बनेपा । सहकारीको विकासक्रम काभ्रेपलाञ्चोकको बनेपाबाट भएको ऐतिहासिक दस्तावेजसहितको प्रमाण बोकेर बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्थाले नेपालमा सहकारीको प्रार्दुभाव र काभ्रेपलाञ्चोक जिल्लास्तरीय अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ ।
मंगलबार आफ्नै सभाकक्षमा बहुसरोकारवाला पक्ष समेटेर ७० हजार सदस्य रहेको बिन्धवासिनी साकोसले सकारात्मक पहलको थालनी गरेको हो । नेपालको सहकारी स्थापनाको स्थापना तत्कालिन पूर्व १ नम्बर हालको काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिकामा भएको इतिहास फेला परेपछि साकोस तरमा पहिलो पटक बिन्धबासिनीले नौलो काम गरेको हो ।
संसदीय समितिले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा सहकारीको स्थापना भएको उल्लेख गरी संसदले पारित गरेपछि सोही प्रतिवेदनलाई नेपाल सरकारले कार्यान्वन गर्ने निर्णयसमेत गरिसकेको अवस्थामा निर्णय कार्यान्वयमा बिन्धबासिनीले सहजीकरणका लागि बहुसरोकारवाला निकायसँग साझा धारणा बनाउन अन्तक्र्रिया गरेको हो ।
नेपालमा २०१३ साल चैत्र २० गतेलाई आधार मानी बुधबार सहकारीको ६८ औ दिवस मनाइयो । इतिहासलाई कायम गर्न र पुनर्लेखन भएको इतिहासका दस्तावेजलाई कार्यान्वन गर्न सरोकारवाला निकायहरुले सरकारको ध्यानाकर्षण गराएसँगै यो नयाँ बहस र सरकारको संसदीय समितिले गरेको निर्णय कार्यान्वयको दबाब सृजना गराउने आधार बनेको छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य तथा पूर्व राज्यमन्त्री कञ्चनचन्द्र बादेले राजनीतिज्ञसमेत रहेका बनेपाका समाजसेवी एवं परिवारका सदस्य ठूलो बुबा स्व.राजदास बादेले सहकारी खोल्न तत्कालिन श्री ३ जुद्ध शमसेरले गरेको विश्वास र ब्यवस्थापनका बारेमा स्मरण गराउनुभयो । बादेले आफू सक्रिय भई मन्त्रिपरिषद्ले समेत पास गरेको प्रतिवेदन कार्यान्वनमा जुट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बिन्धबासिनी सहकारीका अध्यक्ष शान्तकुमार श्रेष्ठले राष्ट्रको गौरव काभ्रेपलाञ्चोक जिल्लाको बनेपा हुँदा पनि चिन्न र प्रयोग गर्न नसकिएको बताउँदै पछिल्ला दस्तावेजहरुले इतिहास सम्झाएको बताउनुभयो । कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले बनेपाको गौरवपूर्ण इतिहासलाई संरक्षण, प्रर्वद्धन र कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउँदै त्यसका लागि कार्यदल गठन गरी थप कार्य गर्ने र आगामी २०८२ भदौ १ गतेलाई सहकारी स्थापना दिवस मनाउन सुरु गर्ने प्रतिबद्धता जनाउनुभयो ।
केशव थापाले सहकारी स्थापनाको इतिहासका दस्तावेजहरु कार्यपत्रका रुपमा प्रस्तुत गर्नुभएको थियो । उहाँको कार्यपत्रमाथि बरिष्ठ साहित्यकार तथा इतिहासकार मोहन दुवाल, सहकारी अभियान्ता दिपकप्रसाद पौडेल, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष मोतीराम तिमल्सिना र सक्षम साकोस बनेपाका अध्यक्ष रमेशकाजी श्रेष्ठले टिप्पणी गर्नुभयो ।
कार्यक्रममा नेफ्सकुनका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकाल, बागमती प्रदेश अध्यक्ष उद्वव सापकोटा, राष्ट्रिय सहकारी महासंघका संचालक सुमन नेपाल, जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटेले इतिहासलाई कार्यान्वन गर्न सर्वपक्षीय सहयोग र समन्वयको खाँचो औंल्याउनुभयो ।
कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, विन्धबासिनी सहकारीका पूर्वअध्यक्ष प्रदिप थापा, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष उदयराम कायश्थ, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोदकुमार न्यौपाने तथा विभिन्न प्रारम्भिक सहकारीका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
