बनेपा । चाडपर्वका बेला मिठाईको खपत बढ्ने र खाद्य स्वच्छता तथा गुणस्तरमा जोखिम हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धुलिखेलले काभ्रेपलाञ्चोकका विभिन्न बजारमा सञ्चालित मिठाई पसलहरूको अनुगमनलाई तीव्रता दिएको छ ।
कार्यालयले धुलिखेल र बनेपा नगरपालिकाका मिठाई पसलमा कात्तिक ९ गते तथा पनौती नगरपालिकाका मिठाई पसलमा कात्तिक ११ गते संयुक्त अनुगमन तथा निरीक्षण गरेको हो । मिठाईको गुणस्तर, खाद्य स्वच्छता र उपभोक्ताको अधिकार संरक्षण गर्ने उद्देश्यले गरिएको अनुगमनका क्रममा व्यवसायीलाई उत्पादनमा प्रयोग गरिएका सामग्री, बिक्री मूल्य र उपभोग्य मितिबारे स्पष्ट जानकारी उपलब्ध गराउन निर्देशन दिइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २०८३ असोज ३० गते जारी गरेको सूचनाअनुसार मिठाई उत्पादन गर्दा प्रयोग गरिएका मुख्य कच्चा पदार्थ, तयार गर्न प्रयोग गरिएको तेल वा घिउ, उपभोग गरिसक्नुपर्ने अन्तिम मिति र बिक्री मूल्य ग्राहकले सहजै देख्न सक्ने गरी मिठाईको सोकेस वा काउन्टरमा राख्नुपर्ने व्यवस्था गरिएको छ । उक्त व्यवस्था कार्यान्वयन गर्न व्यवसायीलाई जानकारी गराउँदै सचेतसमेत गराइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धुलिखेलकी प्रमुख मनिषा चापागाईंले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा केही व्यवसायीले पटक–पटक निर्देशन दिँदासमेत मिठाईलगायत खाद्य पदार्थ प्याक गर्न छापिएका कागज तथा पत्रपत्रिका प्रयोग गरिरहेको पाइएको छ। त्यस्ता कागजमा खाद्य पदार्थ प्याक नगर्न व्यवसायीलाई चेतावनी दिइएको छ ।
त्यसैगरी, केही व्यवसायीले तारेर वा पकाएर तयार गरिने मिठाईमा सिन्थेटिक खाद्य रङ प्रयोग गरेको पाइएको भन्दै त्यस्तो रङ प्रयोग नगर्न सचेत गराइएको कार्यालयले जनाएको छ । खाद्य पदार्थ तार्न एउटै तेल पटक–पटक प्रयोग नगर्न तथा खाद्य स्वच्छतासम्बन्धी निर्धारित मापदण्ड पालना गर्न पनि व्यवसायीलाई निर्देशन दिइएको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को व्यवस्था पालना गर्न र गराउनसमेत कार्यालयले आग्रह गरेको छ ।
संयुक्त अनुगमनमा जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र विश्वकर्मा, उद्योग वाणिज्य तथा पर्यटन कार्यालय काभ्रेका रविन्द्र चौलागाईं, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलका पलेश्वङ गुमान्जु श्रेष्ठलगायत प्रहरी कार्यालय, सम्बन्धित नगरपालिका र नेपाल पत्रकार महासंघ काभ्रेका प्रतिनिधिहरू सहभागी थिए ।
प्रमुख चापागाईंका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धुलिखेलले विगत तीन महिनादेखि काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका विभिन्न बजार क्षेत्रमा अनुगमन गर्दै आएको छ । बजार अनुगमनसँगै व्यवसायीलाई खाद्य स्वच्छता, गुणस्तर र उपभोक्तालाई सही सूचना उपलब्ध गराउने विषयमा सचेत गराउने कार्यलाई पनि निरन्तरता दिइएको छ ।
मिठाईमा प्रयोग भएका कच्चा पदार्थ, तेल वा घिउ, उपभोग्य अवधि र मूल्यबारे उपभोक्ताले स्पष्ट जानकारी पाउनुका साथै सुरक्षित तथा गुणस्तरीय खाद्य पदार्थ उपभोग गर्न पाउने वातावरण निर्माण गर्नु अनुगमनको मुख्य उद्देश्य रहेको कार्यालयले जनाएको छ । व्यवसायीले निर्धारित मापदण्ड पालना गरी उपभोक्तालाई सही सूचना उपलब्ध गराएमा खाद्य अधिकार संरक्षण हुनुका साथै व्यवसायप्रतिको विश्वाससमेत अभिवृद्धि हुने विश्वास गरिएको छ ।
