पनौती । पनौती नगरपालिका वडा नं. ८ बन्जारागाउँमा रहेको आमा समूहमा बिहीबार बालमैत्री अभिभावक शिक्षा तथा टोलस्तरीय सशक्तीकरण कार्यक्रम अन्तर्गत अभिभावकले पालना गर्नुपर्ने आचारसंहिता र पानी शुद्धीकरण विधिबारे सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा खरिबोट शहरी स्वास्थ्य चौकीकी सि.अ.न.मी. दुर्गा अधिकारीले सहजीकरण गर्दै बालबालिकाको उचित पालनपोषण, अभिभावकको जिम्मेवारी, सुरक्षित खानेपानीको प्रयोग तथा पानी शुद्धीकरणका विभिन्न विधिबारे जानकारी दिएकी थिइन् ।
कार्यक्रम सफल बनाउन सहयोग पु¥याएकोमा खरिबोट शहरी स्वास्थ्य चौकीकी दुर्गा अधिकारी, आमा समूहकी अध्यक्ष समिता बन्जारा तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका स्वस्थी बन्जारालाई धन्यवाद व्यक्त गरिएको थियो । साथै कार्यक्रममा सहभागी सम्पूर्ण अभिभावक तथा स्थानीयप्रति पनि आयोजकले आभार प्रकट गरेको छ ।
यस्ता सचेतनामूलक कार्यक्रमले अभिभावकको क्षमता अभिवृद्धि गर्नुका साथै बालमैत्री समाज निर्माण र समुदायमा स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
