काठमाडौँको पशुपति क्षेत्रस्थित गुह्येश्वरीबाट गौरीघाटसम्मको बागमती किनारमा छठ घाट निर्माण हुँदै । बागमती किनारलाई सजाएर छठ घाट निर्माण भइरहेको छ । तस्बिरः नवीन पौडेल/रासस

काठमाडौँ । तिहार सकिएलगत्तै काठमाडौँ उपत्यकामा छठको रौनक सुरु भएको छ । काठमाडौँ उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका स्थानमा छठका लागि गरिएको तयारी अन्तिम चरणमा पुगेको छ ।

छठ पूजाका लागि काठमाडौँका नदी किनार झिलिमिली बत्तीसहित सिङ्गारिएका छन् । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा आकर्षकरुपमा छठघाट निर्माण थालिएको छ।

गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षकरुपमा सजाएर छठघाट अर्थात् पूजास्थल निर्माण गरिएको छ। उक्त क्षेत्रमा पाँच सय ६७ छठघाट अर्थात् पूजा कक्ष निर्माण गर्न लागिएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका सदस्य चन्द्रकान्त झाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले पाँच सय ६७ छठ घाट निर्माण गरेका छौँ, आज बिहानसम्म पाँच सय ५० वटा स्टल बुक भइसकेका छन् ।”

यसैगरी कमलपोखरीमा पनि छठको तयारी भइरहेको र टेन्ट राख्ने काम लगभग सकिएको छठ पूजा समाजले जनाएको छ। कमलपोखरीमा २६० वटा टेन्ट बनाएको समितिले जनाएको छ । छठका लागि काठमाडौँका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका स्थानमा रहेका नदीहरुको सरसफाइ गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *