पनौती । मर्यादित सहकारी, समुन्नत समाज भन्ने नाराका साथ पनौती नगरपालिकाले ६८ औं राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रमसहित मनाएको छ ।
आर्थिक विकास समितिका संयोजक एवं वडानम्बर ८ का वडा अध्यक्ष बेदप्रसाद बञ्जाराको सभापतित्वमा भएको कार्यक्रममा नगरप्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नगरप्रमुख भण्डारीले सहकारीले सामाजिक विकासको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताए । केहि सहकारीले बदमासी गर्दैमा सबै सहकारीलाई एकै दृष्टिकोणले हेर्न नमिल्ने उनको भनाइ थियो । बाढी पहिरो लगायतका विपत्तिको समयमा सहकारीले ठूलो सहयोग गरेको उनले बताए ।
वित्तिय अनुशासन पालना नगर्ने सहकारीलाई कानुनी दायरामा ल्याउन स्थानीय सरकारको तर्फबाट कानुन अनुसार भूमिका खेल्ने उनले प्रतिवद्धता जनाएका छन् ।सहकारी दिवसको अवसरमा जिल्लास्तरीय फुटसल प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने सहकारीलाई पुरस्कृत गरिएको छ । मंगलबार सम्पन्न प्रतियोगितामा पनौतीमा मुख्य कार्यालय रहेको ज्योति मिर्मिरे साकोस प्रथम, इन्द्रेश्वर साकोस द्वितीय, रोशी साकोस तृतीय र सामुदायिक साकोसले सान्त्वना स्थान हासिल गरेका थिए ।
सहकारी स्थापना दिवसकै अवसरमा पशुपंक्षी बिमा बापतको रकमसमेत हस्तान्तरण गरिएको छ भने नगरपालिकाभित्रका विभिन्न सहकारीलाई विधागतरुपमा पुरस्कृत गरिएको छ ।
कार्यक्रममा र्यालीमा उत्कृष्ट हुने ३ वटा सहकारीलाई समेत पुरस्कृत गरिएको थियो । जसमा विन्धवासिनी साकोस प्रथम भएको छ भने ज्योति मिर्मिरे दोस्रो भएको छ । पनौती–५ को लक्ष्मी महिला साकोस तेस्रो भएको छ । कार्यक्रममा उपप्रमुख गिता बञ्जारा, प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा, कार्यपालिका सदस्य र वडा अध्यक्षहरु, स्तरीकरणका सञ्चालक समिति सदस्य शान्तकुमार श्रेष्ठ, बागमति प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्वव सापकोटा, जिल्ला सहकारी संघ काभ्रेका सचिव प्रकाश बञ्जारा, म्यानेजर्स क्लवका अध्यक्ष मदन बस्नेत लगायतका सहकारीका व्यवस्थापक, कर्मचारी सहित सहकारी अभियान्ताको उपस्थिती रहेको थियो ।
