filter: 0; jpegRotation: 0; fileterIntensity: 0.000000; filterMask: 0; module:1facing:0; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: Night; cct_value: 0; AI_Scene: (-1, -1); aec_lux: 85.0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;

ज्ञानमणि नेपाल कालोटोपी
महाभारत, काभ्रे । काभ्रेपलाञ्चोकको डाँडापारीस्थित महाभारत गाउँपालिका वडा नं. ५ घैयाँडाँडाकी देवीमाया तुम्सिङ मगर आफ्नो पाखोबारीमा मकै रोप्दै हुनुहुन्थ्यो । साथै कफीका बिरुवा रोप्नका लागि खाडल पनि बनाइरहनुभएको थियो । श्रीमानले पनि उहाँलाई सहयोग गरिरहनुभएको थियो ।

त्यति मात्र होइन, पाँच जना ज्यामीहरु पनि लगाइएका थिए । करिब ६ रोपनीको पाखो बारीभरि कफीका विरुवा रोप्ने उहाँको योजना छ । यसका लागि करिब आठ सय वटा खाडल खनिएको मगरले बताउनुभयो ।

अन्य बाली लगाउनुभन्दा कफीबाट धेरै आम्दानी हुने भएपछि आफूहरुले केही वर्षदेखि कफी खेतीलाई प्राथमिकता दिन थालेको बताउँदै उहाँले मकै खेती गर्दा उत्पादनमा कमी हुने र बाँदरले खाएर सखाप पार्न थालेपछि कफी खेतीलाई जोड दिएको बताउनुभयो । उहाँका अनुसार कफीमा बाँदरले दुःख दिँदैन । ५/६ दिन अगाडिदेखि खाल्डो खन्न थालिएको र अझै खन्ने काम बाँकी रहेको उहाँको भनाइ थियो ।

वडा नं. ५ कै भोर्लेनीका किसान हिराबहादुर राना मगरले पनि कफीका बिरुवा रोप्नका लागि यसवर्ष करिब तीन रोपनी क्षेत्रफलमा खाल्डो खनिसक्नुभएको छ । यसअघि रोपिएका बोटले उत्पादन दिन थालेपछि उत्साहित उहाँले थप नयाँ बिरुवा रोप्ने तयारी गर्नुभएको हो । यसअघि काठमाडौंमा व्यवसाय गर्दै आउनु भएका उहाँले विगत दुई वर्षदेखि गाउँमै बसेर कफीखेतीलाई निरन्तरता दिँदै आएको बताउनुभयो । अर्का किसान रामकुमार लुंगेली मगरले पनि यसपटक दुई सय वटाभन्दा बढी खाल्डो खनिसकेको बताउनुभयो । राम्रो गोडमेल र आवश्यक सिंचाइको व्यवस्थापन गर्नसके रोपिएको दुई वर्षदेखि नै कफीले फल दिने उहाँको अनुभव छ । महाभारत गाउँपालिकाको कफी खेती हुने बस्तीहरुमा व्यापारीहरुले कफी घरघरमा नै खोज्न आउन थालेपछि यहाँका किसानहरु यस खेतीतर्फ थप आकर्षित हुन थालेका छन् ।

बागमती प्रदेश सरकार र महाभारत गाउँपालिकाको सहयोगमा यहाँका कफी खेती गर्ने किसानहरुका लागि आफूहरुले समन्वय र सहयोग गर्दै आएको महाभारत साना किसान तथा कृषि सहकारी संस्थाका प्रबन्धक चन्द्रकुमार लुंगेली मगरले बताउनुभयो । उहाँले प्रदेश सरकारको ६० प्रतिशत, महाभारत गाउँपालिकाको २० र किसानको २० प्रतिशत लागत साझेदारीमा पालिकामा व्यवसायिक कफी खेती भइरहेको जानकारी दिनुभयो । गत वर्षदेखि सञ्चालन हुँदै आएको कफी खेती अभियान अन्तर्गत यस वर्ष वडा नम्बर ५ मा मात्र ३० हजार कफीका विरुवा रोप्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले गाउँपालिकाको वडा नं. १, २, ४, ५ र ८ मा धेरै कफी खेती हुने क्षेत्रलाई कफी उत्पादन क्षेत्रको रुपमा पहिचान गरिएको बताउनुभयो । विगत चार वर्षदेखि विरुवा वितरण तथा आवश्यक उपकरण वितरण गरी किसानलाई सहयोग गरिरहेको बताउनुभयो । जसमध्ये पालिकाले वडा नं. ५ मा गत वर्षदेखि ‘एक वडा एक उत्पादन कार्यक्रमÚ र पालिका भरिका कफी उत्पादन हुने क्षेत्रमा ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ बीसको नोट’  कार्यक्रम अन्तर्गत किसानहरुलाई कफी खेतीमा प्रोत्साहन गर्नका लागि सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।

यस वर्ष पनि वडा नं. ५ लाई कफीको हबका रुपमा विकास गर्न करिब ३० हजार विरुवा वितरण गर्ने योजना रहेको बताउँदै उहाँले पालिकाले यो वर्ष महाभारतभरि एक लाख विरुवा वितरण गर्ने अभियान रहेको जानकारी दिनुभयो । उत्पादन र गुणस्तर राम्रो भएकाले यहाँको कफीको माग निकै छ । व्यापारीहरु किसानका बारीमै पुगेर खरिद गरिरहेका छन् । महाभारत गाउँपालिकामा कफीको बजारीकरणसमेत राम्रो भएको तथा गत वर्ष मात्रै ८० टनभन्दा बढी कफी निर्यात भएको गाउँपालिकाले जनाएको छ । यो वर्ष एक लाख टन उत्पादन गर्ने र करिब १० करोड आम्दानी हुने अनुमान छ ।

खाडल खन्न मेशिनको प्रयोग
यहाँ यसअघि कफी रोप्नका लागि किसानहरुले हातैले कोदालो र कोदालीको प्रयोग गर्ने गरेका थिए । तर यस वर्ष पालिकाले सहयोग गरेपछि केही किसानहरुले मेशिनको प्रयोग गर्न थालेका छन् । खाडलको साइज राम्रो र गहिरो पनि पर्याप्त बनाउन सकिने भएकाले परिक्षणको रुपमा मेशिनको प्रयोग गरिएको हो । अहिले ५ वटा यस्ता मेशिन पालिकाले अनुदानमा सहयोग गरेको छ । यसले काम गर्न सहज हुने अपेक्षा छ । यहाँ उत्पादित कफी पूर्णरुपमा अर्गानिक छ । रासायनिक मल र विषादीको प्रयोग गरिँदैन । समय समयमा गोडमेल र सिंचाईको भने आवश्यकता पर्छ । अब खेतीका लागि विभिन्न प्रविधिहरु भित्रिएपछि थप सहज हुने किसानहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *