धुलिखेल । यतिबेला देशभर चुनावी रौनक छाएको छ । कसले जित्ला, कति भोट ल्याउला भन्ने आँकलन बढ्दो छ । यसैबीचमा हामीले यो पटक काभ्रे क्षेत्रनम्बर २ बाट राप्रपाका तर्फबाट उम्मेदवार बन्नु भएका रञ्जिब श्रेष्ठसँग चुनाव केन्द्रीत कुराकानी गरेका छौँ । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानीको सम्पादित अंशः

चुनाव आउन लागेको छ, कस्तो छ नागरिक को अपेक्षा के पाउनु भयो हजुरले ?

चुनाव नजिकिँदै गर्दा नागरिकका अपेक्षा सुशासन, इमानदार नेतृत्व, रोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा केन्द्रित छन् । जनताले विकास र स्थायित्व चाहेका छन् । भ्रष्टाचार, बेरोजगारी र मूल्यवृद्धि अझै समाधान हुन सकेका छैन भनेर कराउँछन् । त्यसैले नागरिकको मनस्थिती आशा र निराशाको बीचमा छ, र यो चुनावले वास्तविक परिवर्तन ल्याओस् भन्ने चाहना बलियो छ ।

तर भोट हाल्न पुरानै पारा देखाए भने त्यो त सम्भव नहोला नि ?

त्यही पुरानो पाराले भोट हाल्यो भने त्यो सम्भव छैन । जबसम्म जनता ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर परिवर्तनका अगाडी बढदैन, त्यहि कथा र अनि त्यहि ब्यथा दोहोरीरहन्छ । हाम्रो राजनितिले जनताको सोच्न सक्ने क्षमता धेरै हदसम्म कमजोर बनाएको छ । जनताको सोच्ने र प्रश्न गर्ने क्षमता खोसेको छ । यही सबैभन्दा ठूलो समस्या हो । अनुहार नयाँ होइन, बिचार पुरानो भएपनि केही हुनेवाला छैन । विकास ढिला हुन सक्छ, तर बौद्धिक विकास नहुनु घातक हुन्छ । चेतना बिना हामी स्वतन्त्र भएर पनि गुलाम बन्छौँ । भोट जनताको शक्ति हो । नेपाल त्यो दिन जित्छ, जुन दिन सचेत भोटर जन्मिन्छन् । त्यसका लागि हाम्रो शिक्षा बलियो, व्यवहारिक र चेतनामूलक हुनुपर्छ ।

काभ्रे–२ मा २४ जना उम्मेदवार चुनावी मैदानमा छन्, आफ्नो स्थान कतिको सुरक्षित मान्नु भएको छ ?

म यसलाई प्रतिस्पर्धा भन्दा पनि जनमतको कसीमा हेर्छु। आफ्नो स्थान सुरक्षित छ कि छैन भन्ने फैसला जनताले मतदानमार्फत गर्नुहुन्छ। राप्रपाले उठाएका एजेन्डा, मेरो विगतको भूमिका, नैतिक आचरण र काभ्रे–२ का जनतासँगको निरन्तर सम्बन्धप्रति म विश्वस्त छु। अन्तिम निर्णय जनताको विवेकमै भर पर्छ ।

चुनावी नतिजा त जनताकै हातमा छ तर जनताका अपेक्षा, समस्या र गुनासा त धेरै नै छन् । कसरी पूरा गर्ने सोचमा हुनुहुन्छ ? यदि भोलि चुनावमा जित होला नहोला, जे भए पनि नागरिक त यहिँ छन् नि ।

म राजनीतिलाई पदको लागि होइन, जनताको सेवाको माध्यम ठान्छु। भोलि जितेँ भने प्राथमिकतामा राखेर समस्याको समाधान गर्नेछु । यदि जितिनँ भने पनि जनताको आवाज र माग सधैं साथमा राख्नेछु। मेरो बिचारमा नेताले विकास र सहि बिचार दुबै जनतालाई दिनुपर्छ । जिते दुबै गरुँला, नजिते कम्तीमा सहि बिचार त दिन सकिन्छ, जुन मैले गरिराखेको छु ।

कुराकानीका लागि समय दिनुभयो धन्यवाद ।

मलाइ पनि आफ्ना कुरा नागरिकसामू पुर्याउने मौका दिनुभयो । तपाईंलाई पनि धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *