शिला कुमारी खरेल
आफ्नै थिए बलिया नंग्रा
खोर्सिएर किरा खोजी खान्थ्यौ
झिँजाहरू बोटुलेर खट्प्वालमा गुँड बनाउथ्यौँ
छैन अब खट्प्वाल कहाँ होला हाम्रो बास
किरा फट्यांग्रा खोर्सने जमिनै छैन
बलिया नंग्रा भएर के भो र !
खुल्ला ठाउँमा बसौँ त बिराला र कुकुरले दुःख दिन्छन्
टुडाँल हालेको पाली छैन कतै
न त खट्प्वाल नै
अलि अलि भएका जमिन पनि बाँझै छन्
सक्दैनन् हाम्रा नंग्रा र चुच्चाले बाँझो जमिन खोर्सिन
के खाएर बाँचौँ अब ?
लह लह झुलेका धानका बाला हुन्थे खेतमा
त्यही बालाबाट टप्प टिपी खान्थ्यौँ हामी एक दाना
अहिले कँही कँही कतै कतै मात्र देखिन्छन्
अलि अलि मात्र झुलेका छन् धानका बाला
उडेर जाँदा जाँदै रात पर्छ हामीलाई
फर्केर आउन सकिदैन गुँडमा ।
बचेराहरूको बिचल्ली हुन्छ गुँडमा
चाँ चाँ र चुँ चुँ गरी रून्छन् अब रातभरी
भोक मेटाउन न त टिप्न पाएँ गड्यौला न त फट्यांग्रो नै
के लिएर फर्कौँ अब म गुँडमा
विलौना गरी चरी रून्छन् आफ्नै पीडा पोखेर ।
एक खट्प्वालबाट अर्को खट्प्वाल चाहाथ्र्यौँ
बारीभरी भएका तोरी र कोदो खान्थ्यौँ
बिस्कुन सुकाएको मकै, धान र गहुँ
दायाँ बायाँ हेरी टप्प टिपी खान्थयौँ
देखिदैन अहिले त कतै सुकाएको बिस्कुन
के खान्छन् होला अहिले ति मानवहरू ?
