धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लामा नसर्ने रोगको रोकथाम, समयमै पहिचान तथा प्रभावकारी उपचारका लागि आगामी रणनीति र योजनाबारे महत्वपूर्ण नीतिगत संवाद गरिएको छ । धुलिखेलमा आयोजित संवाद तथा नीतिगत छलफलमा जिल्लाका १३ वटै स्थानीय तहका प्रमुखहरूले नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै प्रभावकारी स्वास्थ्य सेवा प्रवाह र जनचेतना अभिवृद्धिका लागि एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा काभ्रेपलाञ्चोकमा मधुमेह, उच्च रक्तचापलगायत नसर्ने रोगको वर्तमान अवस्था, रोकथाम तथा नियन्त्रणका लागि हालसम्म भएका प्रयास र आगामी दिनमा अपनाउनुपर्ने रणनीतिका विषयमा छलफल गरिएको थियो । स्थानीय सरकार तथा विश्व स्वास्थ्य संगठनको सहयोगमा जिल्लाका ६१८ जना स्वास्थ्यकर्मीलाई आवश्यक तालिम प्रदान गरिएको जानकारी कार्यक्रममा दिइयो । त्यस्तै, करिब १० हजार व्यक्ति नियमित रूपमा उच्च रक्तचापको औषधि सेवन गरिरहेको जनाइएको छ । यसले उच्च रक्तचापका कारण उत्पन्न हुनसक्ने जटिलता न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुगेको बताइएको छ ।
कार्यक्रममा नेपालमा प्रत्येक वर्ष एक लाख ३७ हजारभन्दा बढी मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेको तथा करिब ४७ लाख व्यक्ति उच्च रक्तचापको जोखिममा रहेको जानकारी दिइयो । बढ्दो नसर्ने रोगको जोखिम न्यूनीकरणका लागि रोगको समयमै पहिचान, नियमित स्वास्थ्य परीक्षण, औषधिको निरन्तर सेवन तथा स्वस्थ जीवनशैलीलाई प्राथमिकता दिनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।
विश्व स्वास्थ्य संगठन, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय बागमती प्रदेश, काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तह तथा जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमको अध्यक्षता तथा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।
छलफलका क्रममा काभ्रेपलाञ्चोकलाई प्राथमिक स्वास्थ्य सेवाको राष्ट्रिय सिकाइ केन्द्रका रूपमा विकास गर्ने, स्रोत परिचालन तथा अन्तरनिकाय समन्वयमार्फत स्वास्थ्य कार्यक्रमको दिगोपन सुनिश्चित गर्ने, तथ्य र परिणाममा आधारित जवाफदेहिता कायम गर्ने तथा राष्ट्रिय स्वास्थ्य प्रणालीको रूपान्तरणमा स्थानीय तहको नेतृत्व स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । त्यस्तै, काभ्रेपलाञ्चोकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्वास्थ्य क्षेत्रको सिकाइ र नमुना केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसमेत अघि सारिएको छ । यससम्बन्धी प्रतिबद्धतापत्रमा जिल्लाका १३ वटै स्थानीय तहका प्रमुखहरूले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, स्वास्थ्यकर्मी तथा स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो । सहभागीहरूले नसर्ने रोगको बढ्दो जोखिमलाई न्यूनीकरण गर्न स्थानीय तहबीचको सहकार्य, स्वास्थ्यकर्मीको क्षमता विकास, नियमित स्वास्थ्य परीक्षण तथा समुदायस्तरमा जनचेतना अभिवृद्धिलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।
