ज्ञानमणि नेपाल कालोटोपी

जिल्लाको ऐतिहासिक परिचय
पाषाण युगीन मानव विश्वका विभिन्न क्षेत्रहरूमा फैलिएर रहेका थिए । नेपालका विभिन्न क्षेत्रहरूको अध्ययनबाट यस क्षेत्रमा पनि नवपाषणकालिन सभ्यताको विकास भएको बुझिन्छ । नेपालमा लाखौं वर्षअघि मध्यपहाडी उपत्यकाहरूमा प्राग मानवहरूको बसोबास रहेका विभिन्न प्रमाणहरू पाइएका छन् । काठमाडौंको बुढानीलकण्ठको दक्षिणपूर्व धोबीखोलामा प्राप्त ढुङ्गे हतियारहरू विश्वमा अन्य देशमा पाइने प्राग मानवहरूले प्रयोग गर्दै आएका हतियारहरूसँग मिल्दाजुल्दा रहेका थिए । काभ्रेपलाञ्चोक, चरिकोट, लुभु लगायत स्थानहरूमा ढुङ्गे हतियार (बज्रढुङ्गा) फेला परेबाट आदिम मानवको उपस्थिति यस भेगमा रहेको देखिन्छ ।

प्राचिनकालमा गोपालवंशी शासकहरूको राज्यको सिमाना पूर्वमा दुधकोशी र पश्चिममा त्रिशुली नदीसम्म रहेको थियो भने उत्तरमा गोसाईंकुण्ड र दक्षिणमा चित्लाङसम्म फैलिएको इतिहासमा उल्लेख भएको पाइन्छ । हालको काभ्रे जिल्लामा त्यतिबेला गोपालवंशीहरूले शासन गर्दथे भन्ने पुष्टी हुन आउँछ । काभ्रे जिल्लाका केही ऐतिहासिक स्थानहरू साँगाको पुरानो नाम ‘शङ्गा’, खोपासीलाई ‘कुर्पासी’, नालालाई ‘नालङ्कु’, बनेपालाई ‘भुजङ’ र ‘वल्पो’ पलाञ्चोकलाई ‘पिराखचो’ भन्ने गरिन्थ्यो । यी स्थानको नामाकरण किराँत शब्दबाट भएको देखिन्छ । यसबाट के पुष्टि हुन्छ भने गोपालवंशीहरूलाई हटाई किराँतहरूले नेपालको शासन चलाएसँगै यी क्षेत्रहरूमा पनि किराँतहरूको शासन कायम रहेको थियो ।

कमलपाणीद्वारा लिखित ‘आयोस्निसविजयनामधारणी’ ग्रन्थमा बि.सं. ११५६ तिर धुलिखेलको सैनिक प्रशासन सामन्त रामदेवले गरेको देखिन्छ । त्यस्तै इतिहास अनुसार बि.सं. १२०७ मा बनेपाका सातगाउँ भूकम्पमा ध्वस्त भएपछि नेपालका राजा आनन्ददेव (शिवदेवका सन्तान) ले पुनर्निर्माण गरेको उल्लेख छ । बि.सं. १२८९ मा पलाञ्चोकका शासक उदयसिंहदेवले विद्रोह गरी नेपाल राज्यबाट स्वतन्त्र हुन खोजेकाले त्यतिबेलाका शासक अभयमल्लले उक्त विद्रोहलाई दबाउन बनेपा, फर्पिङ, नुवाकोटका शासकहरूको सहयोग लिएका थिए भन्ने इतिहासमा उल्लेख छ ।


बाह्रौं शताब्दीको अन्त्यतिर नेपालको राजनीतिमा एकान्तर शासन प्रणालीको शुरूवात भएको पाइन्छ । यस समयमा भोटान्त प्रदेशका शासकहरूले नेपालको शासन प्रणालीमा प्रभाव राखेका थिए । यिनीहरूको बनेपा दछुटोलमा (लायकु) वसन्तपुर नाम गरेका दरबार रहेको थियो । यहाँका शासक भने नेपालका तत्कालिन राजा आनन्ददेवले भक्तपुरमा बनाएको त्रिपुर दरबार (पछि पचपन्न झ्याले दरबारमा परिणत भएको) मा बस्ने गर्दथे । यी वंशका ६ जना राजाहरू (रणदेव, जयदेव, जयभिमदेव, जयआनन्ददेव, जयराजदेव र जय अर्जुनदेव) बि.सं. १२३७ देखि १४३८ सम्मको अवधिमा नेपालको राजा भएको उल्लेख छ ।
राजा जयभिमदेवको पालामा ई. १२६० मा बनेपा (वल्पो) का अरनिको ८० जना कलाकारसहित तिब्बती सरकारको अनुरोधमा तिब्बत पुगेका थिए । पछि उनी त्यहींबाट परिवारसहित चीन पुगे । अरनिकोका कारणले नेपाल र चीनबीचको सम्बन्ध सुमधुर रहेको थियो । अरनिको चीन गएपछि चीनबाट धेरै पटक नेपालमा चिनियाँ प्रतिनिधिमण्डलले भ्रमण गरेका थिए ।

यक्षमल्लको मृत्यु (वि.सं. १५३८) पछि नेपाललाई चार राज्यमा विभाजन गरी उनका छोराहरूले शासन सञ्चालन गरेका थिए । बनेपाका राजा उनका माहिला छोरा रण मल्ल रहेका थिए । त्यतिबेला बनेपाको सिमाना पूर्वमा दूधकोशी, पश्चिममा साँगा भञ्ज्याङ्ग, उत्तरमा साँगाचोक र दक्षिणमा मेदिनी मल्लको वन (हालको महाभारत क्षेत्र) रहेको थियो । रणमल्लको मृत्यु पश्चात बनेपा पुनः भक्तपुरमै गाभिएको थियो ।

शाह शासनकालको उदय पश्चात बि.सं. १८०३ भाद्र १८ गते गोरखा र भक्तपुरको संयुक्त फौजले साँखु, चाँगु, महादेवपोखरी र नाल्दुम कब्जा गरी दोलखासम्मका कान्तिपुरका प्रदेशहरू जिति भक्तपुरका राजालाई दिएका थिए । यी प्रदेश जयप्रकाश मल्ल राजगद्दीमा फर्केपश्चात कान्तिपुरले नै लिएको थियो । पछि बि.सं १९११ मा भने यी प्रदेशहरू गोरखाले नै लिएको थियो । पृथ्वीनारायण शाहले भक्तपुरको कब्जा (बि.सं. १८२६ मार्ग १४) गरे पश्चात बनेपा पनि बृहत नेपालमा गाभिन पुग्यो । करिव १५०० ई.पू. देखि ८८० ई सम्मको अवधिमा यस क्षेत्रमा मानव सभ्यता फष्टाएको पाइन्छ । यस भेगमा प्राचिन शिवलिङ्गहरु पाइनाले शैव धर्मका अनुयायी गोपालहरु पनि थिए भन्न सकिन्छ । दुम्जामा आश्रम भएका ‘ने’ मुनि यस जिल्लाबाट साँखु हुँदै काठमाडौं पुगेका थिए । त्यतिबेला काठमाडौंमा आदिवासी नाग जातिहरु राज्य गर्दथे । यी मुनि गोपालवंशीहरुका पुरोहित रहेका थिए । दक्षिणतिरवाट आएका गोपालवंशीहरु र आदिवासीहरुबीच युद्ध भए पश्चात गोपालवंशीका सरदारको मृत्यु भयो तर यिनीहरुले गोपालवंशीहरुलाई युद्धमा हराएका थिए । र त्यसपछि उनै गोपालवंशी सरदारका छोरा भुक्तमानलाई राजा वनाएका थिए ।

त्यस्तै त्रेतायुगमा गौतम ऋषिकी पत्नी अहिल्यासँग इन्द्रले आफ्नो भेष बदली यौनसम्पर्क गरेका कारण गौतम ऋषिको श्राप “सहस्र भग भवः” (हजार योनीका होउ) बाट प्रायश्चित गर्न बिरुपाक्ष साँगा, मण्डन, पनौती, बनेपामा आएको जस्ता कथा नेपाल महात्म्यमा उल्लेख छ । त्यस्तै किराँतकाल (११०० ई.पू.–३०० ई.पू.)मा बनेपा सातगाउँ र मण्डन भेगमा किराँतहरु थिए । मण्डन चारदेवीको राईवारीमा किराँतहरुको दरबार रहेको भन्ने किम्वदन्ती रहेको छ ।

बनेपाकी चण्डेश्वरी त्यतिबेलाकी नाग कविलाकी राजकुमारी थिइन् भन्ने जनश्रृति पाइन्छ । चण्डासुरले भगवान शिवबाट पुरुष शक्तिबाट नमर्ने वरदान पाएपश्चात उसले तिनैलोकमाथि विजय प्राप्त ग¥यो । युद्धमा हारेका स्वर्गका राजा इन्द्रलगायत देवताहरुले बनेपास्थित रक्त चन्दनको जंगलमा गई चण्डेश्वरी माताको प्रार्थना गर्न थाले । स्वर्गका राजा इन्द्रलगायत देवताहरु तपस्या गर्न थालेको थाहा पाई चण्डासुर त्यहीं आइपुग्यो तर देवताहरु बिभिन्न चराको रुप लिएर त्यहाँबाट आकाशतर्फ उडे । त्यतिनै बेला एक राक्षसले जङ्गलमा एक सुन्दरी देखेको चण्डासुरलाई जानकारी गरायो । चण्डासुरले सुन्दरीलाई नदेखेपछि आफूसँंग भएको खड्गले एक रक्तचन्दनको रुख काट्यो । त्यो देखेर रिसाई चण्डेश्वरी उत्पत्ति भई सो चण्डासुर राक्षसलाई मारिन् । तत् पश्चात चण्डेश्वरी मातालाई स्थानीयबासीहरुले रक्षकको रुपमा मान्दै आएको पाइन्छ ।

जिल्लाको नामाकरण
बि.सं. २०१८ सालको प्रशासनिक विभाजनपूर्व यस जिल्लाका भू–भागहरू पूर्व १ नं. क्षेत्र अन्तर्गत पर्दथ्यो । इतिहासअनुसार पूर्व १ नं. क्षेत्रमा २८ मौजाहरू रहेका थिए, जसको सदरमुकाम चौतारा थियो । ती मौजाहरू मध्ये काभे्र र पलाञ्चोक दुई ठूला मौजाहरू अन्तर्गतका गाउँहरूलाई मिसाई काभ्रेपलाञ्चोक जिल्लाको स्थापना गरिएको थियो ।

भौगोलिक अवस्थिती
काभ्रेपलाञ्चोक जिल्ला नेपालको मध्यपूर्वी पहाडी भू–भागमा अवस्थित जिल्लाहरू मध्येको एक हो । देशको प्रशासनिक विभाजनअनुसार यस जिल्ला वाग्मती अञ्चलमा पर्दछ । समुन्द्र सतहदेखि २८० मि.(कोखाजोर खोला) देखि ३०१८ मि. (वेथानचोक नारायण डाँडा) सम्म फैलिएको यस जिल्लाको कुल क्षेत्रफल १३९६ बर्ग कि.मि. रहेको छ । यस जिल्लाको पूर्वमा रामेछाप र दोलखा, पश्चिममा ललितपुर, भक्तपुर र काठमाडौं, उत्तरमा सिन्धुपाल्चोक र दक्षिणमा सिन्धुली र मकवानपुर जिल्लाहरू पर्दछन् । देशको राजधानी काठमाडौंबाट पूर्वीस्थानमा रहेको यस जिल्लाको मुख्य प्रवेशद्धार साँगा २१ कि.मि. को दुरीमा रहेको छ भने जिल्ला सदरमुकाम धुलिखेल ३० कि.मि.को दुरीमा रहेको छ ।

राजनीतिक एवं प्रशासनिक विभाजन
देशको प्रशासनिक विभाजनअनुसार शुरूमा यस जिल्लालाई ९९ गाविसहरूमा विभाजन गरिएको थियो भने बि.सं.२०३७ मार्ग १७ गते ६८ गाविसहरू कायम गरिएको थियो । पुनः वि.सं. २०३८ मा यस जिल्लामा ९७ गाविसहरू र १ नगरपालिका कायम गरिएको थियो । पछिल्लो समय वि.सं. २०७३ फाल्गुण २७ सम्म यस जिल्लामा ५ नगरपालिकाहरू र ७५ गाविसहरू रहेका थिए । तत्पश्चात् नयाँ संरचना अनुसार वि.सं २०७३ फाल्गुण २७ गते नेपाल सरकारले राजपत्रमा प्रकाशित गरी यस जिल्लालाई १३ वटा नयाँ स्थानीय तहमा विभाजन गरेको छ सो सम्बन्धी विवरण तल उल्लेख गरिएको छ ।

नयाँ संरचना अनुसारको गाउँपालिका तथा नगरपालिका
गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले बागमती अञ्चल, काभ्रेपलाञ्चोक जिल्लाका लागि तोकेको सिमा ११–१५ को अधिनमा रही आयोगको स्थानीय तहको पुनर्संरचना सम्बन्धि कार्यविधि र त्यसको थप संशोधनसहित स्थानीय विकास अधिकारीको अध्यक्षतामा स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति गठन गरी उक्त समितिलाई जिल्लाको नयाँ स्थानीय तहको संख्या र सिमाना निर्धारण गर्ने जिम्मेवारी दिएको थियो । सो अनुसार यस जिल्लाका राजनीतिक दलहरु, पत्रकार, नागरिक समाज, सम्बन्धित सरोकारवाला स्थानीय जनताहरुको बहुपक्षीय अन्तक्र्रिया, छलफल र परामर्शहरु गरी सम्मानित आयोगको स्थानीय तह पुनर्संरचनासम्बन्धी कार्यविधिको अधिकतम परिपालना र तोकिएको संख्या सीमा ननाघ्ने गरी अधिकतम राजनीतिक सहमतिका आधारलाई पनि दृष्टिगत गरी उक्त समितिले आयोगको कार्यविधिमा भएका मापदण्ड र जिल्लास्तर र स्थानीयस्तरका परामर्शहरुको आधारमा १३ वटा नयाँ स्थानीय तह (७ वटा गाउँपालिका तथा ६ वटा नगरपालिका)को सिमानासहित प्रतिवेदन तयार गरी आयोगमा पेश गरेको थियो ।

जिल्लाको भूगोल, जनसांख्यिक वितरण, भौतिक पूर्वाधारको अवस्था, प्राकृतिक श्रोत र साधनहरुको उपलब्धता र पहुँच आदिका कारण केहि इकाइहरुले आयोगको मापदण्डलाई पूर्णरुपमा सम्बोधन गर्न सकेको थिएन । जिल्लाको प्रस्तावित गाउँपालिका र नगरपालिका, तिनका केन्द्रहरु र वडाहरुको विभाजनसहितको प्रतिवेदन आयोगमा पेश भएकोमा समितिले सिफारीश गरे अनुरुप नै नेपाल सरकारको २०७३ फाल्गुण २७ गते प्रकाशित राजपत्रमा उल्ल्ोख भए अनुसार यस काभे्रपलाञ्चोक जिल्लामा देहायका गाउँपालिका तथा नगरपालिका कायम भएको छ ।

जातजातिहरू
यस जिल्लामा रहेका कुल जनसंख्याको जातिय बनावट हेर्दा बहुसम्प्रदायीक जातजातिहरू पाउन सकिन्छ । खासगरी मंगोलियन र आर्य सम्प्रदायहरू अन्तर्गतका विभिन्न जातजातिहरू विगत देखिनै बसोवास गर्दै आएका छन् । मंगोलियन सम्प्रदायहरूमा तामाङ, मगर, गुरूङ, पहरी, दनुवार आदि मुख्य रहेका छन् । यिनीहरू गैरहिन्दू र तहविहिन सामाजिक संरचना भएका समुदाय हुन् । अर्को प्रमुख सम्प्रदायमा तहगत हिन्दू जात समूह रहेको छ भने यसै अन्तर्गत पेशागत जाति समूह (दलित जातिहरू) पनि यस जिल्लामा रहेका छन् । यस जिल्लामा रहेका जातजातिहरूमध्ये तामाङहरूको बाहुल्यता धेरै रहेको छ । तामाङ जातिको बाहुल्यता भुम्लु, चौरीदेउराली, खानीखोला, महाभारत, रोशी र बेथानचोक गाउँपालिका र नमोबुद्ध न.पा. मा रहेको छ । यद्दपि प्रायः सबै गाउँपालिका÷न.पा.हरूमा तामाङ जातिहरू बसोबास गर्दै आएका छन् । जिल्लाको दोस्रो ठूलो जातिमा पर्ने ब्राम्हणहरू प्राय सबै गाउँपालिका÷न.पा.हरूमा छरिएर रहेता पनि पाँचखाल, धुलिखेल, मण्डनदेउपुर न.पा. र चांैरीदेउराली गाउँपालिकामा बाहुल्यता छ । त्यस्तै क्षेत्री जातिहरूको बाहुल्यता पनौती न.पा छ । नेवार जातिहरूको वाहुल्यता शहरी क्षेत्रहरूमा बढी रहेता पनि बनेपा नगरपालिकामा बाहुल्यता रहेको छ । जिल्लाका अर्को प्रमुख जाति दनुवारको पाँचखाल न.पा.(साविकको देवभुमी बालुवा) मा बसोवास रहेको छ । त्यस्तै मगर जातिको बाहुल्य
महाभारत (साविकको घर्तिछाप गाविस)मा रहेको छ । माझीको भुम्लु गाउँपालिका (साविकको कोलाती भुम्लु गाविस)मा बाहुल्यता रहेको छ । यसैगरी पहरी जातीहरू मुख्यगरी भुम्लु, पनौती नगरपालिका, चौरीदेउरालीमा रहेका छन् । जिल्लामा गुरूङ जातिहरू मुख्यगरी खानीखोला र मण्डनदेउपुर न.पा. (साविक नयाँगाउँ देउपुर) मा रहेका छन् । अन्य जातिहरू भुजेल, कामी, दमाई तथा सार्की जातीहरू भने थोरै थोरै संख्यामा जिल्लाका अधिकांश गाउँपालिका÷न.पा.हरूमा छरिएर रहेका छन् ।

धार्मिक परम्परा र चार्डपर्वहरू
यस जिल्लामा हिन्दू एवं बौद्धमार्गीहरूका ऐतिहासिक पक्षहरूसँग जोडिएका प्रसिद्ध मन्दिर र गुम्बाहरू रहेका छन् । पलाञ्चोक भगवती, चण्डेश्वरी, नमोबुद्ध, इन्द्रेश्वर महादेव, धनेश्वर महादेव, नारायणस्थान मन्दिर, लड्केश्वर महादेव, व्रम्हायणी, रंगनाथ मन्दिर, गोरखनाथ, फुल्चोकी, शैलेश्वर गोसाईंस्थान, आशापुरी महादेव, घ्याङथली गुम्बा, करूणामय, गौखुरेश्वर, दुग्धेश्वर, दोलालेश्वर महादेव, कश्यपेश्वर, उमादेवी आदि तीर्थस्थलहरू रहेका छन् । यस जिल्लामा सांस्कृतिक महत्वका निकै रोचक, आकर्षक र बृहत् जात्रा एवं मेलाहरू पनि आवधिकरूपमा लाग्दछन् । विशेष प्रख्यातिका दृष्टिले त्यस्ता केही मेलाहरूमध्ये प्रत्येक १२ वर्षमा लाग्ने मकर मेला (पनौती), पनौती जात्रा(ज्याःपून्हि), नवदुर्गा जात्रा (पनौती÷धुलिखेल), बाह्रवर्षे हरिसिद्धि मेला (धुलिखेल र पनौती), प्रत्येक जनैपूर्णिमामा लाग्ने शैलेश्वर गोसाईंस्थान मेला (बनेपा), वैशाख पूर्णिमामा लाग्ने चण्डेश्वरी जात्रा (बनेपा), विस्केटजात्रा (श्री खण्डपुर, धुलिखेल र साँगा), पलाञ्चोक भगवतीमा लाग्ने जात्रा (साठ्ठीघर), दुग्धेश्वर महादेवस्थानमा लाग्ने राँके जात्रा (पाँचखाल) कार्तिक पूर्णिमा (हरिबोधनी एकादशीपछि) मा लाग्ने नमोबुद्ध दर्शन (श्यामपाटी सिमलचौर), हरिबोधिनी एकादशीमा लाग्ने लड्केश्वर महादेव जात्रा (बल्थली), माघ महिनाभर लाग्ने धनेश्वर महादेव दर्शन (धनेश्वर), जनैपूर्णिमामा नारायणस्थान मेला महत्वपूर्ण मानिन्छन् ।

यस जिल्लामा अन्य जिल्लाहरूको जस्तै जातजाती विशेषले मान्दै आएका चाडपर्वहरू फरकफरक रहेका छन् । प्रत्येक जातीहरूको भाषा, सस्ंकृति तथा भेषभुषा हिन्दु धर्म मान्ने अधिकाशं जातजातीहरूले बडादशैं, तिहार, माघेसंक्रान्ति, फागुपूर्णिमा, चैतेदशैं, चण्डीपूर्णिमा, साउने संक्रान्ति, जनैपूर्णिमा, तीज, कुलपूजा÷दिवाली आदि प्रमुख रहेका छन् । जिल्लामा बसोबास गर्ने आदिवासी जनजातिहरुका आ–आफ्नै रितिरिवाजहरू रहेका छन् । जिल्लामा प्रमुख जाति तामाङका करीब ४० थरहरू रहेका छन् । तिनीहरूमा मोक्तान, स्याङतान, योन्जन, वाइवा, पाख्रीन, लोप्चन, रूम्वा, वल, गोले, बम्जन, थोकर, थिङ, दोङ, घिसिङ, व्लोन मुख्य रहेका छन् । तामाङ समुदायहरूले मान्दै आएको मुख्य चाडपर्वहरूमा बुद्ध जयन्ती, दशैं, तिहार, सोनाम लोच्छार प्रमुख रहेका छन् । त्यस्तै नेवार जातिहरूमा बौद्ध धर्म मान्ने र हिन्दु धर्म मान्ने दुई फरक जातिहरू रहेका छन् । यी जातिहरूले मान्दै आएका मुख्य चाडपर्वहरूमा बैशाख पूर्णिमा, सिठी नखः गठेमंगल, गुनीपुन्ही, येलापुन्ही, दशैं, लक्ष्मीपूजा, म्हः पूजा, किजा पूजा, योमोरी पुन्ही, श्रीपञ्चमी, होली पुन्ही, ल्हुटीपुन्ही आदि मुख्य रहेका छन् ।

यस जिल्लाका दनुवार जातिहरुले मुख्य गरी साउने संक्रान्ति, जनैपूर्णिमा, धान्य पूर्णिमा, चैते दशै, चण्डीपूर्णिमा, चैत्र महिनामा सातबारको पूजा, भूमि पूजा आदि मुख्य रहेका छन् । जिल्लाका आदिवासी पहरीहरूले मुख्यगरी जनैपूर्णिमा, गाईजात्रा, दशैं, तिहार, मंसिरमा ख्याती गीत गाउने तथा भैलो खेल्ने, गोठपूजा, गुठ्ठी पर्व, देवाली पूजा, चैत्रजात्रा, कुमारी पूजा तथा सिठ्ठी पर्व मान्ने गर्दछन् । पहरी जातिहरुको जस्तै माझी जातिहरूको पनि आफ्नै परम्परा रहेको छ । अधिकांश परम्परा तथा रितिरिवाजहरू भने लोप भइसकेका छन् । यी जातीहरू मुख्यगरी पित्रृ उद्धार जात्रा, कोशी पूजा, साउने संक्रान्ति, मंसिर पूर्णिमा रहेका छन् । जिल्लामा मगर तथा गुरूङ जातिहरू थोरै र छरिएर रहेका छन् । खासगरी गुरूङ जातिले तमुलोछार, तोहो लेहन्, दशैं, तिहार, सिल्दो थिवा आदि मान्ने गर्दछन् भने मगरहरूले माघे संक्रान्ति, भूमे पर्व, दशैं, तिहार, चैते दशै, साउने संक्रान्ति मान्ने गर्दछन् । ( जिल्ला वस्तुगत विवरण, काभ्रेपलाञ्चोक, २०७४ को सहयोगमा तयार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *