ज्ञानमाणि नेपाल कालोटोपी
काठमाडौं । शुक्रबार काठमाडौंमा समाजवादी मोर्चाले राजावादीविरुद्ध एकता सभाको आयोजना गरेको थियो । त्यसलगत्तै राजावादीहरुले पनि आफ्नो शक्ति प्रदर्शनको तयारी गरिरहेका थिए । यसरी दुई पक्षबीच छुट्टाछुट्टै विरोधका कार्यक्रमको आयोजना भएपछि शुक्रबार दोहोरो झडपको आँकलन गरिएको थियो । नभन्दै झडप मात्र भएन आन्दोलनले उग्ररुप नै लियो ।
समाजवादी मोर्चाले भृकुटीमण्डपमा गरेको कार्यक्रम शान्तिपूर्ण रहे पनि राजावादीहरुले तिनकुनेमा गर्ने भनिएको आन्दोलन औपचारिकरुपमा शुरु नहुँदै हिंशात्मक बन्यो । जसमा एक पत्रकारसहित दई जनाको मृत्यु पनि भयो । अर्बौं रुपैयाँका निजी तथा सरकारी भौतिक सम्पत्तीको नष्ट भयो भने आन्दोलनकारीहरु यति उग्र भए कि यसको कमाण्डीङ गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रहरी र सूरक्षाकर्मीलाई नै चुनौती दिँदै सडकमा गाडी दौडाउँदै आफ्ना समर्थकहरुलाई हिंशामा उत्रिन उक्साउँदै गरेका भिडियो सार्वजनिक भएका छन् ।
घटनापछि काठमाडौँको तीनकुने आसपास क्षेत्र रणभूमि जस्तै बन्न पुगेको थियो । स्थिती नियन्त्रणमा लिन स्थानीय प्रशासनले कफ्र्यु आदेशसमेत जारी गरेको थियो । राजावादीको प्रदर्शन उग्र बनेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले कफ्र्यु आदेश जारी गरेको हो । कफ्र्यु शुक्रबार अपराह्न ४ः२५ बजेदेखि शनिबार बिहान ७ बजेसम्म लागू गरिएको हो ।

क्षतिको जिम्मेवारी दुर्गा प्रसाईंले लिनुपर्छः गृह मन्त्रालय

गृह मन्त्रालयले राजावादी आन्दोलन विशुद्ध हिंसा, अमानवीय र लुटपाटको लागि गरिएको आन्दोलन भएको आरोप लगाएको छ ।
शुक्रबार साँझ गृह मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा गृह मन्त्रालयका सहसचिव छवि रिजालले आन्दोलन राजनीतिक उद्देश्यबाट नरहेको कारण आगामी दिनमा सरकार संयमित भएर नबस्ने बताउनुभयो । उहाँले राजावादीको हिंसात्मक आन्दोलनका क्रममा भएको क्षतिको जिम्मेवार व्यवसायी दुर्गा प्रसाईं रहेको बताउनु भयो । आन्दोलनको नेतृत्व लिएको कारण घटनाप्रति प्रसाईं जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ । उहाँले हिंसात्मक र लुटपाटको कार्यमा संलग्न जोसुकै भएपनि कानूनी दायरामा ल्याइने बताउनु भयो । उहाँका अनुसार राजावादीको तीनकुने आन्दोलनमा झडप हुँदा ७५ जना सुरक्षाकर्मी घाइते भएका छन् । त्यस्तै दुई जनाको मृत्यु भएको छ । भौतिक क्षतिको पूर्ण विवरण आइनसकेको र संकलनको कार्य भइरहेकोसमेत उहाँले बताउनु भयो ।
व्यक्तिका निजी सम्पत्ती, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत यातायातका साधनहरूमाथि भएको तोडफोड र आगजनीका अमानवीय एवं अमर्यादित घटनाहरू गैरकानूनी तथा घोर भत्र्सनायोग्य गर्दै मन्त्रालयले हिंसात्मक एवं आपराधिक घटना गर्ने गराउने कार्यका लागि प्रदर्शनका आयोजक नै पूर्णरुपमा जिम्मेवार रहेको जनाएको छ ।

१०५ जना प्रदर्शनकारी पक्राउ

यता नेपाल प्रहरीले शुक्रबार राजावादीहरूको हिंसात्मक प्रदर्शनका क्रममा पक्राउ गरिएका १०५ जना प्रदर्शनकारीहरूको ‘स्क्रिनिङ’ सुरु गरेको छ । प्रदर्शनमा क्रममा भएको आगजनी, तोडफोड, लुटपाटलगायतमा उनीहरूको संलग्नता यकिन गर्ने काम प्रहरीले गरिरहेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले तीनकुने क्षेत्रमा गरेको आन्दोलनका क्रममा एकजना पत्रकारसहित दुई जना मारिएका छन् । त्यस्तै, नेपाल प्रहरीतर्फ ५३ जना र सशस्त्र प्रहरीतर्फ २२ जना गरी कूल ७५ जना घाइते भएका छन् ।
प्रदर्शनकारीले तीनकुनेको अन्नपूर्ण कम्प्लेक्स, मार्बल हाउस, प्रहरी प्रभाग कोटेश्वर, एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गर्नुका साथै कोटेश्वरस्थित भाटभटेनीमा लुटपाटसमेत गरेका थिए । उनीहरूले १४ स्थानमा आगजनी, ९ वटा संस्था र कार्यालयमा तोडफोड र १ स्थानमा लुटपाट मच्चाएका थिए । उनीहरूले ९ वटा सरकारी सवारी साधन र ६ वटा निजी सवारी साधनमासमेत क्षति पुर्याएका थिए ।
घटनालाई हिंसात्मक बनाउन उक्साएको आरोप प्रहरीले राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, स्वागत नेपाल, सेफर्ड लिम्बु, सन्तोष तामाङ र आफूलाई धर्मगुरु बताउने पुष्कर खतिवडालाई पक्राउ गरिसकेको छ । आन्दोलनको कमाण्डरको जिम्मेवारी पाएका दुर्गा प्रसाईं भने फरार रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *