– भोला केसी (भट्टराई), बनेपा, बुडोल
१.
जो हुन् घरैभरिका उज्याला प्रकाश,
गर्छन् सधैं सुख–सदाशयको विकास ।
बा–आमाका चरणमा सिर यो झुकाऔं,
श्रद्धा र भक्ति–रसले घर यो सजाऔं ।।
२.
हाम्रा बनेर अभिभावक यो जगैमा,
उज्ज्वल बाटो दिए पाइला पाइलामा ।
त्यागेर आफैं सुख–साधन ती पुराना,
बनाए हाम्रा खुसीका कति योजना ।।
३.
छाप्रो बन्यो महल झैँ उनकै कृपाले,
हाँस्यौं सुखै–सुख भरेर दुवै भुजाले ।
ती जेष्ठ नागरिक हुन् घरका धरोहर,
राखौँ सधैं हृदयमा अति उच्च आदर ।।
४.
हामी साना छँदा ती ममता दिएका,
काँधैचढी कति रमाइलो ती गरेका ।
ती वृद्ध–बाह किन काँप्छन् अहिले?,
जुन बाहु भरोसा थिए हाम्रा पहिले ।।
५.
ओठमा हाँसो र हृदयमा छ अथाह माया,
सङ्कट पर्दा बन्दछन् ती शीतल छाया ।
जसले दिए जीवन यो र विवेक–ज्ञान,
गर्दै रहौँ निरन्तर तिनको सम्मान ।।
६.
दीर्घ अनुभव र भोगाईका हुन् ती सागर,
ज्ञानै–ज्ञानका अनमोल ती दिव्य भण्डार।
मानौँ गुरु समान तिनका उपदेश,
मेटिन्छन् हाम्रा मनका सबै क्लेश ।।
७.
वृद्धाश्रम नहोस् कहिल्यै कुनै घरमा,
राखौँ सधैं स्नेह–सुधा ती काखमा ।
सेवा गरेर पितृको खुसी आज पारौं,
आफ्नो मुहार उज्यालो सधैं बनाऔं ।।
८.
ज्येष्ठ नागरिक हुन् घरका देव–तुल्य,
तिनका आशीर्वाद त छन् सधैं अमूल्य ।
भक्ति–भावले सेवा सदा गरौं है हामी,
आशिर्वचनले भरपूर पारौं घरलाई दामी ।।
