सिन्धुपाल्चोक । ऐंसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव भव्यरूपमा सम्पन्न भएको छ । कार्यक्रम इन्द्रावती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष शशीनाथ आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि आचार्यले विद्यार्थीहरूको रुचि र चाहनाअनुसार विषयवस्तु चयन गरी अध्ययन–अध्यापन गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले “एउटा विद्यालयले कम्तीमा एउटा विषयमा विद्यार्थीलाई दक्ष बनाउने उद्देश्यका साथ शैक्षिक प्रणाली अघि बढाउनुपर्छ,” भन्दै विद्यालयमा सञ्चालनरत प्राविधिक धारको अध्यापनलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो ।
शिक्षा नै समग्र विकासको मेरुदण्ड भएको उल्लेख गर्दै उहाँले शिक्षा प्राप्तिमा कोही पनि पछि पर्न नहुने बताउनुभयो । साथै विद्यालयमा विद्यार्थी सङ्ख्या वर्षेनी घट्दै गएको विषयमा चिन्ता व्यक्त गर्दै यसको कारण पहिचान गरी समाधानका लागि स्थानीय सरकार तथा सम्बन्धित निकाय चनाखो हुनुपर्ने धारणा राख्नुभयो ।
नजिकिँदै गरेको एसइई परीक्षालाई लक्षित गर्दै उहाँले विद्यार्थीहरूलाई मिहेनतका साथ अध्ययन गरी उत्कृष्ट नतिजा हासिल गर्न आग्रह गर्नुभयो । यस विद्यालयबाट अध्ययन गरेका विद्यार्थीहरू विभिन्न विशिष्ट स्थानमा पुगेको उल्लेख गर्दै उहाँले अझ उच्च तहमा पुग्ने क्षमता विकासका लागि निरन्तर परिश्रम गर्न सुझाव दिनुभयो । वडाको शैक्षिक विकासका लागि वडा कार्यालय र गाउँपालिका सधैं विद्यालयसँग सहकार्यमा रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष मीना मैयाँ थापाले आफ्नो जिम्मेवारीको दौरानमा सक्दो योगदान दिएको उल्लेख गर्दै बोलेर होइन, काम गरेर देखाउनुपर्ने धारणा राख्नुभयो । आफ्नो क्षमताले भ्याएसम्म जिम्मेवारी कुशलतापूर्वक नेतृत्व बहन गरेको बताउँदै पुनः अभिभावकको माया र सद्भाव प्राप्त भएमा विद्यालयको विकाशमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
नमोबुद्ध आधारभूत विद्यालयका प्रधानाध्यापक मीना पाण्डेले गुणस्तरीय शिक्षाका लागि अभिभावक र शिक्षकबीच एकजुटता आवश्यक रहेको बताउँदै चुनौती चिर्दै अघि बढ्न सबै जुट्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको समापन गर्दै विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य तथा कार्यक्रमका सभापति रामप्रसाद गौतमले आगामी विद्यालय व्यवस्थापन समितिको नेतृत्व सक्षम, सक्रिय र काम गर्ने हुटहुटी बोकेको हुनुपर्ने बताउनुभयो ।
वार्षिकोत्सवको अवसरमा हरेक कक्षामा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण भएका विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो भने अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरूलाई मेडलसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुरेशकृष्ण श्रेष्ठले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै घट्दो विद्यार्थी संख्या, अभिभावकको चासोको अवस्था, भौतिक तथा शैक्षिक प्रगति र भावी योजनाबारे जानकारी गराउनुभयो । हाल विद्यालयमा इसिडीदेखि कक्षा १२ सम्म ३२४ जना विद्यार्थी अध्ययनरत रहेको उहाँले जानकारी दिनुभयो ।
