ज्ञानमणि नेपाल कालोटोपी
धुलिखेल, काभ्रे । नेपालमा कृषि बीमा लागू भएको डेढदशक भए पनि यसमा किसानको आकर्षण भने निकै कम भएको तथ्यांक सार्वजनिक भएको छ । बागबानी विकास केन्द्र, हरिहरभवनका बागबानी विकास अधिकृत रितेशकुमार झाले दिनुभएको तथ्यांकअनुसार हालसम्म देशमा कृषि बीमा गर्ने किसानको संख्या ४ प्रतिशत मात्र रहेको छ ।
कृषि गणना २०७८ का अनुसार नेपालमा कृषि पेशामा संलग्नहरुको संख्या ६०.२० प्रतिशत छ । यस्तै पशुपालनमा संलग्नहरुको संख्या ८२ प्रतिशत छ । पशुबीमामा भने किसानको आकर्षण बढेको भए पनि कृषि बीमामा भने उपस्थिती निकै कम भएको उहाँले बताउनुभयो । हाल कृषि तथा पशुपन्छी बीमा कार्यान्वयनमा १४ वटा निर्जीवन बीमा कम्पनीहरुको संलग्नता छ ।
सो कार्यालयको तथ्यांकअनुसार नेपालमा कूल खेतीयोग्य जमिन ३० लाख ९१ हजार हेक्टर छ । जसमध्ये हाल १० लाख ३० हजार हेक्टर जमिन बाँझै छ । औसतमा प्रतिकृषक परिवार चलन भइरहेको जमिन ०.५५ हेक्टर रहेको छ । यो संख्या ०६८ को तथ्यांकमा ०.६८ हेक्टर थियो । हाल किसान परिवारले चलन गरेको जग्गा २२ लाख १८ हजार हेक्टर छ भने सिंचाई सुविधा पुगेको क्षेत्रफल १२ लाख ९ हजार हेक्टर मात्रै रहेको छ । खनजोतका लागि ट्याक्टर प्रयोग २२ प्रतिशत र आफ्नै घरबाट कृषि उत्पादन बेचबिखन गर्ने किसान ८ प्रतिशत मात्रै रहेका कार्यालयको तथ्यांक छ ।
यस्तै आफ्नै उत्पादनले वर्षभरि खान पुग्ने किसानको संख्या ४५ प्रतिशत, कृषि ऋण लिने किसानको संख्या १२ प्रतिशत र कृषि बीमामा संलग्नहरुको संख्या ४ प्रतिशत रहेको झाले जानकारी दिनुभयो । यसरी हेर्दा किसानलाई कृषि बीमा गर्नुपर्छ भन्ने नै थाहा नभएको देखिन्छ । जसले गर्दा प्राकृतिकरुपमा बालीहरुको क्षति धेरै भएपनि क्षतिपूर्ति पाउने किसान नगन्य रहेका उहाँको भनाइ छ ।
अहिले बीमा कार्यलाई सहजता पुर्याउन नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई जिल्ला अनुसार कार्यक्षेत्रसमेत तोकेको छ । हाल कृषि, पशुपन्छी तथा जडिबुटी बीमा निर्देशिका–२०७९ अनुसार बाली बीमा हुने गरेको छ । बाली तथा पशुधनको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधी–२०८२ पनि कार्यान्वयनमा छ तर पनि यस कार्यक्रममा किसानहरुलाई उल्लेख्यरुपमा सहभागी गराउन सकिएको छैन ।
पछिल्ला केही वर्षयता कृषि क्षेत्रमा किसानको आकर्षण निकै घटेको छ । जो संलग्न छन्, उनीहरुमा पनि जाँगर कम छ । यति मात्र होइन, कृषि बीमाका लागि सम्बन्धित कम्पनीहरुमा पनि खासै ध्यान पुगेको छैन । त्यसैले यस कार्यक्रममा किसानहरुलाई जोड्न नसकिएको जिल्ला कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडी बताउनुहुन्छ । उहाँका अनुसार यस कार्यालयले भने बीमाबारे किसानलाई विभिन्न कार्यक्रम र अभिमूखीकरणबाट चेतना जगाउने काम गरिरहेको छ ।
बीमामा आबद्ध नभएकै कारण किसानहरुले सहुलियत कृषि कर्जा पनि पाउन सकेका छैनन् । यस्तो कर्जाका लागि कृषि बीमा अनिवार्य छ । कृषि विकास बैंक, धुलिखेलका कर्जा शाखाका प्रमुख बिनोद रिजालका अनुसार कृषि बीमा गरेका किसानहरुले अधिकतम ६ प्रतिशत ब्याजदरमा १० वर्षसम्मका लागि ५ लाखसम्म ऋण पाउने व्यवस्था छ । तर बीमामा आकर्षण नै कम भएका कारण यस्तो ऋण लिने किसानको संख्या निकै कम छ । यस बैंकले हाल देशभरि ५२ प्रतिशत लगानी कृषि क्षेत्रमा गरेको र काभ्रे शाखाले भने ७२ प्रतिशत कृषिमा लगानी गरेको भए पनि बीमा कार्यक्रममा भने कम किसान मात्र समेटिएका छन् ।
काभ्रेको पनौतीका किसान देवकृष्ण मानन्धरलाई कृषि बीमा के हो र कसरी गरिन्छ भन्ने नै थाहा छैन । आफूले १० रोपनी जग्गामा व्यवसायिकरुपमा तरकारी खेती गरिरहेको बताउने उहाँ बीमा कम्पनीहरु कृषि बीमाका कुरा लिएर अहिलेसम्म आफ्नो ठाउँमा नआएको गुनासो गर्नुहुन्छ । न कुनै स्थानीय तह वा वडामा यसबारे कुरा भएको छ । यस कार्यक्रममा बहुसंख्यक किसानलाई समेट्नका लागि बीमा कम्पनीहरु नै किसानका खेतबारीमा पुगेर जनचेतना जगाउनु पर्नेमा उहाँको जोड छ । उता हिमालयन एभरेष्ट इन्स्योरेन्स, सिन्धुपाल्चोक शाखाका प्रमुख निराजन श्रेष्ठ आफूहरुले सकेसम्म किसानहरुलाई बीमाबारे जानकारी दिलाउन सधैं सक्रिय रहेको बताउनुहुन्छ । बीमाबारे कार्यविधी नै अलि झण्जटिलो भएका कारण आफूहरुले चाहेर पनि धेरैजसो किसानलाई यसमा समेट्न नसकेको र कार्यविधी सरल बनाउँदै संशोधन गर्नुपर्ने उहाँको माग छ ।
गत आर्थिक वर्षमा कृषि विभागमा बाली बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउन सरकारले ४१ करोड विनियोजन गरेको थियो । जसमा १७ करोड ७ लाख भुक्तानी भएको थियो । चालु आर्थिक वर्षमा पनि यस्तो अनुदानका लागि ४० करोड विनियोजन भएको छ ।
आकर्षण किन घट्यो त ?
कृषि बीमा गराउन सके स्वयं किसानले नै फाइदा लिने अवस्था हुँदाहुँदै पनि यसमा किसानको सहभागीता कम देखिनुका थुप्रै कारण रहेको बागवानी विकास केन्द्रले जनाएको छ । कार्यालयका अनुसार बाली बीमाको पहुँच पुर्याउन प्रचारप्रसारको व्यापकता बढाउनु पर्छ । यस्तै बीमा प्रिमियममा अनुदानका लागि प्रदेश तथा स्थानीय तहको अनुगमन र सिफारिसको संस्थागत विकासमा कठिनाइ छ ।
अनलाइनमार्फत बीमालेख जारी गर्ने कार्यमा पनि जटिलता छ । कार्यरत प्राविधिकहरुको बीमासम्बन्धी क्षमता अभिबृद्धिमा कमी भएका कारण पनि यसमा किसानहरु समेटिन सकेका छैनन् । सबै बालीहरुको यथार्थ लागत अनुमान तथा बीमालेख तयार हुन नसक्दा र बीमा शुल्कमा समयानुसार पुनरावलोकन तथा संशोधन हुन नसक्नु लगायत पनि कृषि बीमामा किसानको उपस्थित कम हुनुका मूख्य कारण हुन् । बाली छोटो समयमै भित्रिसक्ने अवस्थामा झण्जटिलो नीतिले गर्दा विभिन्न निकायमा धाउँदाधाउँदै किसान हैरान भइसक्ने अवस्था पनि झन समस्याको रुपमा रहेकाले यी सबै विषयमा ध्यान दिन सके मात्र बहुसंख्यक किसान कृषि बीमामा अटाउने विज्ञहरु बताउँछन् ।

