भकुण्डेवेँसी । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत नमोबुद्ध नगरपालिका स्तरीय नियमित खोप सुदृढीकरण, सरसफाइ प्रवद्र्धन तथा सूक्ष्मयोजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।

नगरपालिकाको सभा हलमा भदौ १६ र १७ गते दुई दिनसम्म सञ्चालन भएको गोष्ठीमा नियमित खोप कार्यक्रमको समीक्षा, सरसफाइ प्रवद्र्धन तथा आगामी दिनको खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो । कार्यक्रममा नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुनसाङ लामा लगायत जनप्रतिनिधि तथा सम्बन्धित स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो ।

गोष्ठीमा जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोककी प्रमुख रागिश्री कक्षपति श्रेष्ठले महत्वपूर्ण सल्लाह तथा सुझाव प्रदान गर्नुभएको थियो । त्यस्तै, खोप अधिकृत पार्थमणि न्यौपानेले दुई दिनसम्म नियमित खोप कार्यक्रमको समीक्षा, सरसफाइ प्रवद्र्धन, सूक्ष्मयोजना तर्जुमा लगायतका विषयमा सहभागीलाई जानकारी तथा पुनर्ताजगी गराउनुभएको थियो ।

कार्यक्रमले नगरपालिकाभित्र नियमित खोप सेवाको पहुँच र प्रभावकारिता थप सुदृढ गर्दै बालबालिकालाई समयमै आवश्यक खोप उपलब्ध गराउन तथा सरसफाइसम्बन्धी जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रम आयोजकले उपस्थित नगर प्रमुख, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सम्बन्धित सबैप्रति आभार व्यक्त गर्दै गोष्ठीलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *