काभ्रे । काभ्रेको धुलिखेलमा ३५ वर्षपछि भीमसेन जात्रा सञ्चालन गरिएको छ । लामो समयदेखि रोकिएको मार्ग शुक्ल पूर्णिमाको दिनमा मनाइने भीमसेन जात्रा यस वर्षदेखि फेरि मनाउन थालिएको हो । कला, संस्कृतिको संरक्षण गर्नुपर्छ भन्दै स्थानीय युवाहरू जुटेर जात्रालाई निरन्तरता दिने उद्देश्यले पुनः सुरु गरिएको स्थानीयहरुले बताए ।
परापूर्वकालदेखि नै भीमसेन गुठियारले मनाउँदै आएको भीमसेन जात्रा आर्थिक व्यवस्थापन र विभिन्न समस्याका कारण ३५ वर्षदेखि रोकिएको थियो । यसको संरक्षण र व्यवस्थापनका लागि सिखलापुर युवा क्लब धुलिखेलको सक्रियता र धुलिखेलका स्थानीयको सहयोग र समन्वयमा जात्रालाई निरन्तरता दिइएको क्लबका प्रतिनिधि अर्बिन माकजुले बताए ।
स्थानीय ५८ वर्षीय बेकुलाल कपालीका अनुसार, मार्ग शुक्ल पूर्णिमाको अघिल्लो दिनमा धुलिखेलमा रहेका मठमन्दिरमा पूजा गरेर जात्राको सुरुवात गरिन्छ । सोही दिनमै धुलिखेल–७ स्थित भीमसेन मन्दिरमा राँगाको बलि दिइन्छ । जात्राका लागि भीमसेनको मूर्ति पूजा गर्न मूलघरमा निमन्त्रणा दिइन्छ ।
मार्ग शुक्ल पूर्णिमाको दिनमा धुलिखेलमा रहेको भगवती र हरिसिद्धिमा मूल पूजा गरी भीमसेन जात्राको सुरु हुन्छ । धुलिखेल–७ स्थित भीमसेन मन्दिरबाट सुरु भई धुलिखेल–६ स्थित चोच्छेंमा रहेको गणेश मन्दिरमा पुगेर विसर्जन गरिन्छ ।
