लक्ष्मी पाठक
बोटबाट पात झर्यो
माटोमा बिलायो !
आकाशबाट
पानी बर्षियो
माटोमै बिलायो !
हिमालमा हिउँ पर्यो
माटोमै बिलायो !
हावा हुरीले
उडायो कसिंगर
माटोमै बिलायो !
माटो संगको मित्रता
माटो संगको सामीप्यता
ढुंगालाई पनि छ
रुखका जरा जरालाई छ !
पाखा भरी
फूलेका गुराँसका थुँगाहरु
बुड्यौलिले छोएपछि
माटो मै फूलेर बिलाउछन् !
सुनेको हुँ !
माटोमा सुन फल्छ
मोती चम्कन्छ !
गुराँसका जराले
माटो उदिनेर घर बनाउछ !
माटोमै
डांफे हुर्कन्छ
मयुर नाच्छ !
माटोकै शोभा बढाउन
माटो जुगजुग सम्म
माटो भएरै धर्तीमा
जन्मिरहन्छ !
मैल बिर्सिएको छैन
म पनि त माटो नै हुँ !
म पनि त धुलो हुँ !
आफ्नै
अस्तित्व बिर्सिएर
म माटो भन्दा
अलग हुन चाहान्न !
मान्छे
मुर्ख बनेर
मान्छे हुनुको घमण्ड गर्छ
आफ्नै अस्तित्व
बिर्सिएर
आफ्नै आकृतिमा
माटोको सालिक बनाउँछ ।
