सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा पोषणमैत्री स्वास्थ्य संस्था तथा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा सभा सम्पन्न भएको छ । कार्यक्रमले सुरक्षित मातृत्व, नवजात शिशुको स्वास्थ्य संरक्षण तथा समग्र पोषण सुधारमा स्थानीय तहको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ ।

वडा नं. ७ का वडा अध्यक्ष ईश्वर तिमिल्सिनाले अध्यक्षता गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना रहनु भएको थियो । त्यसैगरी विशेष अतिथिका रूपमा गाउँपालिका उपाध्यक्ष कान्छी लामा, तथा विशेष अतिथिका रूपमा प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र चौधरीको उपस्थिती रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले पोषणमैत्री स्वास्थ्य सेवा विस्तार, सुरक्षित तथा संस्थागत सुत्केरीको सुनिश्चितता, मातृ तथा शिशु मृत्युदर न्यूनीकरण, पोषण सुधार तथा जनचेतना अभिवृद्धिका विषयमा महत्वपूर्ण धारणा व्यक्त गर्नुभएको थियो ।

साथै स्थानीयस्तरमा स्वास्थ्य सेवाको पहुँच र गुणस्तर अभिवृद्धि गर्न सबै सरोकारवालाहरूको सक्रिय सहकार्य अपरिहार्य रहेकोमा जोड दिइएको थियो । कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईं, गाउँपालिका तथा वडाका जनप्रतिनिधिहरू, कर्मचारीहरू, सरोकारवाला संघ–संस्थाका प्रतिनिधिहरू, स्वास्थ्यकर्मीहरू तथा स्थानीय जनसमुदायको उल्लेखनीय तथा उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रमले समुदायमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै पोषणमैत्री अभ्यासलाई दिगोरूपमा अघि बढाउन प्रेरणा प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *