काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको मातहतमा रहेका विभिन्न प्रहरी इकाईहरूले बुधबार पनि समुदायमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न विषयमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेका छन् ।

कात्तिक ११ गते सञ्चालन गरिएका सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सवारी दुर्घटना न्यूनीकरण, लागुऔषध नियन्त्रण, आत्महत्या रोकथाम, चोरी नियन्त्रण, मानव बेचबिखनविरुद्ध सचेतना तथा साइबर अपराधसम्बन्धी विषयमा कार्यक्रम सञ्चालन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार प्रहरी चौकी कटुन्जेबेसी र भकुण्डेबेसीले सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेका छन् । त्यसैगरी, प्रहरी चौकी चौवास र खहरेपाँगुले लागुऔषधसम्बन्धी, प्रहरी चौकी पचुवारघाटले आत्महत्यासम्बन्धी तथा प्रहरी चौकी फोक्सिङटार, हिँगुवापाटी र अस्थायी प्रहरी पोस्ट अट्टेडाँडाले चोरीसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेका छन् ।

यसैगरी, अस्थायी प्रहरी पोस्ट काभ्रेभन्ज्याङले मानव बेचबिखनसम्बन्धी तथा प्रहरी चौकी रोशी भूमीडाँडाले साइबर अपराधसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेका छन् । समुदायमा हुन सक्ने विभिन्न अपराध तथा जोखिमबारे नागरिकलाई सचेत गराउने, सम्भावित घटनाको न्यूनीकरण गर्ने र प्रहरी तथा नागरिकबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *