९८८ मा काभ्रेको धुलिखेलमा भएको हो । उहाँ बुबा रघुबहादुर तामाङ र स्वर्गीय आमा कान्छीमाया तामाङका चार सन्तानमध्ये जेठा छोरा हुनुहुन्छ । उहाँले प्रारम्भिक शिक्षा कुत्ताल गाउँबाट र माध्यमिक शिक्षा धुलिखेलबाट पूरा गर्नुभयो । त्यसपछि काठमाडौँ विश्वविद्यालयबाट प्यारामेडिक्स डिप्लोमा अध्ययन गर्नुभयो । २० वर्षको उमेरमा स्नातक तह (MBBS) अध्ययनका लागि चीन जानुभयो र सन् २०१६ मा Xuzhou Medical University, China बाट MBBS उत्तीर्ण गर्नुभयो ।

नेपाल मेडिकल काउन्सिल (NMC) परीक्षा उत्तीर्ण गरेपछि सन् २०१७ मा धुलिखेल अस्पतालमा मेडिकल अफिसरका रूपमा सेवा आरम्भ गर्नुभयो । एक वर्ष धुलिखेल अस्पतालमा सेवा गरेपछि उहाँले नुवाकोट जिल्लाका अत्यन्त दुर्गम गाउँहरूमा करिब ३ वर्षसम्म समर्पित भएर सेवा गर्नुभयो । नुवाकोटमा सेवा गर्ने क्रममा, टोलीसहित Utah Medical University, USA को सहयोगमा एक्स–रे, USG तथा सुत्केरी सेवा जस्ता स्वास्थ्य सुविधाहरू स्थापना गर्न सफल हुनुभयो । उहाँले घरघरमै पुगेर उपचार गर्नुहुन्थ्यो र त्यसको कुनै शुल्क लिनुहुन्नथ्यो ।

कान्छीमाया तामाङ फाउण्डेशन
कान्छीमाया तामाङ उहाँकी स्वर्गीय आमाको नाम हो, जसले बाल्यकालदेखि नै उहाँभित्र मानवता, नैतिकता र सेवाभावका मूल्यहरू रोपिदिनुभयो । डाक्टर बनेर समाजसेवा गर्ने सपना पछ्याउन आमा सधैं प्रेरणादायी मार्गदर्शक बन्नुहुन्थ्यो । आज उहाँ समाजसेवामा समर्पित हुनुको मूल प्रेरणा नै उहाँकी आमा हुनुहुन्छ ।

सन् २०१६ को अप्रिल महिनामा, MBBS पूरा हुन मात्र एक महिना बाँकी रहँदा, डा. तामाङ अत्यन्त उत्साहित हुनुहुन्थ्यो । डाक्टर बनेको खुशी सबैभन्दा पहिले आमासँग बाँड्ने सपना थियो । तर दुर्भाग्य, इन्टर्नशिपबाट फर्किँदै गर्दा भाइको फोन आयो र तुरुन्त घर फर्कन आग्रह गरियो । घरमा पुग्दा आमाको अन्त्येष्टि भइरहेको दृश्य देख्नुपर्यो । दुई दिनअघि मोटरसाइकल दुर्घटनामा आमाको निधन भइसकेको रहेछ । जीवनकै सबैभन्दा ठूलो पीडा त्यही क्षण भोग्नुपर्यो ।

आमा विशेष हुनुको कारण केवल उहाँले जन्म दिनु मात्र होइन, सानो बचत गरेको प्रत्येक पैसाले उहाँको शिक्षा र सपना पूरा गराउनु हो । आमाको ऋण चुकाउने तीव्र चाहानाबाट नै कान्छीमाया तामाङ फाउन्डेशनको स्थापना भयो—आमाको स्मृतिमा, समाजसेवाको माध्यमबाट ।

फाउन्डेशनमार्फत गरिएका सेवाहरू
सन् २०१७ देखि कान्छीमाया तामाङ फाउन्डेशनमार्फत सामाजिक सेवा सुरु गरिएको हो । अभिभावक गुमाएका वा आर्थिकरूपमा कमजोर बालबालिकाका लागि नुवाकोटबाट छात्रवृत्ति कार्यक्रम सुरु गरियो । सुरुमा ३ जना अनाथ बालबालिकाबाट सुरु भएको यो कार्यक्रमले हाल १७ जना बालिकाहरूलाई निरन्तर सहयोग गरिरहेको छ । यसका लागि फ्रान्सका सहयोगी दाताहरूले सहयोग गरेका थिए ।

बोधिसत्व विहारको आर्थिक सहयोगमा दुर्गम गाउँहरूमा गर्भवती महिलाहरूका लागि मोबाइल क्याम्पमार्फत USG सेवा प्रदान गरिएको छ । यस्तै नेपालका अत्यन्त दुर्गम क्षेत्रहरूमा निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गरिएका छन् । बागलुङको गल्कोट, काभ्रेका तालढुंगा, नयाँगाउँ, सल्ले भुम्लु तथा विभिन्न विद्यालयहरूमा मोबाइल स्वास्थ्य शिविर संचालन भइसकेका छन् ।

आमा विशेष हुनुको कारण केवल उहाँले जन्म दिनु मात्र होइन, सानो बचत गरेको प्रत्येक पैसाले उहाँको शिक्षा र सपना पूरा गराउनु हो । आमाको ऋण चुकाउने तीव्र चाहानाबाट नै कान्छीमाया तामाङ फाउण्डेशनको स्थापना भयो—आमाको स्मृतिमा, समाजसेवाको माध्यमबाट ।

हालसम्म तीन हजारभन्दा बढी नागरिक लाभान्वित भइसकेका छन् । निःशुल्क स्वास्थ्य परीक्षण, औषधि, सहायक उपकरण तथा मोतिबिन्दु शल्यक्रियाका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । विद्यालयस्तरमा स्वास्थ्य सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको छ ।

यस्तै गोदावरीस्थित फूल्चोकी प्राथमिक विद्यालयका दैनिक ज्यालादारी मजदुरका ५० जना बालबालिकालाई हरेक वर्ष ट्रयाकसुट, जुत्ता तथा शैक्षिक सामग्री सहयोग गरिँदै आएको छ । आर्थिकरूपमा कमजोर १५ जना व्यक्तिहरूलाई शल्यक्रिया तथा अन्य गम्भीर उपचारमा सहयोग गरिएको छ (सडक दुर्घटना, हृदय रोग, लडेर घाइते भएका बिरामी आदि) अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वीलचेयर, बैशाखी तथा रामेछापको सानो सैलुङमा स्ट्रेचर सहयोग गरिएको छ ।

कोभिड–१९ प्रतिकार्य
कोभिड–१९ को दोस्रो लहरका बेला नेपाल गम्भीर संकटमा थियो । अस्पतालमा बेड, अक्सिजन र उपकरणको अभाव थियो । स्वास्थ्यकर्मीहरू समेत संक्रमित भई ज्यान गुमाइरहेका थिए । यस कठिन समयमा फाउन्डेशनले बोधिसत्व विहार र नेपाल तामाङ चिकित्सक संघको सहयोगमा राहत कार्य सुरु गर्यो । आफूलाई समाजसेवामै समर्पित डाक्टर दिलबहादुर थोकरसँग यसपटक हामीले विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ उहाँसँग ज्ञानमणि नेपाल कालाेटाेपीले गर्नुभएको कुराकानीको सम्पादित अंशः

कान्छीमाया तामाङ फाउण्डेशनको जन्म कसरी भयो ?

यसमा मेरो एउटा दुःखद् घटना छ सर । ०७२ सालमा मेरो आमा कान्छीमाया तामाङको मोटरसाइकलले ठक्कर दिँदा निधन भयो । म त्यतिबेला डाक्टर पढ्न चीन गएको थिएँ । म डाक्टर भएको त उहाँले देख्नुभएन । स्वर्गको कुनै कुनामा उहाँ अहिले हुनुहुन्छ भने मलाई आफ्नो छोरा डाक्टर भएको छ भनेर देखिरहनु भएको होला । उहाँलाई त बचाउन सकिनँ मैले । तर मेरो आमा जस्तै हजारौं आमालाई बचाउन सकियोस् भनेर मैले उहाँकै नाममा फाउण्डेशन खोलेर काम शुरु गरेको हो ।

तपाईं र तपाईंले नेतृत्व गरेको संस्थाको लोकप्रियता दैनिकरुपमा बढेको छ नि, किन होला ?

खासमा यसको जस म सर्वसाधारणलाई नै दिन्छु । मैले संस्थामार्फत समाजसेवाका कामलाई प्राथमिकता दिएको छु । जहाँका नागरिकलाई स्वास्थ्य सेवा चाहिन्छ, त्यहाँ स्वास्थ्य शिविर संचालन गराएर बिरामीलाई राहत हुने काम गरिरहेको छु । आर्थिक अवस्था कमजोर भएका नानीबाबुहरुलाई पढ्न लेख्नका लागि सकेको शैक्षिक सामाग्रीहरु प्रदान गर्ने काममा संस्था सक्रिय छ । त्यसैले होला, सबैले माया गर्नुहुन्छ ।

अरुले दिएको सहयोगबाट संस्थाको नाम प्रचार गरेको भन्ने केही व्यक्तिहरुले आरोप पनि लगाइरहेका छन् नि, के भन्नु हुन्छ ?

भन्नेहरुले जे पनि भन्छन् । यथार्थ के हो बुझ्नका लागि मसँग सोध्न सकिन्छ । मैले आफूले सकेको सहयोग गरेको हो । यसका लागि आर्थिक पक्ष पनि जोडिन्छ । दाताहरुले तपाईंको कामप्रति खुशी छौं भन्दै सहयोग दिनुहुन्छ । मैले त्यो सहयोग सबै नागरिकका लागि खर्च गरेको छु । मैले आफ्नो लागि कुनै खर्च छुट्याएको छैन । अब आरोप लगाउनेहरुका लागि मेरो भन्नु केही छैन ।

अबको लक्ष्य के छ त ?

हामीले विगतमा जति समाजसेवाका काम गर्यौं, ती कामलाई निरन्तरता दिनेछौं । ५ वटा जिल्लामा काम शुरु गर्ने सोच अघि बढाएका छौं । यसका लागि काभ्रे, रामेछाप, नुवाकोट, धादिङ र सिन्धुपाल्चोकमा संस्थाका सम्पर्क कार्यालय खोल्ने र त्यहाँ अस्पतालहरु खोलेर काम गर्ने सोच लिएका छौं ।

तपाईंले दाताहरु चाहिँ कसरी खोज्नुहुन्छ नि ?

मेरो कामलाई विश्वास गर्छन् । मैले आर्थिक मामिलामा तलमाथि गर्दिनँ । लक्षित वर्गसम्म कामहरु पुर्याउँछु । हामीहरुले समन्वय गर्ने गरेका छौं । खासमा मैले केही पाउँछु भनेर काम गर्नु भन्दा पनि अरुको सेवा गर्दै जाँदा एक दिन सफलता पाइन्छ भन्ने उद्देश्य हो । दाताहरुका लागि यसले निकै ऊर्जा मिल्ने रहेछ । मैले मागेर दिनुस् अहिलेसम्म कसैलाई भनेको छैन । उनीहरु नै हामी सहयोग गर्छौं भनेर आउँछन् । त्यसैले त काम गर्न सहज भएको छ नि ।

संस्थाले धेरैजसो व्यक्तिहरुलाई सहयोग बाँड्दै गरेको छ, उनीहरुलाई आत्मनिर्भर बनाउन पनि संस्थाले केही गर्दैछ कि ?

खासमा हामीले यसअघि धेरै सहयोग र राहात सामाग्री वितरण गर्यौं, तर अब हामी उनीहरुलाई सहयोग दिनेभन्दा पनि उनीहरुलाई काम सिकाउने रणनीति तय गर्दैछौं । मान्छेलाई दिएर कहिल्यै पुग्दैन । तर ऊ आफ्नो खुट्टामा टेक्न सक्ने भयो भने उसले हामीलाई सधैं सम्झन्छ नि ।

सफलताको कामना, कुराकानीका लागि समय दिनुभयो, धन्यवाद ।

मेरो र संस्थाका बारेमा जानकारी दिने अवसर दिनु भएकोमा तपाईं र तपाईंको संचार माध्यमलाई पनि धेरै धेरै धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *