धुलिखेल । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि उद्धार तथा स्वास्थ्य उपचारमा सहयोग पु¥याउन धुलिखेल अस्पतालले स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । डा. शैलेशको नेतृत्वमा श्रीजेश पराजुली, रामप्रसाद ढकाल, श्रवण गौतम तथा चालक राम वाग्ले सम्मिलित टोली आधारभूत आपत्कालीन व्यवस्थापन सामग्रीसहित नुवाकोटको विदुरतर्फ प्रस्थान गरेको हो ।
टोलीले विदुर नगरपालिकाका स्वास्थ्य संयोजकसँग आवश्यक समन्वय गरी घटनास्थलमा स्वास्थ्यसम्बन्धी सेवा तथा आपत्कालीन व्यवस्थापनमा सहयोग गर्नेछ । नुवाकोटस्थित थान्सिङ आउटरीच सेन्टरमा कार्यरत डा. अभिराल र उहाँको टोलीले समेत घटनास्थलमा आवश्यक सहयोग उपलब्ध गराउने जनाइएको छ ।
घटनास्थलबाट प्राप्त हुने स्वास्थ्यसम्बन्धी जानकारी तथा अवस्थाको मूल्याङ्कनका आधारमा क्लिनिकल व्यवस्थापन र सम्भावित रोगको प्रकोप रोकथामका लागि थप स्वास्थ्यकर्मीको टोली तथा आवश्यक सामग्री पठाउने तयारी धुलिखेल अस्पतालले गरेको छ । अस्पतालले सहयोग तथा समन्वय आवश्यक पर्ने व्यक्ति तथा निकायलाई परिचालित स्वास्थ्यकर्मीको टोलीसँग निर्धक्क भएर सम्पर्क गर्न अनुरोध गरेको छ ।
यसैगरी, काठमाडौँमा आवश्यक पर्ने स्वास्थ्य तथा अन्य सहयोगका लागि डा. पंकजको नेतृत्वमा रहेको फरेन्सिक मेडिसिन टोलीलाई समेत तयारी अवस्थामा राखिएको अस्पतालले जनाएको छ ।
