ढुंखर्क । जिल्लाको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा आइतबार रातिदेखि डढेलो लागेको छ ।
उक्त वनमा राति ११ बजेदेखि लागेको डढेलो नियन्त्रणका लागि सोमबार बिहानैदेखि प्रयास भइरहेको जनाइएको छ । आगलागी भएको क्षेत्रबाट बस्ती करिब एक किलोमिटर टाढा रहेको तथा थलीडाँडा र हर्कभन्ञ्याङमा लगिएको खानेपानी आयोजना जोखिममा रहेको बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष कुवेर ढकालले बताए । उनका अनुसार आगलागी देव्रेतर्फ फैलियो भने मानव बस्ती जोखिममा पर्न सक्छ ।
रातको समयमा डढेलो देखिएकाले नियन्त्रणका लागि सम्भव नभएको र बिहानैदेखि प्रहरी, स्थानीय जनप्रनितिनिधि, वन उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीयद्वारा नियन्त्रणको प्रयास भइरहेको ढकालले बताए । उनका अनुसार आगलागीबाट हालसम्म कुनै मानवीय एवं पशु क्षति भएको छैन । प्रहरीचौकी ढुङ्खर्कबाट प्रहरी सहायक निरिक्षक रमेश शाह कानुको नेतृत्वमा तीन र सशस्त्रका चार प्रहरी आगो नियन्त्रणमा खटिएका छन् ।
यसअघि गत माघ पहिलो साता सोही क्षेत्रको महाभारत पर्वतशृङ्खला अन्तर्गत खानीखोला गाउँपालिका–१ स्थित थामलेखडाँडा र महाभारत जङ्गलमा लागेको डढेलो चार दिनपछि हेलिकप्टरमार्फत नियन्त्रणमा ल्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *