बनेपा । महिला, समुदाय र सामाजिक परिवर्तनका सशक्त कथाहरूलाई कला र कथावाचनमार्फत प्रस्तुत गर्ने घुम्ती कला प्रदर्शनी ऊर्लंदो नदीसरीः महिला र परिवर्तनका कथाहरू जेठ १९ देखि जेठ २१ गते -जुन २ देखि ४, २०२६) सम्म बनेपामा प्रदर्शनी गरियो ।
बनेपा पुलबजारस्थित पञ्चकन्या ब्याङ्क्वेटमा सञ्चालन भएको प्रदर्शनीमा १५ जना कलाकारका सिर्जनाहरू समावेश गरिएका थिए । जसले नेपालका विभिन्न समुदायका महिलाहरूको जीवन, श्रम, ज्ञान, नेतृत्व, संघर्ष र सहनशीलताका कथाहरूलाई कलात्मक माध्यमबाट प्रस्तुत गरिएको थियो ।
आयोजकका अनुसार प्रदर्शनीले सुदूरपश्चिम, कर्णाली, मधेश र बागमती प्रदेशका महिला तथा समुदायका अनुभव र परिवर्तनका कथाहरूलाई केन्द्रमा राखेको थियो । सार्वजनिक विमर्शमा प्रायः ओझेलमा पर्ने महिलाहरूका भोगाइ, सपना, साझा संघर्ष तथा दैनिक साहसका कार्यहरूलाई उजागर गर्दै प्रदर्शनीले संवाद, चिन्तन र आशाको वातावरण निर्माण गर्ने लक्ष्य लिइएको छ ।
प्रदर्शनीमा कलाकृतिसँगै कथावाचन, स्थानीय उत्पादनहरूको प्रवद्र्धन तथा बिक्रीका लागि विशेष हाट बजार र सुनौलो बिहानी नामक सडक नाटक पनि प्रस्तुत गरियो । यसले कला, संस्कृति, समुदाय र सामाजिक चेतनाको जीवन्त संगम सिर्जना गर्ने आयोजकको अपेक्षा छ ।
दृश्य कला, प्रदर्शन कला तथा भाषा कलामार्फत समावेशी सिकाइ प्रवद्र्धन गर्न समर्पित गैरनाफामूलक संस्था सिर्जनालयद्वारा आयोजना गरिएको उक्त प्रदर्शनी यूएन उमन फिनल्याण्ड सरकारको सहयोगमा सञ्चालन भएको हो । कार्यक्रममा दलित उमन सेन्टर नेपाल, नेपाल दलित सेवा समाज लगायतको सहकार्य थियो ।
