ज्ञानमणि नेपाल कालोटोपी

भनिन्छ, रित्तो भाँडो धेरै बज्छ । यसको मतलब बाहिर पुष्ट देखिए पनि त्यो भाँडोभित्र खाली रहने भएकाले हो रित्तो भाँडो धेरै हल्लिने र बज्ने पनि । अल्पज्ञान वा ज्ञान नै नभएको मानिस पनि त्यही रित्तो भाँडो जस्तै हो । आफूलाई सबैभन्दा धेरै थाहा भए जस्तो गर्छ तर उसलाई केही कुरा थाहा नै हुँदैन । त्यसैले भनिएको हो अल्पविद्या घातक हुन्छ भनेर । तर सबै ज्ञानले भरिएको मान्छे मौन हुन्छ । ऊ सँग हजारौं शब्द भए पनि चुप नै रहन्छ, जब समय आउँछ तब मात्र उसले आफ्नो क्षमता देखाउँछ ।

सल्लो प्रजातीको बनस्पति ठडिएर जान्छ, किनकी उसको विशेषता नै ठडिनु हो । तर लटरम्म फल लागेको आँप, सुन्तला, स्याउलगायतका बोटहरु निहुरिएका हुन्छन्, झुकेका हुन्छन् । त्यहि झुकेका रुखहरुलाई हो मानिसले झटारो हान्ने पनि । तर ती रुखहरु ती झटारोकै कारण खारिएका हुन्छन् । मूर्ख मान्छे पनि त्यही ठाडो सल्लाको रुख जस्तै कसैसँग झुक्न जान्दैन । त्यही घमण्डका कारण ऊ कालान्तरमा सबैबाट एक्लो हुन्छ ।

संसारमा हरेक जीव जनावर र रुखबिरुवा छन्, सबै भोका छन् । यसको मतलब सबैले जीउन खानु पर्छ । खान पनि तरिका चाहिन्छ, प्रक्रिया नपुर्याइ खाएको खानाले विषको काम गर्छ । हरेक मानिसले बिहानदेखि बेलुकासम्म काम गर्छन्, सबैको उद्देश्य खानु हो । संसारमा जे जति जिवित प्राणीहरु छन्, एकछिन मात्र पनि खान पाएनन् भने मर्छन् । यो सत्य कुरामै संसार अडिएको छ ।

यहाँ सबैले फूल फूलेको देख्छन् । तर त्यो फूल फूल्न कति कष्ट र हन्डर खाएको होला त्यो फूलको वृक्षले, यो भने कसैले पनि सोचेका हुँदैनन् । मान्छेको सफलता सबैले देख्छन्, तर त्यो सफलता पाउन उसले कति दुःख गरेको छ भनेर देख्ने की स्वयं मान्छे नै हुन्छ की भगवान । तपाईंलाई अप्ठ्यारो पर्दा साथ नदिनेहरु पनि सजिलो परेको थाहा पाउने बित्तीकै नजिक हुन खोज्छन् । किनकी यहाँ सबै स्वार्थका पूजारी हुन् ।

आफूलाई सहयोग गरे हुन्थ्यो, अरुले आफ्नो लागि मिठो बोली बोले हुन्थ्यो, अरुले सबैभन्दा धेरै माया मलाई मात्रै गरे हुन्थ्यो भन्नेहरु पनि संसारमा धेरै छन् । तर ती मानिस नै यति मूर्ख र स्वार्थी हुँदा रैछन् की उनीहरु अरुका लागि भनेर कहिल्यै न समय दिन्छन् , न एक रुपैयाँ धन खर्चिन्छन् । न त मिठो बोल्न नै जान्दछन् । तैंले मेरो लागि केही गरिनस् भन्छन् तर आफूले अरुलाई गरेको रुखो व्यवहार भने विर्सन्छन् । यही हो मानिसको विशेषता ।

कोही मानिसहरु निरन्तर अरुलाई रुखो बोलीले झटारो हानिरहन्छन्, तर अरुले आफूलाई सानो केही कुरा मात्र गर्यो भने पनि उनीहरु सहन सक्दैनन् । अरुको प्रगतिमा यति जल्छन् की बरु आगोले किन पोल्थ्यो होला र, ती छटपटीले मर्छन् । त्यसैले भनिन्छ, समयलाई बुझ्न सिक्नुस्, रिसलाई रोक्न सिक्नुस्, गल्तीमा झुक्न सिक्नुस्, यति गर्न सकियो भने जीन्दगीको यात्रा निकै सरल छ, नत्र कठिन ।

मानिस कसैको बाहिरी सुन्दरतामा मोहित हुन्छन् तर भित्री व्यवहार बुझेका हुँदैनन् । बाहिरी बनावट जस्तो भए पनि उसले देखाउने व्यवहार र सोच निच छ भने त्यस्ता मानिस समाजका कलंक जस्तै हुन्छन् । प्रकृतिले सबैलाई केही न केही दिएको हुन्छ । त्यसलाई उसले कति सदूपयोग गर्छ वा दुरुपयोग त्यो व्यक्ती स्वयंमा भर पर्छ । हरेक व्यक्ति त्यो युगको नायक हुन्छ तर कालान्तरमा उसले आफ्नो नेतृत्व पुस्तान्तरण गर्न सक्नुपर्छ । यदि गरेन भने स्वतः बिलिन हुन्छ ।

मानिस किताबी ज्ञानले मात्र विद्वान हुने होइन, व्यवहारिक ज्ञानले उसको चरित्र निर्धारण गर्छ । हामीले विद्यालयमा सिकेका कुरा घरमा लागू गरेनौं भने त्यो पढाइको कुनै अर्थ हुँदैन । एउटा विवेकी मानिसले समाजको कुशल नेतृत्व गर्न सक्छ तर अविवेकी मानिसले आफ्नो परिवार त के स्वयं आफैंलाई पनि नेतृत्व दिन सक्दैन । ऊ निराश हुन्छ, उसको मनमा कपट हुन्छ, आडम्बर हुन्छ, जसले फाइदा त हुँदै हुँदैन, घाटा मात्रै हुन्छ । फूलेको फूलले आफ्नो सौन्दर्य र वास्ना आफ्नो लागि सुरक्षित राख्दैन, त्यो त उसले अरुका लागि छर्ने गर्छ । मानिसले गर्ने काम पनि त्यस्तै हुनुपर्छ । आफ्नो लागि भन्दा अरुका लागि काम गर्न सकियो भने यसले कुशल समाज, कुशल देश र कुशल विश्व निर्माण गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *