ज्ञानमणि नेपाल कालोटोपी
प्रदीप केसी बञ्जारा ।

पनौती । काभ्रे इङ्गलिस मावि पनौतीमा पुग्दा कक्षा ९ का विद्यार्थी अखिल तामाङ्ग चित्र कोरिरहेका थिए । उनले विभिन्न प्राकृतिक दृष्यहरु देखिने गरि वनजंगल र हिमालहरुको दृष्य कोरिरहँदा अन्य उपस्थितहरु भने उत्सुकतापूर्वक अवलोकन गरिरहेका थिए । उनी ५ कक्षा हुँदादेखि नै चित्रकलामा रुची राख्थे । भन्छन्, ‘यो मेरो रुचीको विषय भएकाले म चित्र नकोरि बस्नै सक्दिनँ ।’ यसमा विद्यालय र शिक्षकहरुबाट राम्रो सहयोग मिलेको उनले बताए ।

यस्तै कक्षा ९ कै अमिरा तामाङ्गले बनाएका हस्तकलाका सामानहरु पनि निकै आकर्षक देखिन्थे । ऊनको धागोबाट मोजा, खेलौना, स्काफ, फूलहरु लगायत बनाएर उनको टिमले पनि स्टल राखेको थियो । उता कक्षा ५ कि विद्यार्थी दिलासा अधिकारीले गाएको धोकेबाज हौ तिमी बोलको गितले भने विद्यालयको परिसर नै गुञ्जायमान भइरहेको थियो । कक्षा ९ का परिधी तिमल्सिना, करिना गुरुङ्ग र सुस्मा केसीले भने पहिले र अहिलेको गाउँबस्ती तथा आधुनिक शहरको परिकल्पना गरेर बनाएका विभिन्न वस्तुहरुका नमुना आकृतिहरु पनि कम आकर्षक थिएनन् ।

कक्षा ७ का विद्यार्थीहरुले निर्माण गरेको पेरिसकोपको नमुना त झन बयान गर्न योग्य नै थियो । उता अरु कक्षाका विद्यार्थीहरुले भने विभिन्न खानाका परिकारहरु पकाइरहेका थिए भने कतै खेल त कतै सामान्य ज्ञानका विभिन्न स्टलहरुले विद्यालयको आँगन नै भरिएको थियो ।

काभ्रेको पनौती नगरपालिका वडा नम्बर ४ मा रहेको काभ्रे माविले सोमबार काभ्रे शैक्षिक महोत्सव २०८२ को आयोजना गरेको थियो । सोही कार्यक्रममा पुग्दा देखिएका थिए उल्लेखित पात्रहरु । यस विद्यालयले हरेक वर्ष यस्तै कार्यक्रमको आयोजना गर्ने गरेको छ । विद्यार्थीहरुले विद्यालयमा सिकेका कुराहरुलाई व्यवहारमा उतारेर व्यवहारिक बनाउने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गर्ने गरिएको विद्यालयका प्रिन्सिपल वसन्त नेपालले बताए । विद्यार्थीहरुलाई किताबी ज्ञानका अतिरिक्त व्यवहारिक ज्ञान पनि दिनुपर्छ भन्ने मान्यता बोकेको विद्यालयले आयोजना गरेको सो कार्यक्रममा सोमबार कक्षा २ देखि १० सम्मका विद्यार्थीहरुले भाग लिएका थिए । मंगलबार प्लेग्रुपदेखि कक्षा १ सम्मका विद्यार्थी सहभागी भए ।

यस्ता कार्यक्रमहरुले विद्यार्थीको व्यवहारिक ज्ञानलाई थप अभिबृद्धि गर्ने विद्यालयको अपेक्षा छ । काभ्रे शिक्षा विज्ञान प्रतिष्ठानद्वारा संचालित यस विद्यालयले विद्यार्थीहरुको सर्वाङ्गिण व्यक्तित्व विकास तथा सृजनात्मक क्षमताको अभिबृद्धिका लागि सैद्धान्तिक ज्ञानलाई व्यवहारसँग अनि पाठ्यपुस्तकलाई जीवन र समाजसँग जोड्ने उद्देश्यले यस्तो कार्यक्रम गर्दै आइरहेको प्रिन्सिपल नेपालको भनाइ छ । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु संचालन गरिने उनको भनाइ छ ।

यस्ता कार्यक्रमहरुमा विद्यार्थीहरुले धक नमानी आफूले सिकेका सीपहरु प्रदर्शन गरेका थिए । कार्यक्रममा गायन तथा ब्याण्ड प्रतियोगिता, विभागिय प्रदर्शनीहरु, चित्रकला तथा हस्तलेखन प्रदर्शनी, पाककला प्रदर्शनीलगायतमा विद्यार्थीहरुले सहभागिता जनाएका थिए । जसमा विद्यालयका करिब ८०० विद्यार्थीहरुले विभिन्न प्रदर्शनीहरुमा भाग लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *