गत वैशाखदेखि हालसम्म विपद्मा परेर १६६ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल तीन हजार ४३५ विपद्का घटना भएका छन् ।
विपद्मा परेर ९८८ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार चार हजार ५३१ घर परिवार प्रभावित भएका छन् । सो अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका छन् । प्राधिकरणका अनुसार चार महिनामा ९१४ वटा आगलागीका घटना भएका थिए ।
सर्पदंशका ५३५, चट्याङ २२९, लेक लाग्नु ५५, जनावर आक्रमण १९०, हुरीबतास ४७८, पहिरो ४९५, बाढीका १७१ घटना घटेका छन् । यस्तै, भारी वर्षा १६६, डुङ्गा पल्टेर एक, डढेलो १९१, हिँउ पहिरो दुई, असिना चार र अन्य पनि चार छन् ।
त्यसैगरी, साउन २ गते बिहानदेखि ३ गते बिहानसम्म देशभर कुल ५८ वटा विपद्का घटना भएका थिए । विपद्मा परेर तीन जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । कुल ४५ जिल्ला प्रभावित भएका छन् ।
यसरी हरेक वर्ष राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन सुरु हुनु अघि नै सरकारलाई सजग रहन निर्देशन दिने गर्दछ । सरकारले पनि सबै सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको जनाउँदै आएको छ । यति मात्र होइन , यही शीर्षकमा अर्बौंको बजेट पनि छुट्याउँछ । तर पनि हरेक वर्ष अर्बौंको जनधनको क्षति विपद्कै घटनाका कारण हुने गरेको छ ।
अब प्रश्न उठ्छ, हामी यस्तो विपदका घटनाबाट हुने क्षति रोक्न कहाँ चुक्यौं ? किन हरेक वर्ष क्षति बढीरहेको छ ? अब कहाँबाट काम सुरु गर्नुपर्ने हो ? विपद्का घटना कतिबेला र कहाँ घट्छन् भनेर हामीलाई थाहा हुँदैन । र यस्ता घटनाहरु पूरै नियन्त्रण गर्न पनि सकिँदैन । तर यसप्रति बेलैमा सतर्कता अपनाउने हो भने यसबाट हुने क्षति न्यूनिकरण गर्न भने पक्कै पनि सकिन्छ ।
त्यसो भए हामी यसमा कहिले सजग बन्ने ? देशमा अहिले शक्तिशाली बहुमतको सरकार छ । काम गर्नका लागि कुनै राजनीतिक शक्तिले रोक्ने अवस्था छैन । यसअघिका सरकारहरु अस्थिर थिए । एउटा सरकारले ल्याएका नीति तथा कार्यक्रमहरु अर्को सरकारले लागू नगर्ने अवस्था थियो । अब त्यो समस्या छैन । तैपनि सरकार के मा अल्झिरहेको छ ? यो यतिबेला नागरिकले सोधेको प्रश्न हो । प्रश्न सँगै अपेक्षा पनि छन्, सरकारले यसमा छिटै ध्यान दिनै पर्छ । र नागरिकस्तरबाट पनि सतर्कता अपनाउन र जनचेतना जगाउने काम गर्न ढिला गर्नु हुँदैन । सबैको सहयोगले मात्र विपद्का घटनाबाट हुने क्षति रोक्न सकिन्छ ।
