देशभर एक वर्षको अवधिमा सात हजार ६४८ वटा विपद्का घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार, यस अवधिमा आगलागी र डढेलोसँग जोडिएका घटना सबैभन्दा बढी छन् । कुल विपद्का घटनामा सबैभन्दा धेरै आगलागीका घटना हुनुले पनि सावधानीका लागि सरकारी निकायले पनि उत्तिकै चासो र सक्रियता देखाउनुपर्ने आवश्यकता बढेको छ ।

आगलागी र त्यससँग जोडिएका घटना न्यूनीकरणका लागि विशेष सावधानी अनपाउनुपर्ने प्राधिकरणको तथ्यांकले देखाएको छ । ठूलो मात्रामा जनधनको क्षति हुनुका पछाडि सावधानी, जनचेतनाको अभाव तथा वन तथा सुक्खा एवं सुकेको सामग्रीमा आगो लगाउने प्रवृत्ति बढी जिम्मेवार हुने प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका अनुसार, गत वर्ष २०८२ वैशाख १ गतेदेखि गत चैत २७ गतेसम्मको अवधिमा देशभर आगलागीका तीन हजार ७२० वटा घटना भएका छन् । आगलागीमा परेर १०५ जनाको ज्यान गएको छ । त्यस्तै, ५७१ जना घाइते भएका छन् भने चार हजार २६० परिवार प्रभावित भएका छन् ।

सो अवधिमा डढेलोका घटना ३२८ वटा भएका छन् । डढेलोमा परेर दुई जनाको निधन भएको छ भने तीन जना घाइते भएका छन् । ५८ परिवार प्रभावित भएका छन् । प्राधिकरणले आगलागीबाट जोगिन विशेष सावधानी अपनाउने, ज्वलनशील पदार्थ आगोले छुने ठाउँभन्दा पर राख्न, विशेष सचेतना अभियान सञ्चालन गर्न, आगलागी हुन नदिन अन्य उपाय सञ्चालन गर्नसमेत सबैमा अनुरोध गर्दै आएको छ ।

प्राधिकरणका अनुसार, चैत २७ गते बिहानदेखि २८ गते बिहानसम्म देशभर कुल १९ विपद्का घटना हुँदा आगलागीका मात्रै १६ वटा रहेका छन् । सुक्खा मौसममा आगलागीका घटना बढी हुने भएकाले पनि सक्रियताका साथ सावधानी अपनाउन प्राधिकरणले पुनः अनुरोध गरेको छ । वन तथा वातावरण मन्त्रालयले पनि डढेलो तथा आगलागीका घटना नियन्त्रणका लागि आफ्ना निकायलाई परिचालन गरेको छ ।

सरकारले हरेक वर्ष यसरी नै अनुरोध गर्ने, विपद न्युनिकरणका लागि बजेट विनियोजन पनि गर्ने तर यस्ता घटनाहरु भने हरेक दिन बढ्दै जाने गर्दा सरकारका कार्यक्रमले मात्र विपद्का घटना कम हुने होइन भन्ने देखिन्छ । यसमा नागरिक आफैं सचेत हुने, लापरबाही नगर्ने, जनचेतना फैलाउने र स्थानीय तहले पनि यस्ता घटनामा संलग्नको पहिचान गरि कारबाही तथा राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने नीति ल्याउनु पर्छ । अनि मात्र प्राकृतिक र विपद्का घटनाहरु कम गराई हुने क्षति पनि कम गर्न सकिन्छ । यसतर्फ सबैले विशेष ध्यान दिनु आवश्यक छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *