कुनैपनि बच्चा जन्मिँदा उसमा धेरै आशा गरिन्छ । यसले भविष्यमा राम्रो गर्ला, कूल र परिवारको इज्जत जोगाउला.. यस्तै यस्तै । हुन पनि हो, कुनै बच्चा जन्माउनु ठूलो कुरा होइन । जन्मिएको बच्चालाई हुर्काउनु, बढाउनु, पढाउनु र शिक्षित बनाउनु अनि आफ्नै खुट्टामा टेक्न सक्ने बनाउनु बरु ठूलो कुरा हो । यस्तै हामीले पनि हिजो हाम्रा पाठक र शुभचिन्तकहरु माझ निकै भीडभाडमा मध्यमार्ग जन्माएका थियौं । मध्यमार्ग जन्मँदा हाम्रा धेरै प्रतिस्पर्धीहरुले अनुमान लगाएका थिए, आखिर यो पनि अरु जस्तै भीडभाडमा त्यतिकै हराउने छ, आफ्नै अस्तित्व बिर्सिएर पतन हुनेछ । तर हामीले त्यस्तो हुन दिएनौं । हाम्रा हजारौं शुभचिन्तकहरुको माया पाउँदै हुर्कदैं मध्यमार्ग आजदेखि २२ औं वर्षमा पाइला टेकेको छ ।
हुन पनि मध्यमार्ग शुरुदेखि नै पाठकमुखी भएर उदाएको थियो । अनेक उल्झनहरुबीच पनि ‘पाठकमुखी पत्रकारिता हाम्रो प्रतिबद्धता’ नारा लिएर जिल्लाका अन्य पत्रिकाहरुको भीडमा पसेको मध्यमार्गले यस समयसम्ममा आफूलाई प्रतिस्पर्धी पत्रिकाका रुपमा मात्र उभ्याएन । ९ वर्षअघि सूचना विभागबाट वर्गिकृत ‘क’ वर्गमा आफूलाई सफलतापूर्वक चिनाउन पनि सफल भयो । जिल्लामा मध्यमार्ग अहिले अनलाइन संस्करणमा पनि उपलब्ध छ । यो सौभाग्य थोरै मात्र पत्रिकाले पाएका छन् । यसको श्रेय हामीले आफूलाई कहिल्यै लिएका छैनौं । हाम्रा शुभचिन्तक, पाठक, विज्ञापनदाता, प्रत्यक्ष र अप्रत्यक्षरुपमा सहयोग गर्नुहुने सम्पूर्ण जनमानस नै यसको मुख्य पात्र हुनुहुन्छ ।
हिजो एउटा सानो शिशुको रुपमा जन्मिएको मध्यमार्ग आज २२ वर्षको युवा भइसक्यो । अझै अगाडि जाने सोचमा छ । यसका लागि यहाँहरुको थप गाली, ताली र मायाको खाँचो छ । हुन त यहाँहरुको माया पहिलेदेखि नै पाएकै हो मध्यमार्गले । तर पनि यसको निरन्तरताले आगामी दिनमा मध्यमार्गलाई अलगधारमा उभ्याउन सकिने कुरामा दुईमत छैन । काम गर्दै जाँदा सधैं राम्रै मात्रै हुन्छ भन्ने छैन । कहिलेकाहिँ गल्ती पनि हुन सक्छन् । हामीले पनि केही गल्ती ग¥यौं होला । अन्जानमा भएका ती गल्तीहरुलाई औंल्याइदिएर आगामी दिनमा अघि बढ्न आउन सक्ने अनेक तगाराहरुलाई पन्छाइदिनु हुन हामी हाम्रा समस्त पाठक र विज्ञापनदातासमक्ष अनुरोध गर्दछौं । यतिबेला हामीलाई अगाडि बढ्न धेरै अप्ठ्याराहरु पनि छन् । चुनौतीहरु पनि उस्तै छन् । प्रतिस्पर्धीहरु त छँदैछन् ।
यी विविध समस्याहरुका बाबजुद पनि हामी सफलताको उच्च शिखरमा पुग्नु छ । त्यसका लागि यहाँहरुको थप माया र साथको आवश्यक छ । मध्यमार्गले यहाँहरुले सोचेकोभन्दा थप सफलताको सिंढी त्यतिबेला चढ्नेछ, जतिबेला हाम्रा सबै अप्ठ्याराहरु पाखा लाग्नेछन् । त्यसका लागि हामी निडर भएर अघि बढ्दै जाने प्रण गर्दछौं । अझै निष्पक्ष भएर यहाँहरुलाई सूचना प्रवाह गर्ने महान् कार्यमा हामी कहिल्यै कञ्जुस्याईं गर्ने छैनौं । आशा छ, हामीले सोचेको त्यो सफलता अवश्य पाउने छौं । हामीलाई आजका दिनसम्म साथ र सहयोग गर्नुहुने अनि ताते गर्दै डोहो¥याउनु हुने सबैप्रति हार्दिक धन्यवाद दिन चाहन्छौं ।
