सिन्धुपाल्चोक। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा जिल्लाका विभिन्न विद्यालयमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार ८५ विद्यार्थी लाभान्वित भएका छन् ।
बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको यस आर्थिक बर्षमा संचालित नमुना कार्यक्रम अन्तर्गत विद्यालयस्तरमा बालबालिकाहरुको श्रवण, दृष्टि (चस्मा समेत), दन्त परीक्षण, छाला उपचार र रक्त समूह पहिचान र बाथ रोग ÷मुटु रोग (च्ज्म्) स्क्रीनिङ सम्बन्धि निःशुल्क शिविर गत पुष १३ गते जुगल गाउँपालिका स्थित रत्नराज्य माध्यमिक विद्यालय भएको थियो ।
त्यस्तै पुष १४ गते भिमसेन माध्यमिक विद्यालय, पुष २८ गते लिसंखुपाखर गाउँपालिकाको ककलिङ हरिसिद्धि माध्यमिक विद्यालय, पुष २९ गते बलेफी गाउँपालिकास्थित वनसाँघु माध्यमिक विद्यालय र पौष ३० गते इन्द्रावती गाउँपालिकास्थित ऐँसेलुखर्क माध्यमिक विद्यालयमा सम्पन्न भएको हो ।
रत्नराज्य माविमा छात्र १७५ र छात्रा १४५, भिमसेन माविमा छात्र ९९ र छात्रा १०३, ककलिङ हरिसिद्धि माविमा छात्र ४८ र छात्रा ५२ वनसाँघु माविमा छात्र ७३, छात्रा ६८ र ऐंसेलुखर्क माविमा छात्र १३२ र छात्रा १९४ जना गरि १ हजार ८५ विद्यार्थी र १५० स्थानीयको शिविरमा जाँच तथा उपचार गरिएको जनस्वास्थ्य कार्यालयकी स्टाफ नर्स प्रकृति केसीले जानकारी दिनुभयो ।
बालबालिकाहरुको श्रवण, दृष्टि तथा दन्त परीक्षण र उपचार व्यवस्थापन गर्ने तथा बालबालिकाहरुमा भविष्यमा हुन सक्ने बाथ रोग मुटु रोगको स्क्रिनिङ गर्ने र समयमै पहिचान गरि व्यवस्थापन गर्ने उद्देश्यले विशेषज्ञ डाक्टरको सहभागीतामा शिविर आयोजना गरिएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईंले जानकारी दिनुभयो ।
दृष्टि परिक्षण पश्चात चस्मा आवश्यक पर्ने बालबालिकालाई चस्मा उपलब्ध गराइएको थियो भने स्क्रिनिङ पश्चात थप उपचार आवश्यक परेमा निःशुल्क उपचार व्यवस्थापनका लागि प्रादेशिक अस्पतालमा प्रेषण गरिने बजगाईंले बताउनुभयो । शिविरमा सम्बन्धित पालिकाको समन्वय र विशेषज्ञसहितको चिकित्सक टोलीले सेवा प्रदान गरेको थियो ।
