मण्डनदेउपुर । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाको कृषि शाखाको आयोजनामा विद्यार्थीहरूका लागि करेसाबारी (किचन गार्डेन) सम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ ।
तालिममा नगरभित्रका १० वटा विद्यालयका कक्षा ८ देखि १२ सम्म अध्ययनरत १३८ जना विद्यार्थी सहभागी थिए । कृषि प्राविधिक संगीता कुशवाहाका अनुसार तालिममार्फत विद्यार्थीलाई घरमै करेसाबारी स्थापना, मौसमी तरकारी उत्पादन, जैविक खेती तथा सुरक्षित तरकारी उत्पादन सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिनेछ ।
तालिमका सहभागीलाई तरकारीका विभिन्न बिउ, जैविक विषादी, बिरुवा उत्पादनका लागि प्लास्टिक ट्रे तथा कोकोपिटसमेत वितरण गरिने जानकारी दिइएको छ । कार्यक्रममा प्रशिक्षकद्वय मदन आचार्य र सविना पाठक प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रमको उद्घाटन मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले गर्नुभएको थियो । नगरपालिकाले विद्यार्थीमा कृषि प्रतिको रुचि बढाई आत्मनिर्भरता र व्यावहारिक सीप विकास गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *