सिन्धुपाल्चोक । एक जिल्ला, एक स्वस्थ शहर कार्यक्रम अन्तर्गत मेलम्ची नगरपालिका स्तरीय समिति बैठक तथा अभिमुखीकरण कार्यक्रम शुक्रबार मेलम्ची नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । नगर प्रमुख आइतमान तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

बागमती प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय तथा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना र नगरपालिकासँगको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले स्वस्थ शहर निर्माणलाई प्रदेश सरकारको प्राथमिक कार्यक्रमको रूपमा अघि बढाइएको बताउनुभयो । मन्त्री थापाले आगामी दिनमा प्रदेश सरकारले स्वास्थ्यमैत्री नीति, पूर्वाधार विकास, सरसफाइ अभियान, सुरक्षित खानेपानी तथा जनचेतनामूलक कार्यक्रमहरूलाई थप सुदृढ बनाउँदै लैजाने बताउनुभयो । उहाँले स्थानीय तहहरूसँग सहकार्य गर्दै दीर्घकालीन रूपमा …स्वस्थ बागमती प्रदेशÚ निर्माण गर्ने लक्ष्य रहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा उहाँले यसअघि काभ्रेको धुलिखेल नगरपालिका स्वस्थ शहरका रुपमा घोषणा भइसकेको र आगामी दिनमा मेलम्ची नगरपालिकासँगै चन्द्रागिरी नगरपालिका र हेटौडा उपमहानगरपालिकालाई समेत …स्वस्थ शहरÚ घोषणा गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

कार्यक्रमका अध्यक्ष तथा नगर प्रमुख आइतमान तामाङले मेलम्चीलाई स्वस्थ शहरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले स्वास्थ्यलाई प्राथमिकतामा राखेर नगरपालिकाले नीति, कार्यक्रम र बजेट निर्माण गरिरहेको भन्दै अब यसलाई व्यवहारमा प्रभावकारीरूपमा कार्यान्वयन गर्ने चरणमा रहेको बताउनुभयो ।

विशेष अतिथि धुलिखेल नगरपालिकाका कार्यवाहक नगरप्रमुख निराजन जंगमले धुलिखेललाई नेपालको पहिलो तथा एसियाको दोस्रो स्वस्थ शहर घोषणा गरिएको अनुभव साझा गर्दै दिगो योजना, समुदायको सहभागिता र स्वच्छ वातावरणको महत्वबारे जानकारी दिनुभयो ।

कार्यक्रममा मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले शुभकामना मन्तव्य राख्दै स्वस्थ र समृद्ध नगर निर्माणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा वक्ताहरूले स्वस्थ शहर निर्माणका लागि सरसफाइ, पोषण, वातावरण संरक्षण, मानसिक स्वास्थ्य तथा सुरक्षित खानेपानी जस्ता विषयमा एकीकृत प्रयास आवश्यक रहेको औंल्याउँदै मेलम्चीलाई स्वस्थ, सफा र व्यवस्थित नगरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विश्व स्वास्थ्य संगठन बागमती प्रदेशका हरि भूषाल, धुलिखेल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दिप के.सी., जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईं तथा मेलम्ची नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परशुराम श्रेष्ठले स्वस्थ शहरका आधार, जिल्लाको वर्तमान स्वास्थ्य अवस्था तथा नगरस्तरको अवस्थाबारे प्रस्तुतीकरण गर्दै स्वस्थ शहर घोषणाको अवधारणा र यसको कार्यान्वयन पक्षका बारेमा विस्तृत जानकारी गराउनुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *