बनेपा । व्यवसायीक रुपमा खेती गर्ने किसानको संख्या त देशमा धेरै छ । तर परम्परागत रुपमा हुने खेतीबाट आम्दानी सोचेजस्तो नभएपछि नयाँ तरिकाको खेतीमा लाग्नेहरुको संख्या पनि बढ्दैछ ।
दैनिक हजारौं यूवा रोजगारीका लागि विदेश पलायन भइरहँदा स्वदेशमै केही गरौं भन्ने सोचले शुरु भएको स्ट्रेबरी खेतीले यतिबेला मुक्ति विष्टलाई सफल व्यवसायी बनाएको छ । १२ वर्षअघिको सोचलाई उहाँले लकडाउनको समयमा व्यवसायमा परिणत गर्नुभयो । काभ्रेको बनेपा नगरपालिका–१० का स्थायी वासिन्दा विष्टले अहिले बनेपा र ककनीमा गरि १० रोपनी क्षेत्रफलमा स्ट्रेबरी लगाउनु भएको छ । यस वर्ष पनि उहाँले लगाएको खेतीबाट उत्पादन शुरु भइसकेको छ । फल टिप्न र बजार पठाउन उहाँलाई भ्याइनभ्याइ छ ।


उहाँले स्ट्रेबरी खेतीका लागि करिब ३० लाख लगानी गर्नुभएको छ । गत वर्ष सबै खर्च कटाएर ३० लाख बचत गर्नुभएका उहाँ यसवर्ष यतिकै हाराहारीमा आम्दानी लिने बताउनु हुन्छ । विष्टले स्ट्रेबरी मात्र लगाउनु भएको छैन, मौसमअनुसारका अन्य तरकारी र कुखुरापालन पनि गरिरहनु भएको छ । उहाँको व्यवसायमा दैनिक ५ जनाले रोजगारी पनि पाएका छन् । स्ट्रेबरी खेतीको राम्रो सम्भावना रहेको तर यसका लागि राज्यले कुनै सहयोग नगरेको उहाँ बताउनुहुन्छ ।
स्ट्रेबरी खेतीका समस्या पनि छन् । मुख्य समस्या सिंचाइको हो । उहाँले खानेपानीका लागि प्रयोग हुने पानीबाट सिंचाइ गरिरहनु भएको छ । व्यवसायका लागि उहाँले विभिन्न सहकारी र बैंकबाट ऋण लिनुभएको छ । तर सरकारले दिने सहुलियत ऋण भने पाउनु भएको छैन । रासायनिक मलको पनि समस्या छ तर उत्पादनको बजारीकरणका लागि भने समस्या नभएको उहाँ बताउनु हुन्छ । प्रतिकेजी स्ट्रेबरीकोे बजारमा ३०० देखि ७०० रुपैयाँसम्ममा बिक्री हुने विष्टको भनाइ छ ।
विष्टले आफ्नो व्यवसायलाई अब कसरी नयाँ रुप दिने भनेर सोच बनाउनु भएको छ । केही समयमै स्ट्रेबरी खेतीबाट वाइन र जुस कम्पनी खोलेर यसलाई उद्योगको रुपमा विकसित गर्ने उहाँको तयारी छ । यसका लागि विज्ञहरुसँग सल्लाह गरिरहेको उहाँले बताउनुभयो । यसका अतिरिक्त बिरुवा चाहिनेहरुका लागि पनि स्ट्रेबरीका बिरुवा उत्पादन गरेर बेच्ने गरिरहेको विष्टले जानकारी दिनुभयो । स्ट्रेबरी आफैंमा एक स्वादिलो र पोषिलो फल भएको र यसले मानव स्वास्थ्यमा धेरै नै फाइदा दिने भएकाले बजारमा माग र मूल्य उच्च भएको उहाँको अनुभव छ ।
देशभर करिब १० हजार किसान अहिले स्ट्रेबरी खेतीमा संलग्न छन् । उत्पादित फल स्वदेशमै खपत भइरहेको छ । गाउँघरमा त्यतिकै खेर गइरहेका बाँझो जमिनमा यसरी नै स्ट्रेबरी लगाउन सकिने हो भने उत्पादन बढाएर विदेश निर्यात गर्न सकिने सम्भावना छ । जसले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने निश्चित भएको मुक्ति बताउनु हुन्छ । अहिले उहाँको व्यवसायबाट प्रभावित भएर यो खेतीमा लाग्नेहरु पनि बढीरहेको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *