प्रदिप केसी बञ्जारा
काठमाडौं । ‘हिमालय टु ओसन’ (H2O) नेपाल पुस्तक यात्राले आफ्नो सुरुवातको छ महिनामै करिब ३५ जिल्लामा पुग्न सफल भएको छ। नेपालका ७७ वटै जिल्लामा पुस्तक, साहित्यिक सन्देश र नेपालको कथा पुर्याउने अभियानका रूपमा अघि बढेको यो यात्रा पछिल्लो समय अन्तर्राष्ट्रिय समुदायसम्म पनि विस्तार हुँदै गएको छ । नेपाली लेखक तथा यात्राकर्मी अशोक सिलवालले सुरु गरेको एचटुओ नेपाल पुस्तक यात्रा अहिले नेपालमा मात्र सीमित नरही विभिन्न देशका पाठक तथा नेपालका शुभेच्छुकहरूसम्म पुग्न थालेको छ । विभिन्न मुलुकमा पुस्तक र अभियानको सञ्जाल विस्तार हुँदै गएपछि यो पहल राष्ट्रिय पुस्तक यात्राबाट क्रमशः अन्तर्राष्ट्रिय साहित्यिक तथा सांस्कृतिक अभियानका रूपमा विकसित भइरहेको छ ।
एचटुओ नेपाल पुस्तक यात्राको मुख्य उद्देश्य पुस्तकलाई पुस्तकालय वा पुस्तक पसलमा मात्र सीमित नराखी विद्यालय, कलेज, समुदाय, संघसंस्था, पर्यटनस्थल तथा पाठक र युवासँगको प्रत्यक्ष संवादमार्फत मानिससम्म पुर्याउनु हो । अभियानले पुस्तक वितरणसँगै पुस्तकमा समेटिएका विचार, अनुभव र सन्देशमाथि संवाद तथा अन्तरक्रियालाई पनि प्राथमिकता दिएको छ। यस यात्राको केन्द्रमा लेखक सिलवालका ‘Everest: An Unfinished Story’, ‘Ocean: The Sound of the Himalayas’ र ‘Appa Deepo Bhava’ रहेका छन्। आगामी दिनमा प्रकाशन हुने ‘Langtang: From Death to Life’ लाई पनि पुस्तक यात्रामा समावेश गर्ने योजना रहेको छ।
यी चार पुस्तकले एचटुओको फरक–फरक दृष्टिकोणलाई प्रस्तुत गर्छन् । ‘Everest’ ले विश्वको सर्वोच्च शिखर सगरमाथासँग जोडिएका मानव कथा र अनुभवलाई समेट्छ भने ‘Ocean’ ले हिमालय, समुद्र र प्रकृतिबीचको सम्बन्धलाई उजागर गर्छ । ‘Appa Deepo Bhava’ आत्मखोजी र आत्मपरिवर्तनको यात्रासँग सम्बन्धित छ भने ‘Langtang: From Death to Life’ ले विपत्ति, धैर्य, पुनरुत्थान र आशाको कथा प्रस्तुत गर्ने उद्देश्य राखेको छ ।
पुस्तकभन्दा परको यात्रा
एचटुओ नेपाल पुस्तक यात्राले विद्यार्थी, शिक्षक, युवा, पाठक, लेखक, शैक्षिक संस्था, पर्यटन व्यवसायी, स्थानीय समुदाय तथा नेपालका अन्तर्राष्ट्रिय मित्रहरूलाई लक्षित गरेको छ । पुस्तक आदान–प्रदान, साहित्यिक अन्तरक्रिया, शैक्षिक तथा सामुदायिक भ्रमण, संस्थागत सहकार्य र अन्तर्राष्ट्रिय सञ्जाल निर्माणमार्फत अभियानले पढ्ने संस्कृतिको विकाससँगै ज्ञान, सहनशीलता, करुणा, आशा, प्रकृति, संस्कृति र आत्मपरिवर्तन जस्ता विषयमा व्यापक संवाद सिर्जना गर्ने लक्ष्य लिएको छ ।
अभियानको मूल दर्शनलाई छोटकरीमा ‘पुस्तक माध्यम हुन्, सन्देश गन्तव्य हो’ भन्ने अवधारणाले परिभाषित गरेको छ । सुरुवाती छ महिनामै नेपालको करिब आधा जिल्लामा पुगिसकेको यो पुस्तक यात्रा अब बाँकी जिल्लातर्फ अघि बढ्ने क्रममा छ । नेपालका सबै जिल्लासम्म पुग्ने अभियानसँगै अन्तर्राष्ट्रियस्तरमा पनि यसको सञ्जाल विस्तार गर्ने प्रयास भइरहेको छ । हिमालयदेखि समुद्रसम्म, नेपालदेखि विश्वसम्म र पुस्तकदेखि मानिससम्म साहित्यिक तथा सांस्कृतिक सम्बन्ध जोड्ने व्यापक उद्देश्यका साथ अघि बढेको एचटुओ नेपाल पुस्तक यात्राले आगामी दिनमा अझ व्यापक रूप लिने अपेक्षा गरिएको छ ।
