काभ्रे । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा शुक्रबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगामा संचालित ३१औं अन्तर विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता २०८२ सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले विजयी खेलाडी, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा टिमलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र एवम् म्याच रेफ्री र अफिसियलहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले यस किसिमको खेलकुद प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो सीप प्रदर्शन गर्न र आत्मविश्वास विकास गर्न सहयोग पु¥याउने चर्चा गर्नुभयो । दैनिक शैक्षिक गतिविधिका साथसाथै खेल मार्फत जीवनका अमूल्य पाठहरू सिक्न महत्वपूर्ण मञ्च प्रदान गर्नुका साथै नवप्रतिभाहरूको पहिचान तथा खेलकुदको प्रवद्र्धन गर्न समेत यस्ता प्रतियोगिताहरू महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।

विद्यालय व्यक्तित्व विकासको आधारशिला भएको चर्चा गर्दै विद्यार्थीहरूको रचनात्मक तथा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न विद्यालयले विभिन्न सिर्जनशील र रचनात्मक कार्यहरू संचालन गरी विद्यार्थीहरूको समग्र बौद्धिक एवम् व्यक्तित्व विकासमा सहयोग पुग्ने शैक्षिक वातावरण निर्माण गर्न विद्यालय परिवार सदैव क्रियाशील हुन उहाँले आग्रह गर्नुभयो ।

शुक्रबार भएको फाइनल खेलमा नेपाल पुलिस स्कुल साँगा रातोले सैनिक आवासीय महाविद्यालय भक्तपुरलाई १–० गोल अन्तरले पराजित गरेको छ । प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगा रातो प्रथम, सैनिक आवासीय महाविद्यालय भक्तपुर द्वितीय र पिस पोइन्ट स्कुल बानेश्वर तृतीय भएका छन् । प्रतियोगितामा प्रथम हुने टिमले ६० हजार, द्वितीय हुने टिमले ४० हजार र तृतीय हुने टिमले २० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रहरी अतिरिक्त महानिरीक्षक हिमालयकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रममा नेपाल पुलिस स्कुल साँगाका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य तथा प्रतियोगितासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै नेपाल पुलिस स्कुल साँगाका विद्यार्थीहरूद्वारा नृत्य तथा नेपाल प्रहरी संगीत विद्यालयद्वारा ब्यान्ड डिस्प्लेसमेत गरिएको थियो ।

मंसिर १७ गतेदेखि शुरू भएको उक्त प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका रातो र निलो टिम, नेपाल पुलिस स्कुल धरान, चितवन र सामाखुसी, सैनिक आवासीय महाविद्यालय, सशस्त्र प्रहरी विद्यालयलगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १४ विद्यालयका १५ टिमको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, शिक्षक, विद्यार्थी तथा अभिभावकहरू, स्थानीय बासिन्दाहरू, सञ्चारकर्मीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *