• प्रदीप केसी बन्जारा

पनौती । नेपाली काङ्ग्रेस बल्थली गाउँ समितिका उपसभापति रामहरि शर्मा हुमागाईको वि. सं. १९९५ साल जेठ ६ जेष्ठ कृष्णपक्ष पञ्चमी तिथीमा काभ्रे जिल्लाको बल्थली गा. वि. स. वडा नं. ३ (पनौती नगरपालिका वडा नं. ११) मा पिता भगीरथ शर्मा हुमागाई एवं माता उमादेवी शर्मा हुमागाईको कोखबाट जन्म भई २०८१ चैत ३ गते स्वर्गारोहण हुनु भएको छ ।

उहाँकी धर्मपत्नी शान्तलक्ष्मी शर्मा हुमागाई, छोराहरु सूर्यमणी शर्मा हुमागाई, त्रैलोक्यमणी शर्मा हुमागाई, सर्वज्ञमणी शर्मा हुमागाई, दयामणी शर्मा हुमागाई रहनु भएको छ भने छोराद्वय विद्यामणी शर्मा हुमागाई र पारसणी शर्मा हुमागाई यसअघि नै बित्नुभएको थियो ।

रामहरि शर्माले आफू जन्मेको पाँच वर्षमा पिताको स्याहार–सुसार र पालनपोषणबाट वञ्चित हुनुपर्यो । उहाँ आफ्ना माताको पालनपोषणमा हुर्कनुभएको थियो । वि. सं. २००६ सालमा रामहरि शर्मा आफ्नो मामाघर भक्तपुरमा विद्या आर्जन गर्न जानुभयो । मामाघरमा हजुरबुबा र मामाहरूबाट विद्या आर्जन गर्ने सुअवसर उहाँले पाउनुभएको थियो । तर त्यस्तो मायालु वातावरणमा रमाइरहन उहाँले धेरै बेर पाउनुभएन । उहाँको घरमा माता एक्लै हुनुभएकाले घर फर्कन आवश्यक भयो त्यसैले उहाँ घर फर्किई आफ्नी मातालाई खेती–किसानीको काममा सहयोग पुयाउन सुरु गर्नुभयो ।

उहाँ वि. सं. २००४ सालमा पं. मुरलीधर भट्टराईको कथावाचन–प्रवचनमा हुने प्रश्नोत्तरको रमाइलो छलफलबाट साह्रै नै प्रभावित भइरहेकोमा नेपालमा जहानियाँ राणाशासनविरुद्ध सङ्घर्ष गर्ने नेपाली काङ्ग्रेस नै हो भन्ने लागेपछि सोही कारणले नै देशमा प्रजातन्त्र ल्याउने निर्णय गरी निरन्तर लडिरहनुभयो र नेपाली काङ्ग्रेस पार्टीमा रही विभिन्न कार्यक्रमहरूमा सहभागी भइ नै रहनुभयो श्री शर्मा ।

यसै क्रममा बनेपाका राजनीतिज्ञ राजदास बादेको काभ्रेको ठोट्नेखोला ढुङ्खर्क गा. वि. स. मा हवाई दुर्घटनामा परी निधन भयो । तत्पश्चात् बनेपाको लायकू मञ्चमा आयोजित शोकसभामा प्रमुख अतिथिको रूपमा महामानव बी. पी. कोइराला आउनुभएको थियो । बी. पी. कोइरालाबाट नेपाली काङ्ग्रेसका बारेमा गर्नुभएको कामबाट उहाँ पनि निकै प्रभावित हुनुभयो र आफू पनि नेपाली काङ्ग्रेस पार्टीमा सहभागी हुने निश्चय गर्नुभयो । घर फर्कदा उहाँले आफ्नो गाउँ खोपासीमा रहेका नेपाली काङ्ग्रेस कार्यकर्ताहरूसँग भेट्नुभयो र आफूले पनि त्यस पार्टीमा सहभागी भएर काम गर्न चाहेको बताउनुभयो । उहाँको यस कुरालाई सबै जनाले स्वागत गर्नुभयो र सबै एक जुट भई समाजसेवा गर्ने र समाजमा रहेका विकृति र थिचोमिचोबाट सबैलाई सचेत गराउने भन्ने छलफल भयो । अहिले बी. पी. र राजदास हाम्रो सामु उहाँहरू दुवै हुनुहुन्न तर उहाँहरूले देखाउनुभएको बाटोमा आफू निरन्तर लागि नै रहेको बताउनुहुन्छ रामहरि शर्मा ।

वि. सं. २०११ सालमा वास कोइराला र नारायणदास उलकको सक्रियतामा खोपासीमा रसायन पुस्तकालयको स्थापना भएपछि उहाँ त्यस पुस्तकालयमा बसी समाजका विकृति र विसङ्गति हटाउन लाग्नुभयो । रसायन पुस्तकालयमा रामहरि शर्मा, र उहाँका साथीहरूका बीचमा नेपाली काङ्ग्रेसका बारेमा छलफल भइरहन्थ्यो । उहाँका असल र मिलनसार मित्रका रूपमा नारायणदास उलक, वासुदेव कोइराला, सप्तलाल तामाकार, श्रीराम कर्माचार्य, गोपालदास बादे श्रेष्ठ, रामचन्द्र कर्माचार्य, द्वारिकादास कर्माचार्य, धुवप्रसाद आचार्य, प्रेमप्रसाद आचार्य हुनुहुन्थ्यो ।

यस्तै जीवनको उतारचढावका क्रममा वि. सं.२०१२ सालमा रामहरि शर्माको विवाह भयो । वि. सं. २०१३ सालमा वासुदेव शर्माको सक्रियतामा बल्थलीमा गठन भएको नेपाली काङ्ग्रेसको समितिमा रामहरि शर्मा पनि सदस्यका रूपमा रहनुभयो । वि. सं. २०१५ सालको आमनिर्वाचनमा भएको नेपाली काङ्ग्रेसको सफलताबाट रामहरि शर्मा र उहाँका मित्रहरूमा निकै ठूलो विश्वासको सृजना भयो । यसै क्रममा परिस्थितिले गर्दा उहाँले वि. सं. २०१५ सालमा दोस्रो विवाह गर्नुभयो ।

वि. सं. २०१६ सालमा वासुदेव कोइरालाको अग्रसरतामा बल्थलीमा नेपाल तरूण दलको गठन भयो र सो दलमा रामहरि शर्मा कोषाध्यक्ष र धुवप्रसाद आचार्य सचिव हुनुहन्थ्यो । वि. सं. २०१७ सालमा रामहरि शर्माले आफ्नो आमाको ममता गुमाउनुपर्यो, अर्थात् माता उमादेवी यस संसारबाट बिदा हुनुभयो । शर्माले नेपाली काङ्ग्रेसप्रति सक्रिय भएर २०१३ सालमा नारायणदास उलकबाट पार्टीको सदस्यता लिनुभयो । त्यसपछि पार्टीको कार्यक्रममा सक्रिय भइरहेको बताउनुहुने शर्मा २०१४ सालमा वासु कोइरालाको सक्रियतामा बल्थलीमा गठित तरूण दलको कोषाध्यक्ष पदमा रहनुभयो ।

विसं २०१७ साल पौष १ गते नेपाल तरूण दलको राष्ट्रिय अधिवेशन तोकिएको थियो । त्यसमा उपस्थित हुन बल्थली तरूण दललाई पनि भनिएको थियो । त्यसैले बल्थली तरूण दलका कोषाध्यक्ष रामहरि शर्मा र उहाँका सहयात्रीहरू अधिवेशनस्थल थापाथलीको मञ्चमा उपस्थित हुनुभयो । त्यस बेला अचानक केही प्रहरी आई त्यहाँ रहनुभएका प्रधानमन्त्री महामानव बीपी कोइराला, वीर गणेशमान सिंह र अन्य नेताहरूलाईसमेत मञ्चबाटै पत्र देखाई गिरफ्तार गरियो । तर त्यस स्थानबाट पहिले नै घर फर्किहालेका हुनाले रामहरि शर्मा र उहाँका मित्रहरू गिरफ्तार हुनुभएन । त्यसै बेलादेखि संसदीय व्यवस्था खारेज गरी पञ्चायत व्यवस्था सुरु भयो । त्यस बेलादेखि रामहरि शर्मा र उहाँका मित्रहरूलाई पञ्चले खेदो गर्न थाले । उहाँहरू जहिले पनि पञ्चहरूबाट लुकेर हिँड्नुपर्ने अवस्था आएको थियो ।

यस्तै क्रममा विसं २०१९ साल असोज ८ गते रामहरि शर्माकी श्रीमती माइत गई रामहरि शर्मा एक्लै भएका बेलामा काभ्रेपलाञ्चोक जिल्ला कार्यालय थाना धुलिखेलले उहाँको घर घेर्ने कार्य भइरहेको रहेछ । अचानक प्रहरीहरूले बोलाउँदा मात्र उहाँ ब्यूँझनुभयो । उहाँ बिस्तराबाट उठेर बाहिर आएपछि प्रहरीले उहाँलाई धुलिखेल जिल्ला गोस्वारामा लिएर गए । त्यसैको भोलिपल्ट उहाँलाई सिन्धुपाल्चोक जिल्लाको चौतारा प्रहरीथानामा पुर्याए र त्यसको पनि भोलिपल्ट उहाँलाई गोस्वारा अड्डामा लगियो र उहाँको बयान लिन सुरु गरियो । अनेक प्रकारका प्रश्नहरू उहाँलाई सोधिन्थ्यो । तर दिइएको उत्तरको सुनुवाई हुँदैनथ्यो । त्यसपछि उहाँलाई जेलभित्र पठाउँदा त्यस जेलभित्र उहाँले सप्तलाल ताम्राकार र नारायणदास उलकसमेतलाई भेट्नुभयो । उहाँहरूले रामहरि शर्मालाई जेल र वरिपरिको वातावरण बताउनुभयो । शर्माजी आफ्नो घरको परिस्थतिबाट निकै दुःखी र उदास हुनुहुन्थ्यो । त्यसपछि एक दिन धुवप्रसाद आचार्यलाई पनि त्यही जेलमा ल्याइयो ।

रामहरि शर्मा र धुवप्रसाद आचार्यको भान्सा र ओछ्यान एउटै भयो । रामहरि शर्मा र जेलभित्र रहेका उहाँका तीन मित्रको मिलेमतोमा २०१९ मार्ग ८ गते अहोरात्र रामनामकीर्तन आयोजना गरी कथा–प्रवचन सम्पन्न गरियो । यो कीर्तन सम्पन्न भएको ६ महिनापछि रामहरि शर्मालाई गोश्वारा अड्डामा बोलाइयो र ’कुनै पार्टीमा नलागी बस्नू’ भनेर घरमा समय मिलाएर बनेपा, पनौती, खोपासीका साथी भेला भई पार्टीका बारेमा छलफल गर्ने काम भने उहाँले छाड्नुभएन । रामहरि शर्मा एक इमान्दार पार्टी कार्यकर्ता हुनुहुन्थ्यो । त्यसैले उहाँलाई पार्टीले गर्न लगाएको जुनसुकै काम पनि उहाँबाट पूरा हुन्थ्यो ।

उहाँ एक असल कर्मचारी पनि हुनुहुन्थ्यो । उहाँले विसं २०१९ चैत २८ गते खोपासीमा रहेको पनौती जलविद्युत आयोजनामा भर्ना हुनुभई आफ्नो कार्य सुरु गर्नुभयो । विसं २०२२ सालमा उहाँका जेठा सुपुत्रको जन्म भयो । उहाँका जम्मा ६ भाइ पुत्र छन् । रामहरि शर्मालाई सो बेलामा लागु भएको पञ्चायत व्यवस्था अति नै नराम्रो लागेको थियो । त्यसैले उहाँ पञ्चायत व्यवस्थामा ध्यान नदिई आफ्नो पार्टी नेपाली काङ्ग्रेसले दिएको जिम्मेवारीमा लगनशील भई कार्य गर्दै रहनुभयो । त्यसपछि विसं २०३६ सालको जनमतसङ्ग्रहमा शर्माजी पनि बहुदलको प्रचार–प्रसारमा अघि बढ्नुभयो । विसं २०४६ सालको जनआन्दोलनमा पर्चा र पम्प्लेट टाँस्ने काम रामहरि शर्माबाट पनि भयो र यो आन्दोलन सफल भयो ।

रामहरि शर्मा भन्नुहुन्छ–“पञ्चायती व्यवस्थाका पक्षधरहरूले विसं २०१९ आश्विन महिनामा काभ्रे जिल्ला प्रशासनको आदेशबाट मलाई पक्राउ गरी सिन्धुपाल्चोकको चौतारा जेलमा लगे । सिन्धुपाल्चोकका तत्कालीन बडाहाकिम कार्यालयका प्रमख गृष्णबहादुर देवकोटाको प्रतिबन्धित नेपाली काङ्ग्रेसमा लाग्ने अन्तर्राष्ट्रिय तत्व हो भनी ६ महिनाको जेलयातना दिए । जेलयातना पूरा गरी पञ्चायतको कुनै पनि पदमा नबसीकन पुनः नेपाली काङ्ग्रेस पार्टीको सङ्गठन बलियो कसरी हुन्छ, के गर्दा जनताको विश्वास जित्न सकिन्छ भन्ने चिन्ता गर्दै सोहीअनुरूप काममा लागे । २०२८ को पर्चाकाण्ड, २०१३ को मेलमिलाप दिवस, २०३६ को जनमतसङ्ग्रह र २०४२ को सत्याग्रहमा बहुदलका पक्षमा लागे र विसं २०४६ सालको जनआन्दोलनमा सक्रिय भई नेपाली काङ्ग्रेसको निर्देशनअनुरूप कार्य गर्दै आए ।

जीवनबाट रामहरि शर्माले सिक्नुभएका अनुपम कुराहरू –
१) सामाजिक एकता हुनुपर्छ, निःस्वार्थ समाजसेवा हुनुपर्छ ।
२) निष्पक्ष कार्यकर्ताको मूल्याङ्कन हुनुपर्छ ।
३) पदभन्दा मान्यता महान् हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *