पनौती । धार्मिक पर्यटनको नजरमा पनौती कलाँती भूमिडाँडाको सेरोफेरो सम्बन्धी वृत्तचित्र वैशाख १२ गते शनिवार एक समारोहका विच प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । पनौती नगरपालिका वडा नं १२ कलाँती भूमिडाँडाको प्राकृतिक, धार्मिक साँस्कृतिक अनि आर्थिक पक्षलाई समेटेर तयार पारिएको बृत्तचित्र प्रदर्शनीको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति प्रा.डा. जगमान गुरुङले भालेश्वर महादेव मन्दिर प्राङ्गणमा अवस्थित बालप्रकाश माध्यमिक विद्यालयको सभाहलमा पानसमा दीप प्रज्जलन गरी उद्घाटन गर्नुभयो ।

धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले कलाँती भूमिडाँडा र आसपासका विभिन्न स्थानलाई समेटेर बृत्तचित्र तयार पारिएको छ । परशुराम अधिकारी निर्माता र लेखन रहेको उक्त बृत्तचित्रको सहनिर्मातामा जयराम के.सी र कृष्णचन्द्र अधिकारी रहनुभएको छ । सो वृत्तचित्रको निर्देशन त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. राजन विनायक पासाले गर्नुभएको छ भने दृश्य सम्पादन प्रशान्त श्रेष्ठ र स्वराङ्कन दुर्गाराज पाण्डेले गर्नुभएको छ ।

वृत्तचित्रको प्रदर्शन कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि प्रा.डा. जगमान गुरुङले पनौती क्षेत्रका धार्मिक, पौराणिक, साँस्कृतिक र ऐतिहासिक विशेषताहरुको चर्चा गर्नुभयो । नेपालका चौसठ्ठी ज्योतिर्लिङ्गहरु मध्ये भालेश्वर १० औं ज्योतिर्लिङ्गका रुपमा हिमवत् खण्डमा उल्लेख भएको सन्दर्भ चर्चा गर्दै बृत्तचित्रले सिङ्गो पनौती, भूमिडाँडा मात्र नभएर मूल भालेश्वर र यहाँका गुम्वा र देवीहरुको प्रचार देशविदेशसम्म पुग्ने विचार व्यक्त गर्नुभयो । यस वृत्तचित्रले कलाँती भूमिडाँडाको धार्मिक पर्यटकीय सम्भावनालाई समेटेकोले यो क्षेत्र भविष्यमा पर्यटनको गन्तव्य बन्न सक्ने विचार राख्नुभयो साथै उहाँले कार्यक्रम सुरु हुनुपूर्व भालेश्वर महादेव मन्दिरमा पूजासमेत गर्नुभएको थियो ।

कार्यक्रममा विशेष अतिथिका रुपमा साहित्यकार सूर्यप्रसाद लाकोजूले स्रष्टा, संस्कृति र सभ्यता बचाउन हरेक चेतनशील वर्गले योगदान गर्नुपर्ने भन्दै अक्षरकर्मीहरुले कलासाहित्यमार्फत समाजमा योगदान गर्ने हुँदा आफ्नो जन्मस्थानका बारेमा बृत्तचित्र निर्माण गरेर निर्माता र लेखक परशुराम अधिकारीले थोरै भएपनि मातृऋण तिरेको विचार व्यक्त गर्नुभयो । बृत्तचित्र किताबभन्दा छिटो दर्शकमाझ पुगी स्थानीय ज्ञानको प्रचार हुने भएकाले यसले सिङ्गो पनौती क्षेत्रको गरिमा बढाएको हुँदा बृत्तचित्र निर्माणमा संलग्न सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रममा अर्का अतिथि पशुपति क्षेत्र विकास कोषका सञ्चालक समितिका सदस्य डा. भरतप्रसाद बडालले कलाँती भूमिडाँडालाई कृषि र उद्योगलेभन्दा पर्यटनले समृद्ध बनाउन सकिने विचार व्यक्त गर्नुभयो । यस वृत्तचित्रले कलाँती भूमिडाँडाको सेरोफेरोलाई समेटेकोले यस क्षेत्रलाई संसारभर चिनाउन सफल हुने र यो क्षेत्र धार्मिक पर्यटनको गन्तव्य बन्ने धारणा राख्नुभयो ।

कार्यक्रममा वृत्तचित्र निर्देशक एवम् सम्पादक उपप्राध्यापक डा. राजन विनायक पासाले आफूले यस्ता थुप्रै बृत्तचित्र निर्माण गरिसेकेको र अबको समय धार्मिक पर्यटनको समय भएकोले गुम्वा, भालेश्वर र यहाँका पाँचदेवीलाई एकै पटक धार्मिक पर्यटनसँग जोड्न सके भूमिडाँडामा पर्यटन विस्तार हुने धारणा राख्नुभयो । उहाँले मन्तव्यका क्रममा बृत्तचित्रले दिएका सुझावलाई स्थानीय सरकारले कार्यान्वयनमा लिएर जाने हो भने कलाँती भूमिडाँडाको पर्यटकीय भविष्य उज्यालो रहेको छ भन्ने विचार राख्दै बृत्तचित्र निर्माणको उद्देश्यका बारेमा बताउनुभयो ।

सो कार्यक्रममा बालप्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक विकास थापाले आफ्नो विद्यालयमा विद्वान् प्राज्ञहरुलाई ल्याएर वृत्तचित्रको सार्वजनिकीकरण गरेकोमा निर्माता, निर्देशकहरुलाई धन्यवाद दिनुभयो साथै वृत्तचित्रले यस क्षेत्रको बारेमा नयाँ तथ्य पस्किएकोले यो वृत्तचित्र कलाँती भूमिडाँडाको धार्मिक लगायत अन्य पर्यटन प्रवर्धनमा कोशेढुङ्गा सावित हुने धारणा राख्नुभयो । कार्यक्रममा पनौती न. पा वडा नं १२ का वडाध्यक्ष जयराम के.सीले अतिथिहरुलाई स्वागत गर्दै आफ्नो वडामा राष्ट्रिय विद्वान् व्यक्तित्वहरु आएर वडाको गरिमा बढाइ दिएकोमा धन्यवाद दिँदै कलाँती भूमिडाँडाको पहिचान बढाउन र पर्यटन प्रवर्द्धन गर्न योगदान गरेकोमा निर्माता निेर्देशकलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा समापन मन्तव्य राख्दै कार्यक्रमका सभापति एवम् बृत्तचित्र निर्माता परशुराम अधिकारीले पित्तृभूमिबाट मातृऋण तिर्न बृत्तचित्र बनाएर सानो प्रयास गरेको विचार राख्नुभयो । बृत्तचित्र निर्माणमा आफूहरुले झण्डै २ वर्ष लगाएको र थुप्रैपटक कलाँती भूमिडाँडाका गाउँवस्तीको यथार्थता र गहिराई बुझ्ने मौका मिलेको अनुभव सुनाउनुभयो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल ऋषि प्रा.डा.जगमान गुरुङ र अन्य अतिथिका रुपमा प्राज्ञ विद्वान्‌हरुले भूमिडाँडामा पाइला राखिदिएर यस क्षेत्रको पहिचान र गरिमा बढाइ दिएकोमा प्रमुख अतिथि प्रति आभारी हुँदै कार्यक्रम सफलताको लागि सहयोग गर्ने सवैलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा वृत्तचित्र निर्माणका क्रममा सहयोग गर्नुहुने सवैलाई कदर पत्रले सम्मान गरिएको थियो भने अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । उक्त कार्यक्रमको उद्घघोषण मिडियाकर्मी दुर्गाराज पाण्डेले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *