काभ्रे । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले गत आर्थिकवर्ष ०८०÷०८१ र चालु आर्थिक वर्षको हालसम्मको प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
पनौती नगरपालिकाको सभा हलमा सोमबार सम्पन्न कार्यक्रममा जिल्लाका सबै स्थानीय तहहरु, संघीय र प्रादेशीक सरकारी कार्यालयहरुको प्रगति समीक्षा गरिएको हो । प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सबै स्थानीय तहहरुले पठाएका प्रगती विवरणका आधारमा भिडियो सामाग्रीबाट समीक्षा प्रस्तुत गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख दिपककुमार गौतमले केही पालिकाहरु बाहेक धेरैजसोले पठाएका विवरण सन्तोषजनक नभएको बताउनुभयो । उहाँले पालिकाहरुले कार्यसम्पादनमा सुधार गर्नुपर्नेमा जोड दिँदै आफ्ना गतिविधीहरु समयमै पठाउन पनि पालिका प्रमुखहरुलाई आग्रह गर्नुभयो ।
जिल्लाका १३ पालिकाहरुको कार्यसम्पादनमध्ये बनेपा नगरपालिका उत्कृष्ट भएको छ । यो आर्थिक वर्षमा स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कनमा ९२.५ अंक प्राप्त गरी बनेपा जिल्लाकै उत्कृष्ट नगरपालिका बन्न सफल भएको हो ।

यस्तो छ पालिकाहरुको कार्यसम्पादन गतिविधी
१. बनेपा नगरपालिका
बनेपा काभ्रेपलाञ्चोक जिल्लाको पहिलो नगरपालिका हो । यो नगरपालिका जिल्लाको मात्रै होइन राजधानी पूर्वको मुख्य ब्यापारिक केन्द्र पनि हो । बनेपा नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा ८७.७६ प्रतिशत वित्तिय प्रगती गरेको छ । यो आर्थिक वर्षमा स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कन (लिसा) मा ९२.५ अंक प्राप्त गरी जिल्लाकै उत्कृष्ट नगरपालिका बन्न सफल भएको छ ।
नगरपालिकाले कार्यतालिका बनाई काम गर्ने बानीको विकास गरेको छ । आम्दानीमा समेत सुत्रको प्रयोग, जिन्सीमा पिएएमएसको प्रयोग, लेखा व्यवस्थापनमा इएफटि लागू गरिएको छ । कार्य सम्पादनका लागि एक वडा एक प्राविधिकको व्यवस्था, स्वास्थ्य प्रमुखहरुको घुम्ती बैठक र कार्यपालिकाको घुम्ती बैठक निरन्तर हुँदै आएको छ ।
लिसामा जिल्ला प्रथम, गेस्ट अडिटमा प्रदेश प्रथम, ज्येष्ठ नागरिकको निःशुल्क दन्त परीक्षण तथा कृत्रिम दाँत प्रत्यारोपण, प्रत्येक शुक्रबार हाटबजार सञ्चालन, पशुको निःशुल्क बिमा, विद्यूतीय नक्सापास प्रणाली प्रारम्भ, नगर यातायात गुरुयोजना निर्माण, योजना सफ्टवेयर लागू, बनेपा आधारभूत नगर अस्पतालका लागि जग्गा प्राप्ति नगरपालिकाका प्रमुख उपलब्धी हुन् ।
२. धुलिखेल नगरपालिका
यो जिल्लाको दोस्रो नगरपालिका हो । यो नगरपालिका आन्तरिक तथा बाह्य पर्यटकहरुको गन्तब्यस्थलको रुपमा परिचित छ । नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा ७८.२४ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ । धुलिखेल वित्तिय सुशासन जोखिम मुल्याङ्कनमा ८३ अंक ल्याएर नगरपालिकाहरु मध्ये प्रथम भएको छ ।
धुलिखेल नगरपालिका एसियाको दोस्रो र नेपालको पहिलो हेल्दी सिटी घोषणा भएको छ । नगरपालिकाको वडानम्बर ४ बाट नेपालमै पहिलो पटक सुरु गरिएको सडक ठेगानासहितको घर नम्बर सिस्टम सबै वडामा लागू गरिएको छ । नगरपालिकाको परिसरमा बालमैत्री तथा स्तनपान कक्ष सञ्चालनमा ल्याइएको छ । उच्च माध्यमिक तहमा निःशुल्क शिक्षाको ब्यवस्था गरिएको छ भने धुलिखेल संग्रहालय निर्माण सम्पन्न भएको छ ।
एकल अधिकार तथा साझा अधिकारसम्बन्धी संघीय कानुन तथा मापदण्ड नबन्दा स्थानीय कानुन बनाउन समस्या परिरहेको छ । सशर्त अनुदानको कार्यक्रमहरु आवश्यकतामा आधारितभन्दा पहुँचमा आधारित हुँदा समस्या भएको धुलिखेल नगरपालिकाले महसुस गरेको छ ।
३. पनौती नगरपालिका
सांस्कृतिक नगरीको रुपमा परिचित छ, पनौती नगरपालिका । यो नगरपालिका जिल्लाको तेस्रो नगरपालिका हो । योमरीको उत्पत्तिसमेत यही नगरपालिकाबाट भएको बताइन्छ । पनौती नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा ७२.२१ प्रतिशत खर्च गरेको छ ।
बाल क्लबका किशोर किशोरीहरुलाई आत्मरक्षासम्बन्धी तालिम दिइएको छ भने बुबा वा आमाविहीन बालबालिकाहरुलाई बालगृहमा पठाउन निरुत्साहित गर्न शैक्षिक सहयोग प्रदान गरेको छ । यहाँ सूचनाको हक कार्यान्वयन, आर्थिक अनुशासन, समन्वय र सहजीकरणका काम भएका छन् ।
४. नमोबुद्ध नगरपालिका
धार्मिक तीर्थस्थलको रुपमा चिनिन्छ नमोबुद्ध नगरपालिका । विश्वमै प्रख्यात नमोबुद्ध यही नगरपालिकामा छ । यो नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा ७९.५७ प्रतिशत वित्तिय प्रगति गरेको छ । मौरीपालन व्यवसाय प्रवद्र्धन कार्यक्रम अन्तर्गत नगरपालिकामा नै घार निर्माण गरिएको छ । प्लास्टिक टनेलमा बेमौसमी तरकारी खेती गर्ने कृषकहरुको संख्यामा वृद्धि भएको छ भने व्यवसायिक खेतीतर्फ कृषकहरुको आकर्षण बढ्दो छ ।
यहाँ जेष्ठ नागरिक घरदैलो कार्यक्रम, मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया, जनप्रतिनिधी, स्वास्थ्यकर्मी र शिक्षकहरुलाई अभिमुखिकरण तथा आँखा परिक्षण कार्यक्रम सम्पन्न भएका छन् ।
वडास्तरीय मेलमिलाप केन्द्रहरुका लागि आवश्यक कार्यालय सामग्री वितरण गरिएको छ । रेविज रोग नियन्त्रणका लागि ४ सय ६१ वटा कुकुर, बिरालो र बाख्राहरुलाई रेविजविरुद्धको खोप लगाइएको छ । आयोजनाहरु तोकिएको समयमा सम्झौता एवं सम्पन्न नगर्नु, कामको गुणस्तर नियन्त्रण नहुनु, जनश्रमदान जुटाउन नसक्नु यो नगरपालिकाका मुख्य चुनौती हुन् ।
५. पाँचखाल नगरपालिका
कृषि नगरीको पहिचान बोकेको पाँचखाल नगरपालिकामा ९ हजार १३३ घरधुरी छन् । यो नगरपालिकामा १३ वटा वडा छन् । यसले सेवा प्रवाह, पारदर्शिता र जवाफदेहिता बोधका साथ काम गर्दै आइरहेको छ ।
चालु आर्थिक वर्ष २०८०÷०८१ मा यो पालिकाले विषय क्षेत्रगत अन्तर्गत ७२.६५ प्रतिशत वित्तिय उपलब्धी हासिल गरेको छ । हेल्दी सिटी बनाउने कार्य अन्तर्गत सम्पूर्ण वडाहरुमा स्वास्थ्य सर्वेक्षण सम्पन्न गरिएको छ । विद्यालय आयआर्जन कार्यक्रम सञ्चालन गरिएको छ । त्यस्तै लैंगिक हिंसा निवारण कोष स्थापना र सञ्चालन गरिएको छ ।
नगरपालिकाले तहगत कानूनी अन्यौलता, घाटा बजेट, आन्तरिक आर्यको दायरा साँघुरो, अनावश्यक सूचना माग गर्ने प्रवृत्ति र योजना ब्यवस्थापनलाई मुख्य समस्या मानेको छ । जनप्रतिनिधी र कर्मचारीहरुलाई क्षमता अभिवृद्धि तालिम, शहर उन्मुख नगरहरुको एकीकृत विकासमा समन्वयात्मक भूमिका, पालिकाहरुको नियमित अनुगमन र राष्ट्रिय राजमार्गमा सवारी व्यवस्थापन गरिदिन संघीय सरकारसँग नगरपालिकाले अपेक्षा राखेको छ ।
६. मण्डनदेउपुर नगरपालिका
देउपुर र मण्डनः कृषि र पर्यटन भन्ने मुलमन्त्र बोकेको मण्डनदेउपुर काभ्रेपलाञ्चोक जिल्लाको कान्छो नगरपालिका हो । विश्वमा चर्चित पर्यटकीयस्थल नगरकोट, चाखोला र सिपाघाटको फाँट यही नगरपालिकाभित्र पर्दछ । यो नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा ७४.२५ प्रतिशत वित्तिय प्रगती गरेको छ ।
नगरपालिकाले शिक्षामा आमुल परिवर्तन आउने काम गरेको छ । स्वास्थ्य, कृषि र पशुपालन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्दै आइरहेको छ । मुख्य–मुख्य सडकहरु कालोपत्रे भएका छन् भने थप १५ बेडको अस्पताल निर्माणको चरणमा छ, एक घर, एक धारा कार्यक्रमका लागि बृहत मण्डनदेउपुर खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । नयाँ प्रशासकीय भवन निर्माण भएको छ । यसले सेवा प्रवाहमा सहजता प्रदान गरेको छ ।
गाउँपालिकाहरु
१. खानीखोला गाउँपालिका
काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारी भनेर चिनिने खानीखोला गाउँपालिका प्राकृतिक छटाले भरिपूर्ण छ । विकास निर्माणका हिसाबले भने अन्य गाउँपालिकाको तुलनामा अलिक पछाडि छ । तर विकासको क्रम भने तीब्ररुपमा अघि बढाइएको छ । यो गाउँपालिकाले संघ तथा प्रदेश सरकारबाट आर्थिक वर्ष २०८०÷०८१ मा समानीकरण, सशर्त, समपुरक र विशेष अनुदान गरी जम्मा ३५ करोड ५७ लाख ५४ हजार रुपैयाँ प्राप्त गरेको छ । गाउँपालिकाको विषय क्षेत्र र उपक्षेत्र अन्तर्गत बार्षिक वित्तिय प्रगति ८२.३३ प्रतिशत रहेको छ । गाउँपालिकाले १९८ वटा योजना सम्पन्न गरेको छ ।
खानीखोला गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ को ६ महिनामा १७.४८ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ । यो गाउँपालिकाको केन्द्रसम्म बाह्रै महिना यातायात सञ्चालनका लागि सडकलाई मजबुद बनाउन आवश्यक छ ।
२. महाभारत गाउँपालिका
डाँडापारी क्षेत्रमा नै पर्ने अर्को गाउँपालिका हो महाभारत । यो गाउँपालिकामा ८ वटा वडाहरु छन् । सडक, विजुली, खानेपानी, स्वास्थ्य जस्ता आधारभूत विकास निर्माणमा गाउँपालिकाले लोभलाग्ने गरी काम गरिरहेको छ ।
यो गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा ७७.७७ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । वर्षभरि यो गाउँपालिकामा ८ सय ५९ वटा ब्यक्तिगत घटना दर्ता भएका छन् भने १ हजार ४ सय २० जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् । यो पालिकाले एमटिईएफ, क्षेत्रगत गुरुयोजना, राजस्व सुधार, क्षमता विकास, भूउपयोग र स्थानीय पाठ्यक्रम विकास योजना निर्माण गरेको छ ।
३. बेथाञ्चोक गाउँपालिका
बेथाञ्चोक गाउँपालिका राजधानीबाट ४५ किलोमिटर दक्षिणमा पर्दछ । यो गाउँपालिकामा ६ वटा वडाहरु छन् । यो गाउँपालिकाको नाम साबिक ढुंखर्कस्थित समुन्द्री सतहबाट करिब ३ हजार १८ मिटर अग्लो स्थानमा रहेको बेथाञ्चोक नारायण मन्दिरबाट नामाकरण गरिएको हो । यो गाउँपालिका वित्तिय सुशासन जोखिम मुल्याङ्कनमा ८२.५ अंक ल्याएर गाउँपालिकाहरु मध्ये प्रथम भएको छ । यो गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ मा आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन, वातावरण तथा विपद् ब्यवस्थापन र सुशासन तथा संस्थागत क्षमता विकासतर्फ कुल ६५.९९ प्रतिशत खर्च गरेको छ ।
गाउँपालिकाले ७६८ वटा योजना सम्पन्न गरेको छ । गाउँपालिकाले सडक ढलान तथा पिच, एक घर, एक धारा कार्यक्रम, पशु तथा कृषि, स्वास्थ्यको क्षेत्रमा उल्लेखनिय काम गरेको छ । प्रदेश र संघीय सरकारबाट स्थानीय तहमा आयोजना सञ्चालन गर्दा स्थानीय तहसँग समन्वय नहुँदा प्रभावकारी नियन्त्रण अनुगमन तथा मूल्याङ्कन समस्या हुँदै आएको छ, भने संघीय सरकारबाट स्थानीय सरकारलाई दिने सशर्त अनुदान आर्थिक वर्षको सुरुमा नै उपलब्ध गराउन र स्थानीय सरकारको क्षमताले भ्याउने आयोजनामा मात्र सशर्त अनुदान वितरण गर्न संघीय सरकारसँग अपेक्षा गरिएको छ ।
४. भुम्लु गाउँपालिका
भुम्लु जिल्लाको कोशी पूर्वमा पर्ने गाउँपालिका हो । सुनकोशी, इन्द्रावती नदी र मुलखर्क भीमसेनस्थान यो गाउँपालिकाका मुख्य चिनारी हुन् । गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा विषय क्षेत्रगत र उपक्षेत्रगततर्फ ६७.१६ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ ।
गाउँपालिका पूर्ण खोपयुक्त घोषणा भइसकेको छ । बाल विवाह र बहुविवाहको समस्या पाइएको छैन । सडक बालवालिकाहरु गाउँपालिका भरि नै छैनन् भने योजनाहरु निर्माण गर्दा लक्षित समुहलाई ध्यानमा राखेर निर्माण गरिँदै आएको छ । गाउँपालिकाबाट वितरण गर्दा कृषि सामाग्री (ट्याक्टर, च्यापकटर लगायत), उन्नत जातका भैसी÷राँगा÷बाख्रा वितरण गर्दा आर्थिकरुपले विपन्न, दलित, सिमान्तकृत र अल्पसङ्ख्यकहरुलाई प्राथमिकतामा राखिएको छ भने ग र घ वर्गको परिचय पत्र प्राप्त गरेका अपाङ्गता भएका ब्यक्तिलाई वार्षिकरुपमा जिविकोपार्जनका लागि गाउँपालिकाले आर्थिक सहायता गरिँदै आएको छ ।
गर्भवतीहरुलाई निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था गर्नुका साथै आवश्यकता अनुसार निःशुल्क एम्बुलेन्स सेवा पनि उपलब्ध गराइएको छ । स्थानीय÷रैथाने बालीको संरक्षण गर्ने उद्देश्यले उत्पादनका आधारमा किसानलाई कोदो प्रतिपाथी २५ रुपैयाँ र फापर प्रतिपाथी ३० का दरले अनुदान दिँइदै आएको छ ।
भुम्लु गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाबीचमा रहेको सीमा विवाद, भुम्लु गाउँपालिकाको वडा नम्बर ७ र ८ को पूरै तथा भुम्लु २ मा रहेको लालपूर्जा समस्या गाउँपालिकाका मुख्य समस्या हुन् ।
५. चौंरीदेउराली गाउँपालिका
कोशी पूर्वमा नै पर्ने जिल्लाको अर्को गाउँपालिका हो चौंरीदेउराली । यो गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा ४२ प्रतिशत खर्च गरेको छ । गाउँपालिकाले १८ प्रतिशत योजना सम्पन्न गरेको छ ।
सडक संजालमार्फत गाउँपालिकाको केन्द्रसँग सबै वडा केन्द्रहरु जोड्ने रणनीतिक सडकहरु निर्माण गरिएको छ । गाउँपालिकाभित्र एक घर एक धारा निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ भने गाउँपालिकाको ९ वटै वडा कार्यालयहरुबाट अनलाइन राजश्व सकंलन गर्ने कार्यको थालनी भएको छ ।
गाउँपालिकाभित्रका वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकीहरुमा फाइवर इन्टरनेटको पहुँच पुर्याइएको छ । वित्तिय सुशासन कायम गरी गाउँपालिकाको बेरुजु शुन्य बनाउने अभियान अनुसार सबै प्रकारका काम कारबाहीलाई जवाफदेही र पारदर्शी बनाइएको छ । १५ शैया अस्पताल निर्माण कार्यको शूरुवात गरिएको छ । गाउँपालिका र वडा कार्यालयबाट प्रदान गरिने सेवाहरुलाई अनलाइनमार्फत गरिने कार्यको शुरुवात गरिएको छ ।
न्युन आय भएका, जनयुद्ध जनआन्दोलनका शहीद, वेपत्ता, घाइते नागरिकहरु र क र ख अपाङ्गता भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमको थालनी गरिएको छ । घुम्ती सेवामार्फत नागरिकहरुलाई सेवा प्रदान गरिनुका साथै किसानहरुका लागि पशु बीमा निःशुल्क गरिएको छ ।
लामो दुरीका मुहानबाट संचालित खानेपानी योजनाहरु मर्मत सम्भारका दृष्टिकोणले खर्चिलो, गाउँपालिकाको लागि व्यवस्थित प्रशासनिक भवन निर्माण गर्न नसक्नु, पालिकाको अधिकांश भूगोल भिरालो तथा जटील र भू–धरातलको कारण पूर्वाधार विकास अपेक्षाकृतरुपमा हुन नसक्नु चौंरीदेउराली गाउँपालिकाका मुख्य समस्या हुन् । त्यस्तै गाउँ बस्तीमा युवापुस्ता पलायन हुने क्रम तीव्र हुनु, गाउँपालिकाको आन्तरिक श्रोत ज्यादै न्युन रहनु, कृषकले उत्पादन गरेका कृषि सामानहरुको बजार व्यवस्थापन गर्न पनि समस्या देखिएको छ ।
६. रोशी गाउँपालिका
तीनधारे झरना, भूमेचुली भ्यू टावर, ताराखसे हात्ती आहाल प्रमुख गन्तव्यस्थल भएको पालिका हो रोशी गाउँपालिका । रोशी गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह घोषणा गरिएको छ ।
गाउँपालिकाको आन्तरिक आय अभिबृद्धि गर्नका लागि राजस्व सुधार विशेष अभियान संचालन गरी ११३.८६ प्रतिशत राजस्व संकलन गरिएको छ, ज्येष्ठ नागरिक स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत २ हजार १३९ परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । करको दरहरु बैज्ञानिक हुन नसक्दा उपभोक्ताहरु मारमा पर्नु, आयोजना बैंक तयार गरी कार्यान्वयन गर्न नसक्नु, भौगोलिक कठिनताका कारण विकास आयोजनाहरु समयमा नै सम्पन्न गर्न नसक्नु, रोजगारको अवसर सृजना गरी उत्पादनशील युवाहरु विदेश पलायन हुने प्रवृत्तिलाई निरुत्साहित गर्न नसक्नु रोशी गाउँपालिकाका मुख्य समस्या हुन् ।
७. तेमाल गाउँपालिका
तामाङ सामुदायको सबैभन्दा बाक्लो बसोबास रहेको पालिका हो तेमाल । यो गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा ४४ करोड ५९ लाख ५० हजार ६३१ रुपैँया खर्च गरेको छ । यो पालिकाले आफ्नै पहलमा स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरेको छ । सडक पूर्वाधार निर्माणसम्बन्धी–९ वटा रणनीतिक सडक निर्माण गरेको छ । तामाङ संग्रहालय सञ्चालनमा ल्याउँदैछ भने साँस्कृतिक पर्यटन सम्भावना र चुनौतीसम्बन्धी तेमाल र सुनपत्ति गाउँपालिका जोड्ने सहासिक पूल निर्माणसम्बन्धी निजी क्षेत्रसँग छलफल गरिएको छ ।
गाउँपालिकाले स्थानीय तहलाई प्राप्त हुने बजेट समयमा नै निकासा दिन, मानव संसाधन व्यवस्थापन गर्नतर्फ जोड दिन, जनताका आधारभूत आवश्यकताको सम्बोधन गर्न, दीर्घकालीन महत्वका योजना निर्माण तथा स्थानीय सरकार, प्रशासन र व्यवस्थापनमा समन्वयकारी भूमिकाको अपेक्षा गरेको छ । (जिसस कार्यालयले प्रस्तुत गरेको समीक्षा रिपोर्टका आधारमा तयार)
