बनेपा । काभ्रे जिल्ला डजबल संघको प्रथम अधिवेशन तथा साधारण सभा मंगलबार बनेपामा सम्पन्न भएको छ ।
बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता तथा जिल्ला खेलकूद संघ काभ्रेका अध्यक्ष मानवीर वाइवाको विशेष आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा उपस्थितहरुलाई वागमती प्रदेश डजबल संघका अध्यक्ष महेन्द्र विष्टले स्वागत गर्दै सबै विद्यालयका विद्यार्थीहरुलाई फूटबल र भलिबल जस्तै डजबलको महत्वबारे सिकाउन जरुरी रहेको बताउनुभयो । उहाँले आफूले केही महिनाको समयमै जिल्लाका दर्जन बढी विद्यालयमा यसको बारेमा जानकारी दिइसकिएको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल तेक्वाण्डो उपाध्यक्ष तथा रेफ्रि प्रमुख राजमन्दिर श्रेष्ठले अन्तर्राष्ट्रियस्तरमा निकै लोकप्रिय खेल डजबललाई प्रत्येक विद्यालयमा विकसित गराउँदै लैजानुपर्नेमा जोड दिनुभयो । प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेलले शुरुमा डजबल के हो भनेर थाहै नभएको सन्दर्भ स्मरण गर्दै यसको विकासका लागि आफ्नो तर्फबाट जुनसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।
यस्तै जिल्ला बचत संघ काभ्रेका सचिव राजन अधिकारीले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो । विशेष अतिथी जिल्ला खेलकूद संघ काभ्रेका अध्यक्ष मानवीर वाइवाले खेलकूदको ठूलो महत्व रहेको र नेपालमा भर्खरै विकासको क्रममा रहेको डजबलको महत्वबारे सबैलाई बुझाउनु पर्ने बताउनुभयो । उहाँले यसमा आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अधिवेशनले रामचन्द्र देउजाको अध्यक्षतामा नयाँ कार्यसमिति पनि चयन गरेको छ । समितिको उपाध्यक्षमा पृतम गङगाई, उपाध्यक्ष सुविन मानन्धर, उपाध्यक्ष उत्तम सापकोटा तथा सचिव ओमकृष्ण श्रेष्ठ चयन हुनु भएको छ । यस्तै कोषाध्यक्षमा विजय मुस्याजु, सहसचिव साजन घिमिरे, सहकोषाध्यक्ष खेम थापा तथा सदस्यहरुमा दिपेन्द्र बिष्ट, मदन ढुङ्गाना, मिलन आचार्य, स्वेजल श्रेष्ठ, नेत्र बडाल, जनक तामाङ र दिपा बिष्ट हुनुहुन्छ । कार्यक्रम रामचन्द्र देउजाको सभापतित्वमा सम्पन्न भएको थियो ।
