पनौती । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै पनौती नगरपालिका–८ ले आफ्नो तीज कार्यक्रम स्थगित गरी उक्त कार्यक्रमका लागि विनियोजित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

पनौती नगरपालिका–८ का कार्यबाहक वडा अध्यक्ष विश्वनाथ बञ्जाराले पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पठाएको सिफारिस पत्रअनुसार वडाले आगामी भदौ २३ गते आयोजना गर्ने निर्णय गरेको सचेतनामूलक तीज कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो । उक्त कार्यक्रमका लागि विनियोजन गरिएको रु. ८० हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा वडा नं. ८ को तर्फबाट सहयोग गर्ने निर्णय गरिएको पत्रमा उल्लेख छ ।

पत्रमा रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरिएको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ता नागरिकहरूको सकुशल उद्धारको कामना गरिएको छ ।

भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा व्यापक क्षति पुर्‍याएको छ । सरकारी विवरणअनुसार उद्धार, खोजी तथा राहतका कार्य जारी छन् । गृह मन्त्रालयले समेत भदौ १० गते बिहान ८ः४० बजे भोटेकोशीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको जनाएको छ ।

विपद्को यस्तो संवेदनशील अवस्थामा मनोरञ्जनात्मक कार्यक्रमभन्दा पीडितको उद्धार तथा राहतलाई प्राथमिकता दिने उद्देश्यले तीज कार्यक्रमको बजेट नै विपद् उद्धार कोषमा सहयोग गर्ने वडा नं. ८ को निर्णयलाई स्थानीयस्तरमा सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको उदाहरणका रूपमा हेरिएको छ । वडा अध्यक्ष बञ्जाराले कोषमा रकम सहयोग गर्न आवश्यक प्रक्रिया अघि बढाइदिन नगरपालिकासमक्ष अनुरोधसमेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *