धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाका सक्रिय पत्रकारहरूसँग हृदयाघातसम्बन्धी अन्तरक्रिया कार्यक्रम मंगलबार धुलिखेल अस्पतालमा सम्पन्न भएको छ ।

धुलिखेल अस्पतालद्वारा आयोजित कार्यक्रममा जिल्लाका करिब २० जना पत्रकारहरूको सहभागिता रहेको थियो । कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डा. राजेन्द्र कोजुले हृदयाघातको अवस्था, यसको कारण, प्रभावित हुने उमेर समूह, जोखिमका कारक तथा रोकथामका उपायबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

डा. कोजुले पछिल्ला वर्षहरूमा हृदयाघातका बिरामीहरूको संख्या बढ्दै गएको उल्लेख गर्दै अस्वस्थ खानपान, शारीरिक गतिविधिको कमी तथा बदलिँदो जीवनशैली प्रमुख कारणका रूपमा रहेको बताउनुभयो । उहाँले हृदयाघातबाट जोगिन स्वस्थ जीवनशैली अपनाउन, नियमित व्यायाम गर्न तथा समय–समयमा स्वास्थ्य परीक्षण गराउन आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागी पत्रकारहरूले हृदयाघातसँग सम्बन्धित विभिन्न जिज्ञासा, सुझाव तथा अनुभवहरू प्रस्तुत गरेका थिए । उठाइएका प्रश्नहरूको जवाफ दिँदै डा. कोजुले हृदयाघातलाई सामान्य समस्या ठानेर बेवास्ता नगर्न र प्रारम्भिक लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम प्रभावकारी र जानकारीमूलक रहेको बताउँदै नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोदकुमार न्यौपानेले यस्ता कार्यक्रमले सञ्चारकर्मीमार्फत जनस्वास्थ्य सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन धुलिखेल अस्पतालका डा. सुमनराज ताम्राकारले गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *