धुलिखेल । काठमाडौँ विश्वविद्यालय कम्प्युटर क्लबको आयोजनामा ‘केयु आईटी मीट २०२५’ भएको छ । प्रविधि, नवप्रवर्तन र विद्यार्थी र उद्योगबीचको सहकार्यलाई प्राथमिकतामा राख्दै केयु कम्प्युटर क्लबको वार्षिक प्रमुख कार्यक्रम अनुसार ‘केयु आईटी मीट २०२५’ आयोजना गरिएको हो ।
काठमाडौँ विश्वविद्यालय कम्प्युटर क्लब (केयुसीसी), इन्जिनियरिङ स्कूल, कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ विभागले डिसेम्बर २६, २०२५ मा काठमाडौं विश्वविद्यालयमा नेपालभरका प्रविधि उत्साहीहरूलाई एकै ठाउँमा ल्याउँदै आइटी मिट २०२५ आयोजना गरेको हो ।
राष्ट्रियस्तरको वार्षिक कार्यक्रमले सूचना र प्रविधिमा हालैका उपलब्धिहरू मनाउँदै सिकाइ, नवप्रवर्तन र सहकार्यको लागि समावेशी र जीवन्त प्लेटफर्म सिर्जना गर्दैछ । बलियो सामुदायिक आयाम थप्दै, काभ्रे जिल्लाभरिका विभिन्न विद्यालयका विद्यार्थीहरूले कार्यशाला, प्रतियोगिता र अन्तरक्रियात्मक सत्रहरूमा संलग्न हुँदै यस कार्यक्रममा सक्रियरूपमा भाग लिएका छन् । उनीहरूको संलग्नताले क्याम्पसभन्दा बाहिर सिकाइ विस्तार गर्ने र तल्लो तहमा युवा दिमागलाई हुर्काउने काठमाडौँ विश्वविद्यालयको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ ।
आईटी मिट २०२५ जारी रहँदा, यसले “क्याम्पसबाट समुदायमा” ज्ञान र सीपहरू लिएर राष्ट्रको सेवा गर्ने काठमाडौं विश्वविद्यालयको दृष्टिकोणलाई मूर्त रूप दिन्छ, सहभागीहरूलाई प्राविधिक एक्सपोजर मात्र नभई आत्मविश्वास, रचनात्मकता र समाजको डिजिटल भविष्यमा योगदान गर्न प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ ।
डिसेम्बर २६ अर्थात पुस ११ गते काठमाडौँ विश्वविद्यालयको कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागद्वारा कार्यक्रमको आयोजना गरिएको हो । क्लबको मुख्य उद्देश्य सैद्धान्तक ज्ञान र उद्योगको व्यवहारिक अभ्यासबीचको दूरी कम गर्नु हो । यस वर्ष आयोजना भएको आईटी मीटले विद्यालय तहका विद्यार्थीदेखि सूचना प्रविधि उद्योगका विज्ञसम्मलाई एउटै प्लेटफर्ममा ल्याउने लक्ष्य लिएको आयोजक कम्प्युटर क्लबका भाइस प्रिन्सिपल किरण दाहालले जानकारी दिनुभयो । गत वर्ष आयोजना गरिएको आईटी मीटको अनुभवका आधारमा यो वर्ष थप सशक्तरुपमा संचालन गरिने योजना बनाइएको उहाँले बताउनुभयो ।
विगत २५ वर्षभन्दा बढीको इतिहास बोकेको काठमाडौँ विश्वविद्यालय कम्प्युटर क्लब सन् १९९७ मा स्थापना भएको हो । यो नेपालमा सूचना प्रविधि, शिक्षा र सीप विकासका क्षेत्रमा अग्रणी विद्यार्थी सञ्चालित संस्था हो । ‘आईटी मीट २०२५’ प्रविधि र नवप्रवर्तनको एक ठूलो उत्सव हो । यस वर्ष “Connect, Compute, Create” भन्ने नाराका साथ आयोजना भएको यस मेलामा १५ भन्दा बढी विभिन्न कार्यक्रमहरू समावेश गरिएका छन् । जसमा मुख्य कार्यक्रम पूर्वका गतिविधिहरू (Pre–events), प्रदर्शनी र पोस्ट–इभेन्टहरू रहेका छन् । यस कार्यक्रमले विद्यालयका विद्यार्थीदेखि उद्योगका विज्ञहरूसम्मलाई एकै ठाउँमा ल्याएर सिक्ने र सञ्जाल बनाउने अवसर प्रदान गर्दछ ।
गत वर्ष Refresh, Reimagine and Innovate lyd मा आयोजना भएको केयु आईटी मीट २०२४ मा १० हजारभन्दा बढी प्रत्यक्ष आगन्तुक सहभागी भएका थिए । गत वर्ष अनलाइन माध्यमबाट १५ लाखभन्दा बढी इम्प्रेसन र ९ लाखभन्दा बढी अवलोकन गरिएको थियो । नेपालभरका २० भन्दा बढी कलेजहरूको प्रत्यक्ष सहभागिता रहेको उक्त संस्करणमा ४ सय ५० भन्दा बढी आवेदकहरू सहभागी थिए । नेपालकै सबैभन्दा ठूलो इन–पर्सन ह्याकाथन पनि सम्पन्न भएको थियो । जहाँ ४४ वटा परियोजनाहरू प्रस्तुत गरिएका थिए ।
