सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । नगरप्रमुख आइतमान तामाङले बिहीबार पानसमा वत्ती बालेर यसको उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख तामाङले अनुशासन नै खेलको गहना भएको उल्लेख गर्दै खेलाडीहरू अनुशासित, मिहेनती र मर्यादित हुनुपर्नेमा जोड दिनुभयो ।
नगरप्रमुख तामाङले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता केवल प्रतिस्पर्धा मात्र नभई भविष्यका उत्कृष्ट खेलाडी उत्पादन गर्ने महत्वपूर्ण माध्यम भएको बताउनु भयो । उहाँले यस प्रतियोगितामा सहभागी खेलाडीहरूमध्येबाट नै आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा देशको नाम उजागर गर्ने खेलाडी उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रम संयोजक दिनेश बस्नेतको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा सामाजिक विकास समितिका संयोजक तथा वडाअध्यक्ष अमृत खनालले स्वागत मन्तव्य राख्नुभएको थियो। उद्घाटन समारोहमा मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, निवर्तमान जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङ, निवर्तमान नगरप्रमुख तथा उपप्रमुख, विभिन्न वडाका वडाअध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघ संस्थाका प्रतिनिधि, स्थानीय नागरिक र विभिन्न विद्यालयका विद्यार्थी खेलाडीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
प्रतियोगितामा मेलम्ची नगरपालिकाभित्रका २४ वटा विद्यालयहरूको विद्यार्थी र खेलाडीहरुको सहभागिता रहेको थियो । तीन दिनसम्म सञ्चालन भएको यस प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउने, अनुशासन र नेतृत्व विकासमा टेवा पु¥याउने तथा स्थानीयस्तरमै प्रतिभा पहिचान गर्ने अपेक्षा गरिएको छ ।
