— प्रकाशप्रसाद उपाध्याय
यही २०८३ साल असोज १७ गतेको कुरा हो । शब्दयात्रा प्रकाशन (बनेपा, काभ्रेपलाञ्चोक) ले ओझेलमा परेका साहित्यकार, कलाकार, पत्रकार लगायत विभिन्न विधाका ८ जना रचनाकारहरूको सम्मानमा आयोजना गरेको ‘सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण कार्यक्रम’ मा पत्रकारको हैसियतले उपस्थित हुनका लागि पठाइएको निमन्त्रणा पाउँदा शब्दसाधक तीर्थको सभाकक्षमा सहभागी हुन पुगेँ । उक्त अवसरमा ८ जना सर्जकहरूलाई सम्मानपत्र प्रदान गर्ने विधि विधिवत् सम्पन्न गरेपछि शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले लेखेको ‘वैदिक सम्पदाको विश्वव्यापिता’ नामक पुस्तकको सार्वजनिकीकरण गरियो । कार्यक्रमबाट निस्कँदै गर्दा शब्दयात्रा प्रकाशन (शब्दसाधक तीर्थ, बनेपा, काभे्रपलाञ्चोक) द्वारा प्रकाशित उक्त पुस्तकको एक प्रति किनेँ । घरमा आएर पुस्तक पढ्न थाल्दा लेखक हरि मञ्जुश्रीले पुस्तक निर्माणका क्रममा गर्नुपरेको वृहत् शोध र श्रमको अनुभव हुन थाल्यो र लेखकले सार्वजनिकीकरणका अवसरमा गरेको अनुरोध अनुसार पुस्तक पढेर आफ्नो विचार लिपिबद्ध गर्ने सुर गरेँ ।
वर्तमान युगमा विश्वमा अनेक धर्मावलम्बी देशहरू छन्, जसले आफ्नो धर्मलाई राष्ट्रिय धर्म घोषित गर्दै देशलाई धार्मिक देशको स्वरूप दिएका छन् । ‘वैदिक सम्पदाको विश्वव्यापिता’ पुस्तकका पानाहरू पढ्दै जाँदा लेखक हरि मञ्जुश्रीद्वारा प्रस्तुत गरिएका र १२२ देशहरूबाट फेला पारिएका सामग्रीका आधारमा के बुझिन्छ भने कुनै समयमा सनातनी हिन्दू धर्मावलम्बी रहेका विश्वका अनेक देशहरू वर्तमान समयमा अन्य धर्मका अनुयायी भएका छन्, जसको पछाडि तत्कालीन शासकहरूका करकाप, प्रलोभनकारी कार्य, उनीहरूद्वारा उत्पन्न गरिएका त्रासपूर्ण वातावरण र धम्की आदि हुनुपर्दछ ।
पुस्तकको शुरुको लेखको शीर्षक छ ‘हिन्दू राज्य चाम भयो भियतनाम ।’ पुरानो नाम चम्पा भएकाले त्यहाँका बासिन्दा चाम भनिन्थे । उनीहरू र उनीहरूका राजा शैव थिए, त्यहाँ कैयौँ शिवमन्दिर छन्, चम्पा संस्कृतिको अवशेष अहिले पनि पाइन्छ भन्दै लेखक लेख्दछन् — तर इस्लाम र बौद्ध धर्मको विस्तार हुँदै जाँदा १८८१ सालमा त्यो हिन्दूराज्यको अन्त हुन गयो र हाल चामहरू अल्पसङ्ख्यक जाति बनेका छन् । लेखकको लेख अनुसार फिजीजस्तो देशमा पशुपतिनाथको मन्दिर त बनाइएको छ, तर त्यसको सञ्चालन भने गैरनेपाली समूहले गर्ने गरेका छन् । त्यहाँ गुन्द्रुक, सेल र ढिँडोजस्ता नेपाली परिकार पाक्छन्, दसैँ–तिहारजस्ता चाड पनि मनाइँदा रहेछन् तर नेपाली भाषा बोलिँदो रहेनछ । यस्तो अवस्थामा नेपाली भाषाका पुस्तक, पत्रपत्रिका आदि छापिने त कुरै भएन ।
कुनै समयमा कान्तिपुरम् नाम भएको सनातनी हिन्दूबहुल राष्ट्र कसरी फिलिपाइन्स कहलाउन र हालका वर्षहरूमा फिलिपिन्स भनाउँदै इसाई देशका रूपमा चिनिन थाल्यो भन्ने सम्बन्धमा हरि मञ्जुश्रीको शोधपूर्ण निबन्ध रोचक छ । लेखक आफ्नो उपर्युक्त कृतिमा लेख्दछन् – त्यहाँ २ हजार वर्षसम्म हिन्दू राजाहरूले शासन गरेका र १५ औँ शताब्दीसम्म मलाया, जावा, सुमात्रामा हिन्दू साम्राज्य रहेको इतिहास पढ्न पाइन्छ । त्यहाँ २०७१ सालमा उत्खनन गर्दा शिवको त्रिशूल र इन्द्रको वज्र भेटिएको कुरा उल्लेख गर्दै लेखक यो पनि भन्दछन् – स्पेनिसहरू त्यहाँ पुगेपछि इसाई धर्मले प्रवेश पायो र हिन्दूहरूलाई अनेक लोभ र डर देखाएर इसाई बनाउन थालियो । स्पेनका राजा फिलिपको नाममा कान्तिपुरम् फिलिपाइन्स भयो र आजका दिनमा फिलिपिन्स कहलाउन थाल्यो ।
पहिले माल्दिभ्स पनि हिन्दूराष्ट्र थियो, यसका विभिन्न टापुहरूमा ३५ सय वर्षअघिसम्म हिन्दूहरूको बसोबास थियो भन्दै लेखक लेख्दछन् – १२ औँ शताब्दीमा व्यापारीहरूका रूपमा अरबीहरू त्यहाँ पुगेपछि उनीहरूले त्यहाँका बासिन्दाहरूलाई इस्लाम धर्म अपनाउन बाध्य पार्दै जाँदा माल्दिभ्स इस्लामिक राष्ट्र बनेको रहेछ । दक्षिण अमेरिकी राष्ट्र पेरुको राजधानी लिमाको नजिक रहेको एल पाराइसो साइटमा फेला परेका ५ हजार वर्षभन्दा पुराना हिन्दूमन्दिर र हवनकुण्ड चित्रसहित प्रस्तुत गर्दै लेखकले हाल त्यस मन्दिरलाई फायर टेम्पलको सङ्ज्ञा दिइएको बताएका छन् ।
सनातन हिन्दू धर्मको व्यापकताको जानकारी पाकिस्तानको मोहनजोदाडो र हडप्पामा ई. पू. ४००० वर्षतिर उत्खनन गरिँदा सिन्धुघाटी सभ्यता, जसलाई प्राचीन इतिहासका अनुसन्धाताहरूले आर्यहरूको वैदिक सभ्यता मान्दै आएका छन्, लाई जनाउने विभिन्न वस्तुहरू फेला परे । तिनमा योन्याकार चक्कामाथि लिङ्ग स्थापित भएको वस्तुलाई तत्कालीन पुरातत्त्वविद्, इतिहासकार एवम् विद्वज्जनले मानव सभ्यताको विकासको अङ्गका रूपमा शिवलिङ्गको सङ्ज्ञा दिए, किनभने मानव जातिका सृष्टिकर्ता, पालक र संहारक भगवान् शिव मानिछन् । फलस्वरूप शिवलिङ्ग आजपर्यन्त भगवान् शिवको प्रतीक बन्दै सर्वत्र पूजनीय छ ।
भगवान् महादेवको यसै महिमाका कारणले विश्वका विभिन्न देशहरूमा निर्माण गरिएका शिवमन्दिरहरूको उल्लेख पनि लेखक हरि मञ्जुश्रीले आफ्नो पुस्तकमा गरेका छन् । उनका अनुसार इजरायलको ऐलात पर्वतमा २०६६ सालमा पुरातत्त्ववेत्ताहरूको टोलीले उत्खनन गर्दा १०० भन्दा बढी शिवलिङ्ग भेटिए । परीक्षण गर्दा ती शिवलिङ्गहरू ८ हजार वर्ष पुराना ठहरिए । कम्बोडिया र थाइल्यान्डको सिमाना क्षेत्रमा अवस्थित ५२५ मिटर अग्लो डाङग्रेक पर्वतको टुप्पोमा एउटा प्राचीन शिवमन्दिर छ । खमेर वास्तुकलाका लागि प्रसिद्ध त्यस मन्दिरको निर्माण खमेर साम्राज्यको प्रारम्भिक दिनहरूमा नवौँ शताब्दीमा भएको थियो । दसौँ शताब्दीमा पनि यसमा निर्माणको काम भएको थियो । राजा सूर्यवर्मन प्रथम एवम् सूर्यवर्मन द्वितीयको शासनकालमा एघारौँ र बाह्राैँ शताब्दीमा मन्दिर परिसरको विस्तार गरियो । तर मन्दिरको निर्माण सिमाना क्षेत्रमा भएको हुँदा, लेखकले लेखे अनुसार, यसमाथि दुवै देशले आ–आफ्ना तर्फबाट दावी गरे र मामिला अन्तर्राष्ट्रिय अदालतसम्म पुग्यो । अदालतले सन् २०१९ मा यो मन्दिर कम्बोडियाको भएको फैसला ग¥यो । अहिले यो मन्दिर युनेस्कोको विश्वसम्पदा सूचीमा दर्ता भएको छ ।
चिलीका हिन्दूहरूले पनि पुन्टा अरेनाज सहरमा शिवमन्दिर बनाएका छन् । समान रूपमा मौरिससमा १०८ फिट अग्लो शिवमूर्ति स्थापना गरिएको रहेछ । सुरिनाममा पनि एउटा मनोहर उद्यानमा शिवमूर्तिको स्थापना गरिएको छ । बङ्गलादेशको चटगाउँमा महादेवस्थान विद्यमान छ, जसलाई महादेवको प्राचीन र प्राकृत स्थल बताइन्छ । लेखकका अनुसार त्यहाँ सधैँ आगोको ज्वाला निस्कने हुँदा कोही यसलाई अग्निकुण्ड महादेव बताउँदछन् भने कोही अग्निकुण्ड मात्रै भन्छन् । म्यान्मार (बर्मा) मा, जहाँ कुनै समयमा नेपालीहरूको ठूलो सङ्ख्या थियो, रामजानकी मन्दिर भेटिन्छ । लाओस, इन्डोनेशियाको बाली र थाइल्यान्डमा अचेल पनि हरेक वर्ष रामलीलाको अभिमञ्चन हुने गर्दछ । ब्राजिलमा प्रत्येक वर्ष डिसेम्बर महिनामा सीताराम पर्व मनाइँदो रहेछ ।

यस पुस्तकका प्रत्येक पानामा विश्वका विभिन्न देशहरूमा सनातन वैदिक धर्मसँग सम्बन्धित मन्दिर, मूर्ति, शिवलिङ्ग र हवनकुण्डजस्ता पुरातात्त्विक तथा ऐतिहासिक महत्त्वका विभिन्न किसिमका प्रतीकहरू भेटिएको उल्लेख गरिएबाट विश्वभरि नै कुनै समयमा सनातन धर्मको प्रभाव रहेको बुझिन्छ । उल्लिखित देशहरूमा देखिएका, पाइएका र उत्खननबाट प्राप्त भएका त्यस्ता सामग्रीहरूको तस्बिर पुस्तकमा भेटिए पनि तिनका सम्बन्धमा कुनै सन्दर्भग्रन्थको उल्लेख भने पाइँदैन । पुस्तकमा भूमिका, लेखकीय वा प्रकाशकीयको अनुपस्थितिले पनि प्रत्येक लेखको अन्त्यमा उल्लेख गरिएका तारिख र वर्षले ती तारिख र वर्षको प्रयोजन के होला भनी पाठकवर्गलाई अल्मल्याउन सक्छ । तर पनि १२२ वटा शीर्षक र तस्बिरहरूका साथ छापिएका लेख, विभिन्न स्थानका मन्दिर, ती देशहरूमा रहेका मूर्तिहरू एवम् ऐतिहासिक एवम् शैक्षिक महत्त्वका विभिन्न खालका जानकारीले पुस्तकलाई रोचकता र महत्त्वपूर्ण स्थान प्रदान गरेका छन् एवम् सङ्ग्रहणीय बनाएका छन् । यी सबै सामग्री सङ्कलन गर्दै पुस्तकको आकार दिनका लागि लेखकले गरेको श्रमको प्रशंसा जति गरे पनि कम नै हुनेछ । साथै, ‘वैदिक सम्पदाको विश्वव्यापिता’ बाट सनातनी नेपाली पाठकवर्गलाई अवगत र गर्व गराउने हरि मञ्जुश्रीको चाहना र प्रयासलाई यस कृतिले सफल तुल्याएको भन्न सकिन्छ ।
कर्मवीर, छिटोछरितो, काम गर्न अल्छी नमान्ने र काममा सदैव अग्रसर हुने वर्गमा पर्ने बहुआयामिक प्रतिभाका धनी हरि मञ्जुश्रीबाट भविष्यमा पनि यसै किसिमका ऐतिहासिक, धार्मिक, पुरातात्त्विक र पौराणिक महत्त्वको कृतिको प्रस्तुतीकरणका लागि आग्रह गर्र्दै र आफ्नो यस टिप्पणीलाई यहीँ विराम दिँदै अन्त्यमा पाठकहरूलाई के सूचना पनि दिन चाहन्छु भने सबै वर्गका पाठकहरूलाई यस महत्त्वपूर्ण कृति पढ्नका लागि सुलभ गराउने उद्देश्यले होला शब्दयात्रा प्रकाशनले १२८ पृष्ठको यस २८५ औँ प्रकाशनपुष्पको मूल्य ३०० रुपियाँ मात्रै राखेको छ ।
